मोरङको छुट्टा–छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु ६ जना घाइते भएका छन्। कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ आयल निगम अगाडि पिकअप भ्यानले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ।
दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको मालवाहक पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेका ७६ वर्षीय इश्वरीप्रसाद पोखरेललाई ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका वृद्ध पोखरेलको कञ्चनबारीस्थित आर्या अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए।
मृतक पोखरेल र उनकी श्रीमती मर्निङवाक गर्दै जाने क्रममा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि प्रहरीले भ्यान नियन्त्रणमा राखे पनि चालक फरार भएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै लेटाङ नगरपालिका–६ गवाबारीमा सोमबार राति पिकअप गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गवाबारीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १३२ नम्बरको पिकअप आफैं अनियन्त्रित हुँदा पौने ९ बजेतिर दुर्घटनामा परेको प्रहरी निरीक्षक खड्काले बताए। दुर्घटनामा परेर घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर र ४ जनाको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा लेटाङ–१ की १८ वर्षीया भूमिका मगर, ३३ वर्षीय पूर्ण मगर, २८ वर्षीय भविश्वर मगर, १७ वर्षीया रमा मगर, १८ वर्षीया टिमन मगर र २० वर्षीया पार्वती मगर घाइते भएका छन्। घाइतेमध्ये भूमिका र पूर्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। सामान्य घाइतेको लेटाङस्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। पिकअप र चालक लेटाङ–३ का २८ वर्षीय दीपेश थारुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०७८ ०५:५५ मंगलबार