मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सम्पन्न हुनेछ।
मिथिला विहारीको डोलाको नेतृत्वमा १५ दिने धार्मिक यस यात्रालाई महाकुम्भ पनि भनिन्छ। यो मिथिलाञ्चलको सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो। मध्यमा परिक्रमामा सहभागीहरू नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमीटरको पैदल यात्रा गर्छन्। प्राचिन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरिएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर महादेवलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ।
कचुरीबाट सुरु भएको यो यात्रा जनकपुर, कलानेश्वर, फुलहर, मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कलना हुँदै पुनः जनकपुरधाम फर्केको हो। मिथिलाञ्चलमा अन्तःगृह परिक्रमाको भोलिपल्ट फागु पर्व मनाउने परम्परा छ। मिथिलाञ्चल क्षेत्रमा अवस्थित मधेस प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ मनाइँदैछ।
मधेसभित्र रहेका पहाडी समुदायले बिहीबार अर्थात पूर्णिमाका दिन ‘होली’ मनाउँदैछन्। मधेसी समुदायले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तःगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा पछ्याउँदै यहाँका मधेसी शनिबार समेत होली मनाउनेछन्। जनकपुरधाममा शनिबार होली खेलिनेछ।
यस्तै मिथिला नाट्यकला परिषद्ले डेढ दशकदेखि आयोजन गर्दै आएको ‘होरी महोत्सव’ बिहीबार अपराह्नदेखि जानकी मन्दिर प्रांगणमा सुरु भएको छ। दुई दिवसीय महोत्सवको पहिलो दिन डम्फा प्रतियोगिता तथा हास्य कवि सम्मेलन एवं दोस्रो दिन शुक्रबार महामूर्ख सम्मेलन आयोजन हुनेछ। जसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने एक दर्जन विशिष्ट व्यक्तिहरूलाई मूर्खको तथा एकजनालाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा छ।
मिनापले मिथिलाको प्रसिद्ध होरी गीत (फागु गीत) गायन परम्परालाई संरक्षण गर्न तथा फागुको अवसरमा सामाजिक सद्भाव बढाउन महोत्सवको आयोजना गर्दै आएको जनाएको छ। मिथिला माध्यमा परिक्रमा नेपाल–भारतको सांस्कृतिक सेतुका रूपमा व्याख्या गरिन्छ। नेपाल–भारतबीच रोटीबेटीको सम्बन्धबारे भारतीय नेताहरू बताउँछन्। तर, किशोरीजीको माइती जनकपुरधामको सांस्कृतिक विकासका लागि भारतीय संस्थापन पक्षको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन। परिक्रमा क्षेत्र विकासका मुद्दालाई भने सबै पक्षले गम्भीर रूपमा उठान गर्नुपर्ने यहाँका सांस्कृतिप्रेमीहरूको एकस्वर छ।
नेपालको धनुषा, महोत्तरी र भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानहरू समेट्ने ‘मिथिला परिक्रमा’ एउटा महत्त्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा स्थापित भए पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन। पक्की बाटो, खानेपानी, चर्पी अभाव, उचित व्यवस्थापन तथा सांस्कृतिक सम्पदा संरक्षण र सांस्कृतिक निधिको प्रचारप्रसार अभाव परिक्रमा क्षेत्रको विकासका चुनौती छन्। यद्यपि सरकारका तर्फबाट परिक्रमा सडक निर्माण कार्य थालनी भएको छ तर कार्यमा गुणस्तरीयता भने देखिँदैन।
मिथिला परिक्रमाका सहभागीमाझ सबैभन्दा बढी गुन्जिने नारा हो, ‘मोटापर मोटरी जय सियाराम, जयजय हो किशोरीजी किशोरीजी अर्थात् मिथिलाकी छोरी सीता (जानकी)। राजर्षि जनककी राजकुमारी भएर जनकपुरधाम दरबारमा हुर्केकी सीता जनकपुरधाम र समग्र मिथिलावासीकै छोरी हुन्। मिथिलाका लोकगीतमा छोरीलाई सीतासँग तुलना गरिन्छ।
मिथिला परिक्रमामा सहभागी हुन मिथिलावासीका साथै नेपालका अरू जिल्ला र भारतका विभिन्न प्रान्तबाट पनि भक्तजन आउँछन्। यो उत्सवलाई मिथिलावासीहरू खेतीपाती र धानबाली भित्र्याएर फुर्सद भएपछिको समयलाई धर्मकर्म तथा भ्रमण गर्ने मौकाका रूपमा पनि लिन्छन्। समयको परिवर्तनसँगै यो प्राचीन राज्यको राजनीतिक शक्ति खण्डित भए पनि सांस्कृतिक शक्ति अझै बलियो छ।
प्रकाशित: ४ चैत्र २०७८ ०१:०६ शुक्रबार