२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हप्तादिनभित्र पौडी खेल्दा ६ जनाले ज्यान गुमाए

कर्णाली प्रदेशमा शनिबारयता ६ जना बालबालिकाले नदीमा पौडिने क्रममा ज्यान गुमाएका छन्।

गत शनिबार सुर्खेतको रामघाटस्थित भेरी नदीमा ३ र दैलेखको रार्कम कर्णालीस्थित कर्णाली नदीमा १ जना गरी ४ जना बालबालिकाहरुले पौडी खेल्ने क्रममा ज्यान गुमाएका हुन्। तिला नदीमा फेरी बिहिबार २ जना १७ वर्षका किशोरहरुले पौडी खेल्ने क्रममा वेपत्ता भएसंगै ६ जना पुगेका छन्। 

वेपत्ता हुनेहरुमा महावै गाउँपालिका –५ संग्रौलाका १७ वर्षका क्रमश अपिल भट्टराई र दीपेन्द्र भट्टराई रहेको कालिकोटका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए। पौडी खेल्ने क्रममा वेपत्ता दुई किशोरहरुको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले शुक्रबार साँझसम्म खोजीकार्य गर्दा समेत भेटाउन नसकिएको डिएसपी न्यौपानेले बताए।

सुर्खेतको भेरी नदिमा वेपत्ता भएकाहरु तिनै जनाको शव निकालेर दाहसंस्कार भइसकेको छ भने दैलेखमा वेपत्ता भएका किशोरको अँझै शव भेटिएको छैन्। सुर्खेतमा पौडी खेल्ने क्रममा डुवेर ज्यान गुमाउनेहरु भेरीगगा नगरपालिका–११ रामघाटका १० वर्षीय गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन्।

त्यस्तै दैलेखको आठबीस नगरपालिकास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका भारत पश्चिम बङ्गाल घर भएका १८ वर्षका रविन्द्र मण्डल रहेका छन्। नेपाल प्रहरीसंगै माथिल्लो कर्णाली जलविद्यूत आयोजनामा रहेका शसस्त्र प्रहरी टोलीमा तालिम प्राप्त प्रहरीहरुले आइतबारदेखि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गर्मी सिजन सुरु हुन लाग्दा पौडी खेल्दा ठूला नदीहरुमा बालबालिकाहरुमा बढी जोखिम हुने दैलेखका निमित्त प्रहरी प्रमुख ईन्द्रजित सुनारले बताए। नदी आसपासका वस्तीहरुमा जथाभावी नदिमा नपस्नका लागि सचेतनाका कार्यक्रमहरु स्थानीय सरकारले गर्नुपर्ने रार्कमकर्णालीका स्थानीय अगुवा नैनबहादुर शाहीले बताए।

प्रकाशित: ४ चैत्र २०७८ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App