२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा सडक सौन्दर्यीकरण अभियान

विराटनगरस्थित महावीर रोडको सडक पेटीमा सडक सौन्दर्यीकरण अभियान अन्तरगत राखिएका सिमेन्टका गमलाहरू। तस्बिरः विनोद/नागरिक

स्थानीयको अग्रसरतामा विराटनगरको गुद्रीस्थित महावीर रोडको सौन्दर्यीकरण अभियान सुरू भएको छ। स्थानीय मुकुन्द बस्नेतको अगुवाईमा सडक सौन्दर्यीकरण अभियान सुरू गरिएको हो।

विराटनगर माहानगरपालिकाले अर्बौको लागतमा सडक पूर्वाधार तयार पारेपनि सडकमा जथाभावि फोहोर फाल्ने, सडक पेटी अतिक्रमण गरी सामान राख्ने  र सडक जतन नगर्ने स्थानीयको व्यवहारले ठूलो लगानीमा बनेका सडक पनि आकर्षक हुन नसकेकाले नागरिक स्तरबाटै सडक सौन्दर्यीकरण अभियान सञ्चालन गर्न लागिएको बस्नेतले बताए।

उनले विराटनगर महानगरपालिका क्षेत्रमा चिल्ला सडक बनेपनि सडकको प्रयाप्त सरसफाई नहुँदा घिनलाग्दो देखिइरहेकाले नागरिक स्तरबाटै सडक सौन्दर्यीकरण अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ। बस्नेतले आफूले थालेको अभियानलाई स्थानीयवासी, महानगरपालिका र स्थानीय व्यापारीहरूले पनि साथ दिंदै आएका छन्।

‘मेरो प्रयालाई सार्थक पार्न सबै पक्षबाट सहयोग पाएको छु’ उनले भने ‘स्थानीय व्यापारी र स्थानीयवासीको सहयोग अझ महत्वपूर्ण छ।’ व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू सचेत बन्दै गए पनि सामान खरिद गर्ने ग्राहाकहरूमा अझै सचेतना नपुगेको उनले बताए। सामान किने पछि वा कुनै वस्तु उपभोग गरेपछिको फोहोरलाई सडक नजिक राखिएका डस्विनमा राख्नुको साटो सडकमै फालिदिने प्रवृत्ति उपभोक्तामा देखिएको उनले बताए।

स्थानीयलाई मात्रै हैन उपभोक्तलाई पनि सरसफाईका विषयमा  सचेत गराउन आवश्यक देखिएको बस्नेतले बताए। नेपालकै नमूना सडक बनाउने अभियानकासाथ थालिउको सडक सौन्दर्यीकरण अभियानका कारण विराटनर स्थित महावीर रोड  सफा देखिन थालेको छ। सडकलाई चिटिक्क पारेर सजाउनका लागि सडकसफाईसँगै सडक किनारमा गमलासमेत राख्न थालिएको छ।

सडक सौन्दर्यीकरण अभियानमा जुटेका बस्नेत आफै सडक बडार्नेदेखि सडकमा फालिएका फोहोर सफा गर्ने काममा दैनिक जसो जुट्ने गरेका छन्। यतिमात्रै हैन स्थानीयवासी, व्यापारीको समेत सहयोग लिएर सडक सौन्दर्यीकरण अभियानमा बस्नेत दिन रात खटिंदै आएका छन्। उनले सडकको पार्किङ व्यवस्थापनका लागि सडकको एक किनारामा मार्किङ गरेर मोटरसाईकल र साईकल राख्ने व्यवस्था गरेका छन्।

अब, सडक किनारमा अटोमेटिक बत्तीलगाउने र सुरक्षाका लागि सीसी क्यामारा पनि जडान गर्ने योजना उनले बनाएका छन्। बस्नेतको अभियानलाई स्थानीयवासीले पनि सहयोग गरिरहेको स्थानीय व्यवसायी रहमानले बताए। उनले पहिले फोहोर मैला र अव्यवस्थित रहेको महावीर रोडलाई सौन्दर्यीकरण अभियान थालेपछि सडक सफा र सुन्दर बनेको बताए।

उनले सडक सौन्दर्यीकरण अभियानलाई आफूहरूको सहयोग रहने स्पष्ट पारे। विराटनर रानी स्थायी घरभइ महावीर रोडमा व्यवसाय सञ्चालन गर्दै आएका रहमानले विराटनगरमा सडक बनेपनि सडकमा जथाभावी फोहोर गर्ने प्रचलनले सडक बनेर पनि महानगर सफा देखिइरहेको छैन।

आफ्नो पसल, अफिस र घर अगाडिको सडकसँधै सफा राख्ने वानीको विकास भए युरोप अमेरिका जस्तै नेपालका ठूला सहरलाई पनि सफा र सुन्दर राख्न सकिने रहमानको भनाइ छ। उनले भने ‘हाम्रा घर अगाडिका सडकलाई सफा राख्ने वानीको विकास गर्न सके युरोप, अमेरिकाका जस्तै हाम्रा सहर पनि सुन्दर देखिन थाल्नेछन्।’

स्थानीय व्यापारी मोहनकुमार यादवले सडक सौन्दर्यीकरण अभियानमा आफूहरूले सहयोग गर्दै आएको बताए। उनले अभियानका लागि आर्थिक सहयोग आवश्यक परेको अवस्थामा पनि सहयोग गर्न तत्पररहेको स्पष्ट पारे। सडक सौन्दर्यीकरण अभियान सुरू भएपछि आफूहरूले पनि सहयोग गरेको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए।

उनले सडकमा पार्किङका लागि मार्किङ गर्ने, गमला राख्ने, फुटपाथबाट सामानहरू हटाउने लगायतका कामहरूमा नगरप्रहरीले स्थानीयलाई सहयोग गरिरहेको जानकारी दिए। स्थानीयले नै सडक सौन्दर्यीकरणका काममा अग्रसरता देखाए महानगरपालिकाका सडकलाई सफा र सुन्दर राख्न सहज हुने पौडेल बताउँछन्।

उनले भने ‘महानगरको मात्रै प्रयासले केही हुँदैन स्थानीयले अग्रसरता देखाए विराटनगर महानगरपालिकालाई नमूना शहरका रुपमा विकास गर्न सम्भव छ।’ विराटनगर महानगरपालिकाकी वातावरण इन्जिनियर सुदिक्षा कार्कीले सडक सौन्दर्यीकरण अभियानमा महानगरपालिकाको सहयोग रहने बताइन्। उनले विराटनगरका सबै सडकलाई सुन्दर बनाउने महानगरपालिकाको योजना रहे पनि महानगरपालिका एक्लैको प्रयास प्रयाप्त नरहेकाले सडक सोन्दर्यीकरण अभियानमा स्थानीयले अग्रसरता देखाउन जरुरी रहेको कार्कीको भनाइ छ।

उनले भनिन् ‘सडक सौन्दर्यीकरणको काममा स्थानीयले जिम्मेवारी लिए महानगरपालिकाले परिकल्पना गरेजस्तो विराटनगर निर्माण गर्न गाह्रो हुनेछैन।’ उनले स्थानीयले अग्रसरता देखाए सडक सौन्दर्यीकरण अभियानलाई नगरभरी नै विस्तार गरी नगरका सबै सडक सुन्दर बनाउन धेरै समय नलाग्ने स्पष्ट पारिन्। महावीर रोड मात्रै हैन स्थानीय संघसंस्था र नगरवासीको अगुवाईमा विराटनगरका विभिन्न सडकमा पनि सडक सोन्दर्यीकरण अभियान सञ्चालन भइरहेका छन्।

विराटनगरको कलेज रोडको किनारमा रेलिङ लगाउने, गमला राख्ने, फूलका विरुवा रोप्ने अभियान सञ्चालन गरिएपछि सडक सुन्दर देखिएको छ। यस्तै विराटनगरको मेन रोडमा विराटनगर महानगरपालिकाले नै हरियाली प्रवद्र्धनका लागि फूलका विरुवा, धुपीलगायतका विभिन्न खालका विरुवाहरू रोप्ने, सडकलाई नियमित सरसफाई गर्ने, आकर्षक सडक वत्ती जडान गर्नेलगायतका काम गरेको छ।

यस्तै विभिन्न चोकका चौडा सडकको बिच भागमा साना र आकर्षक पार्क निर्माण गरेर पनि सडकलाई सुन्दर बनाउने महानगरले प्रयास थालेको छ। तर, यसरी बनाइएका संरचनाको संरक्षणमा स्थानीयले सहयोग गर्दा मात्रै बनाइएका संरचना र चलाइएका अभियानले सार्थकता पाउने देखिएको छ।

प्रकाशित: ५ चैत्र २०७८ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App