२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लीको बर्डफ्लु नियन्त्रणमा

दुई साताअघि उदयपुरको ताप्ली गाउँपालिकामा फैलिएको कुखुराजन्य रोग बर्डफ्लु नियन्त्रणमा आएको छ। १५ दिनअघि ताप्ली ३ इनामेका बिभिन्न गाउँबस्तीसहित सिंगो वडामा फैलिएको बर्डफ्लु पशु चिकित्सकको प्रयासपछि नियन्त्रणमा आएको हो।  

गाउँमा एक्कासी बर्डफ्लु फैलिएको खवर आएपछि सदरमुकामस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गाईघाटबाट चिकित्सक र प्राविधिक टोली अध्ययन र उपचारका लागि स्थलगत पुगेको थियो। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजयकुमार साह नेतृत्वमा गएको ४ जना पशु चिकित्सकसहित जिल्ला प्रशासनका प्रतिनिधि सम्मिलित दर्जन संख्याको टोलीले ४ दिनसम्म उपचारपछि रोग नियन्त्रण भएको गाउँपालिकाले जनाएको छ।  

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले गाउँपालिकाको ३ नं वडामा बर्डफ्लु फैलिएपछि अन्यत्र रोग संक्रमण हुन नदिन तत्काल चिकित्सक झिकाएर उपचार गरी नियन्त्रण गरिएको बताए। उनका अनुसार प्रदेश पशुपंक्षी मन्त्रालय र पशु विज्ञ केन्द्र गाईघाटका प्रमुख डा.अजयकुमार साहसहितको चिकित्सक टोली बोलाएर उपचार गर्नुका साथै संक्रमित कुखुरा नष्ट गरेर रोग नियन्त्रणमा लिइएको हो।  

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले पशु विज्ञ केन्द्र प्रमुख डा. साहसहित प्रदेश मन्त्रालयबाट आधादर्जन चिकित्सक टोली आएर रोग संक्रमित गाउँबस्तीका घरघर पुगेर उपचार गरेको बताए। बर्डफ्लु फैलिन नदिन तत्काल नियन्त्रण गर्नुपर्ने भएकाले ५ जना डा. र प्राविधिकले संक्रमित सबै बस्तीलाई घेरा लगाएर उपचार गर्नुका साथै संक्रमित कुखुरा नष्ट गरेको लामाले बताए। अन्यत्र रोग फैलिन नदिन सतर्कता अपनाउँदै संक्रमित क्षेत्रका कुखुरा नष्ट गरेपछि रोग नियन्त्रण भएको अधिकृत लामाको भनाई छ।

घट्नास्थलबाट फर्केका पशु विज्ञ केन्द्र प्रमुख डा. साहले इनामेका ४/५ गाउँमा एकैचोटी बर्डफ्लु फैलिएको खवर आएपछि टोली पुगेर नियन्त्रण गरेको बताए। उनले घरलौरी पालिएका लोकल (स्थानीय) कुखुरा र व्यवसायिक रुपमा पालिएका ब्रोईलरमा बर्डफ्लु फैलिएको पुष्टि भएको बताए। डा. साहका अनुसार रोग नियन्त्रण गर्ने उदेश्यले स्थानीय किसानले पालेका सबै कुखुरा नष्ट गरिएको छ। जसमा वडाध्यक्ष शारदाकुमार लुंगेली मगर, सदस्यहरु र सर्वसाधारण किसानको कुखुरा नष्ट गरिएको छ।  

वडाध्यक्ष मगरले बर्डफ्लुका कारण वडाका १ हजार ४ सय ६२ वटा कुखुरा नष्ट गर्नु परेको बताए। उनका अनुसार नष्ट भएका कुखुराको सरदर मूल्य २४ लाख रहेको अनुमान प्राविधिक मूल्यांकनबाट खुलेको छ। बर्डफ्लुका कारण स्थानीय किसानलाई ठूलो मार्का परेको भन्दै राहत माग्न वडाले सिफारिस गरेको वडाध्यक्ष मगरले बताए। क्षतिपूर्तिका लागि गाउँपालिकामार्फत प्रदेश र संघमा सिफारिस गरी राहत माग गर्ने निर्णय गाउँपालिकाले गरेको उनले बताए।  

पहाडी गाउँपालिका र चिसो ठाउँ ताप्लीमा कसरी बर्डफ्लुको किटानुले प्रवेश पायो भन्ने विषय भने यकिन भईसकेको छैन। उच्च पहाडी भेगका गाउँले भरिएको ताप्लीमा कटारी या वाईघाटबाट लगिएका कुखुराका चल्लामार्फत रोग संक्रमण भएको अनुमान गरिए पनि यसको पुष्टि भने हुन नसकेको डा. साहले बताए। कतिपय किसानले दाना र चल्ला सदरमुकामदेखि लाने गरेको तथा कतिपयले कटारीदेखि लाने गरेको गाउँपालिकाले जनाएको छ।  

पश्चिमी भेगको पहाडी गाउँपालिका भएकाले ताप्ली छिर्ने अधिकतर सामग्री र उपभोग्य बस्तु कटारी बजारबाट जाने गरेको छ। कटारीको दक्षिणी सिमाना सिराहा जोडिएकाले मिर्चया, कटारी हुँदै रोगको जिवाणु ताप्ली पुगेको अनुमान पनि स्थानीयले गरेका छन्।

भारतीय सीमावर्ती बजारसँग जोडिएको सिराहा र सिराहासँग कटारी जोडिएकाले बर्डफ्लु गाउँ भित्रनुमा मिर्चया कटारी नाकालाई नै बढी आशंका गर्ने ठाउँ रहेको प्रमुख प्रशासकीय अधिकृत लामाले बताए।

प्रकाशित: २८ फाल्गुन २०७८ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App