२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बेनीका पाँच वडामा मकै ब्लक

म्याग्दीको बेनी नगरपालिकाको पाँच वटा वडामा मकैको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बेनी नगरपालिका १ रत्नेचौर, ४ नम्बर वडा सिंगा, ५ नम्बर वडा पुलाचौर र ९ नम्बर वडा घतानमा मकै ब्लक कार्यक्रम शुरु गरिएको हो।  नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र वजारीकरणमा सघाउने उद्देश्यले सो कार्यक्रम सुरु भएको बताए।

'नगर कार्यपालिकाको निर्णय अनुसार कृषकहरुको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ,' उनले भने, 'नयाँ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. २५ लाख ५० हजार बजेट बिनियोजन भएको छ।'

कार्यक्रम मार्फत कृषकहरुलाई निःशूल्क तालिम र प्राविधिक सहयोगका साथै सिचाईमा ८५ र  कृषि औजार, बिउ र बिषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने कृषि अधिकृत ढुङ्गानाले बताए। यसैगरी बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ कृषकलाई माछाका १६ हजार भुरा वितरण गरेको छ। कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका भुरा वितरण गरिएको शाखाका प्राविधिक प्रदिप गौतमले जानकारी दिए।

'कृषकहरुबाट माग र निवेदन सङ्कलन गरेर बिनियोजन भएको बजेटको सीमा भित्र रहेर भुरा खरिद गरी वितरण गरिएको हो,' उनले भने, 'कृषकहरुलाई माछापालन प्रति आकर्षित गराउने, माछा उत्पादन बढाउने, आयआर्जन बढाउन सघाउने र आयात घटाउने लक्ष्य छ।' रासस

प्रकाशित: ५ चैत्र २०७८ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App