मानविकी संकायको बिए दोश्रो वर्षमा अध्ययनरत जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडाकी रोशनी चौधरीले पढाई खर्च जुटाउन म्यादी प्रहरीमा आवेदन दिएकी छिन्। सिद्धार्थ क्याम्पस बुङ्चीमा पढ्ने उनले बिए प्रथम वर्षको परीक्षा दिएर म्यादीमा आवेदन दिएकी हुन्। २१ वर्षकी उनले ३० दिनकै भए पनि काम पाउन पाए केही पढाई खर्च जुट्ने बताइन्। ‘पढाई खर्च जुटाउन म्यादीमा आवेदन दिएकी हु,’ उनले भनिन्, ‘छनौटका लागि तयारी पनि गरेको छु।’
म्यादीमा आवेदन दिँदा आमा बुवाले समेत आफूलाई साथ दिएको उनले सुनाइन्। ‘अहिलेसम्म आमा बुवा कै सहारमा पढाई गर्दै आएकी छु, म्यादीमा छनौट भए उहाँहरुलाई पनि केही राहत मिल्ने थियो,’ उनले भनिन्।
यस्तै बिबिएस प्रथम वर्षमा अध्ययनरत बाणगंगा नगरपालिका १ उप्हटावाकी बिन्दु पोख्रेलले ंपनि अध्ययन खर्च जुटाउन म्यादीमा फारम भरेकी छिन्। बिबिएस पहिलो वर्षको परीक्षा दिएर बसेकी उनले पढाई खर्च र ६ महिनाको ग्यापको व्यवस्थापन गर्न म्यादीमा आवेदन दिएको बताइन्। सिद्धार्थ क्याम्पस बुङचीमा पढ्दै आएकी उनले म्यादीमा आफू छनौट हुनेमा ढुक्क रहेको पनि बताइन्। म्यादीमा फारम भर्दा आफूलाई कुनै संकोच नलागेको र यसमा आफ्नो आमाको समेत साथ रहेको उनले बताइन्।
म्यादीमा फारम भर्न एक महिनाअघिदेखि त्यसको तयारीमा जुटेकी उनले म्यादीमा काम गरेर आउने पैसले आफूलाई अध्ययनमा खर्च गर्ने बताइन्। रोशनी र बिन्दु मात्र होइन म्यादीमा फारम भरेका थुप्रेले पढाई खर्च जुटाउन म्यादीमा आवेदन दिएको पाइएको छ। प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बिए, बिबिएस र ईन्टर पढेकाले समेत म्यादीमा आवेदन दिएको बताए। यसपटक उच्च शिक्षा हासिल गरेकाहरुको पनि म्यादीमा आकर्षण देखिएको उनले बताए। जिल्लाका लागि कुल २ हजार ३८४ सिट निर्धारण गरिएको छ।
४० दिनको जागिरका लागि थामी नसक्नु भीड
४० दिनको जागिरका लागि म्यादी प्रहरीमा जिल्लाका बिभिन्न स्थानमा आएका आवेदकहरुको थामी नसक्नु भीड लाग्ने गरेको छ। आइतबारदेखि आवेदन लिन सुरुवात गरेदेखि नै प्रहरी कार्यालयमा बिहानैदेखि भीड लाग्ने गरेको हो। आवेदकहरुले ५ देखि ७ घन्टासम्म लाइृनमा कुरेर पालो पाउने गरेका छन्। आइतबारदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लामो लाइन लागेको छ। यो लाइनमा अधिकांश युवा थिए। केही अधवैंशे र महिला पनि लाइनमा थिए। प्रहरी कार्यालयको गेटभित्र पस्न उनीहरू ठेलमठेल गरिरहेका थिए।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि सरकारले देशभरबाट म्यादी प्रहरी मागेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २ हजार ३ सय ८४ जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो। सोही सूचनाका आधारमा आइतबार पहिलो दिन ५ सय ८४ र सोमबार हजारौं मान्छेहरू प्रहरी कार्यालय अगाडि लामबद्ध भएका हुन्।
म्यादी प्रहरीका लागि १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकले निवेदन दिन सक्ने प्रहरीले जनाएको छ। चैत ११ गतेसम्म निवेदन दिन सकिनेछ। म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेदेखि सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।
प्रकाशित: ७ चैत्र २०७८ १२:४६ सोमबार