सुर्खेत र दैलेखमा नुहाउने क्रममा ४ जना बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी नदीमा ३ जना बालबालिका र दैलेखको आठविस नगरपालिकास्थित कर्णाली १ जना नुहाउने क्रममा बेपत्ता भएका हुन्।
शनिबार साँझ पौने ५ बजेतिर भेरीगगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका छन्। बेपत्ता हुने बालबालिकाहरुमा भेरीगगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए।
लेकबेंसी र रामघाटबाट खटिएका प्रहरी र स्थानीयहरुले भेरी नदी दुई तिरबाट हराईरहेका बालबालिकाहरुको खोजी कार्य गरिरहेका छन्। उनीहरुसंगै रहेका रोजिता थापा र लक्ष्मी पज्भैयाले नदीमा बगेको देखेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए।
त्यस्तै दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्। रार्कम कर्णालीमा निर्माधिक पक्कि पुलमा काम गर्ने भारत पश्चिम बङ्गाल घर भएका १८ को रविन्द्र मण्डल शनिबार दिउँसो कर्णाली नदीमा नुहाउने क्रममा हराएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रजित सुनारले बताए। पश्चिम बङ्गालबाट रार्कममा काम गर्न १२ जना कामदार आएका छन्। उनको खोजी कार्य भईरहेको दैलेख प्रहरीले जनाएको छ। गर्मी मौसम सुरु हुन थालेसंगै ठूला खोलामा नुहाउने जाने गर्द छन्।
स्थानीय सरकारले नुहाउनेहरुलाई सचेत गराउनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ।
प्रकाशित: २८ फाल्गुन २०७८ १३:०२ शनिबार