१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाको दुर्गम क्षेत्रमा स्थायी प्रहरी चौकी स्थापना, स्थानीय उत्साहित

जुम्लाको सिँजा गाउँपालिका ५ फाईचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ। यो क्षेत्र तत्कालीन शनिगाउँ गाविस भित्र पर्छ। भौगोलिक रुपमा निकै निकट मानिएको यो क्षेत्रका स्थानीयले असुरक्षाको अनुभूति गर्दै प्रहरी चौकीको माग गरेका थिए।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले प्रहरी चौकीको उद्घाटन गरिन्। उनले अब सुरक्षाको अनुभूति गर्नेमा विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘भौगोलिक विकटताका कारण यहाँका जनताले असुरक्षाको महसुस गरिरहेका थिए। गाउँघरमा हुने सबै प्रकारका घटना बाहिर आउन सक्दैनथ्ये। अब प्रहरी चौकी स्थापना भइसकेकोले सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय र प्रहरीको प्रभावकारी साझेदारी हुनेछ।’

प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रहरीलाई सहयोग गर्न आग्रह गरिन्। जहाँ सुरक्षा व्यवस्था राम्रो हुन्छ। त्यहाँ जनताले सुरक्षाको अनुभूति गर्छन्। ‘गाउँघरमा शान्ति स्थापना गर्न जनताको पनि महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भनिन्, ‘प्रहरी र जनता मिलेर शान्तिपूर्ण वातावरण बनाउनु होला। अब तपाईहरुको सुखदुःखको साथी प्रहरी हुनेछ।’

समाजमा घट्न सक्ने घटनाको समाधान अब प्रहरी चौकीमै हुने भएकोले जनताले शान्ति सुरक्षाको अनुभूति राम्रोसँग गर्न पाउने बताइन्। जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नरेन्द्र चन्दले समाजका विकृति विसंगतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘शान्ति सुरक्षा आफ्नै लागि हो भनेर जनताले साथ दिनुहोला। हरेक सूचनाको आदानप्रदान गर्नुहोला। जब गाउँघरमा शान्ति हुँदैन। तब शान्तिको अनुभूति गर्न सकिँदैन। समाजमा शान्ति कायम गर्नु जनता र प्रहरीको प्रभावकारी समन्वयको आवश्यक हुने गर्छ।’

हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच जना प्रहरी फोर्स चौकीमा राखिएको छ। ‘भौगोलिक रुपमा निकै विकट भएकोले सिँजा गाउँपालिकाको ५ र ६ मा घरेलु हिंसा, दुर्व्यवहार, कुटपिट, बहुविवाह र चोरीका घटना अधिकतम रुपमा हुने गरेका छ,’ वडाध्यक्ष मुनबहादुर रावतले भने, ‘पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो। अहिले आएर चौकी स्थापना भयो। हामी निकै सन्तुष्ट छौँ।’

सिँजा ५ र ६ वडामा पाँच गाउँ छन्। यो चौकीले पाँच गाउँ भित्र हुने असुरक्षाको अवस्था हेर्नेछ। वडाध्यक्ष रावतका अनुुसार कुनै घटना हुँदा पहिले ३ घण्टा हिँडेर नराकोट प्रहरी चौकीमा जानुपर्ने बाध्यता थियो। प्रहरी चौकी स्थापनाले स्थानीय उत्साहित छन्। गाउँको शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीय बताउँछन्।  

यहाँ चोरी, झैझगडा, महिला हिंसा, जाँडरक्सी सेवन गरेर श्रीमतीलाई कुटपिटदेखि समाजमा विभिन्न प्रकारका विकृति फैलाउने कार्य भइरहेका छन्। वडा नं.६ का अध्यक्ष कालीबहादुर बुढाले भने, ‘अब प्रहरीले सचेतना फैलाउनेछ। गलत गर्नेलाई कार्बाहीको दायरामा ल्याएर शान्ति सुरक्षा मजबुद बनाउनेछ। यही अपेक्षा राखेका छौँ।’

प्रहरी चौकी स्थापना गर्न गाउँ पुगेको प्रमुख जिल्ला अधिकारी प्रसाईसहितको टोलीलाई स्थानीयले फूलमाला र अबिर लगाएर भव्य रुपमा स्वागत गरेका थिए। उनीहरुले लामो समयदेखि राखेको माग पूरा हुँदा खुुसी लागेको भन्दै जनताको शान्ति सुरक्षाको लागि सरकार गम्भीर देखिएको भन्दै उत्साह प्रकट गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७८ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App