४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा बन्यो माटोले बनेको झ्यालको घर

सामान्यतया घरका झ्यालहरु काठले बनेका हुन्छन्। तर भक्तपुरमा माटोले बनेको झ्यालको घर तयार भएको छ। भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछिमेकको सामूहिक घर) को पुनर्निर्माण सकिएको हो।  

घरको पुनर्निर्माण २०७७ असार ३० गते शिलान्यास गरी काम सुरु गरिएको थियो। आगंछेँ पुनर्निर्माणका लागि २०७७ असार १५ गतेबाट भत्काउने काम सुरु गरेको थियो। आगंछेँलाई पहिलाकै स्वरुपमा बनाएको छ।  

२०७२ सालको महाभूकम्पमा परी क्षतिग्रस्त भएको तीन सय १८ वर्ष पुरानो आगंछेँ पुनःनिर्माण कार्य सकिएको हो। भक्तपुर नगरपालिकाको बजेटमा घरको पुनर्निर्माण गरिएको हो।  

श्री विश्वकर्मा आगंछेँ (तेलिकोटा झ्याल) पुनःनिर्माण उपभोक्ता समितिमार्फत् काम भएको हो। विश्वकर्मा आगंछेँ (द्यो छेँ) पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवालले ८६ लाख ९७ हजार ५ सय ४९ रुपैयाँमा घर तयार भएको जानकारी गराए। भक्तपुर नगरपालिकाबाट आगंछेँको लागि इष्टिमेट लागत ९९ लाख ६८ हजार पाँंच सय २६ रुपैयाँ छुट्याएको थियो। लागत इष्टिमेटभन्दा झण्डै १३ लाख कममा आगंछेँको पुनःनिर्माण सकिएको हो। उपभोक्ता समितिमार्फत् काम भएकोले लागत इष्टिमेटभन्दा कम हुने गरेको जनाइएको छ।  

भविष्यमा यसलाई म्युजियमको रुपमा स्थापना गर्ने योजना रहेको जनाइएको छ। आगंछेँ चार तलाको रहेको छ।

विश्वकर्मा आगंछेँको यो दोश्रोपल्ट पुनःनिर्माण भएको जनाइएको छ। यो भन्दा पहिला २०९० सालको भूकम्पपछि पहिलोपटक जिर्णोद्धार गरिएको जनाइएको छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार यो विश्वकर्मा आगंछेँ भक्तपुरको पाँचतले मन्दिर बनाइसकेपछि बनाइएको इतिहास छ। पाँंचतले मन्दिरको सबै काम यही तुछिमलाका अवालहरुले बनाएको इतिहास रहेको जानकारी उनले दिए। साथै उनले पाँंचतले मन्दिर बनाएको ज्यालाले नै यो आगंछेँ बनाइएको इतिहास रहेको बताए। पाँचतले मन्दिर बनाएको पाँंच वर्षपछि यो आगंछेँ बनाइएको इतिहास रहेको धौभडेलले बताए।

आगंछेँका सांसद प्रेम सुवालले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे। यसअघि यसको शिलान्यास भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए।

प्रकाशित: ५ चैत्र २०७८ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App