पूर्वी रूकुमको सिस्ने गाउँपालिका २ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ।
जंगलको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रुकुम प्रहरीले बताएको छ। नरसिह दल गुल्मबाट खटिगएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको रुकुम प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले बताए। उनले भने, ‘ड्रम नै डिस्पोज गरिएको हो। करिब ६/७ वटा बम थिए होला।’
उनका अनुसार ति बम द्वन्द्वकालीन अवस्थामा लुकाइएका हुन सक्छन्।
रुकुम प्रहरीका अनुसार बमहरू बोरामा राखेर ड्रममा राखिएको र केही बम बाहिरै ओढारमा फेला परेका हुन्। बिहीबार बेलुका करिब ५ बजे जंगलमा बस्तु चराउन गएका स्थानीयले उक्त ओढारमा लुकाइछिपाइ राखेको बम फेला पारेर वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए।
वडाध्यक्ष केसीले लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रकाशित: २७ फाल्गुन २०७८ १०:३३ शुक्रबार