पूर्वी पहाडी जिल्ला खोटाङमा अप्राकृतिक मृत्यु रोज्नेको अवस्था भयावह देखिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरण अनुसार ७६ जना नागरिकले आत्महत्या जस्तो अप्राकृतिक मृत्यु रोजेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ७२ जना झुण्डिएर ज्यान फालेका छन् भने ४ जना विष सेवन गरेर बिदा भएका छन्।
अप्राकृतिक मृत्यु रोज्नेहरूमा बालबालिकादेखि वयस्क तथा वृद्ध सबै उमेरका महिला, पुरुष र बालबालिका रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश खड्काले बताए।
उनका अनुसार गत वर्ष जिल्ला प्रहरीमा विभिन्न घट्नासँग सम्बन्धित २ सय ६ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये ८४ वटा फर्स्यौट भएको र बाँकी विचाराधीन रहेको खड्काले बताएका छन्।
प्रहरी कार्यालयमै आयोजित अघिल्लो आर्थिक वर्षको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा ०८२ साउनदेखि ०८३ असारसम्ममा प्रहरीबाट भएका शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फर्स्यौटबारे जानकारी दिइएको हो।
दर्ता भई फर्स्यौट भएका मुद्रामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसुर छन्।
त्यस्तै, जबरजस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाह, लागू औषध, गर्भ संरक्षणविरुद्ध अपराध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैङ्किङ कसुर, पशुपन्छीसम्बन्धी कसुर,जुवा तथा मानव बेचबिखनलगायत ८४ वटा मुद्दा फर्स्यौट भएको खड्काले बताए।
२०८२/०८३ मा खोटाङमा अप्राकृतिक मृत्यु रोज्नेहरूको सङ्ख्या अत्यासलाग्दो विवरण प्रहरीले दिएको छ। जिल्लाका विभिन्न स्थानका ७२ जनाले आत्महत्याको बाटो रोजेका छन् भने महिला तथा बालबालिकाविरुद्धका मुद्दा पनि बर्सेनि बढ्दै गएको देखिएको छ।
सार्वजनिक विवरण अनुसार २०८२/०८३ मा हराएका बालबालिका, महिला र पुरुष गरी २६ जना हराएकोमा सबै भेटिएको छ। त्यसैगरि २०८१/०८२ मा ४७ र २०८०/०८१मा ३७ जना हराएका सबै फेला परेको प्रहरी भनाई छ। गएको ३ आर्थिकवर्षभित्र हराएका ३१ महिला, १२ पुरुष र २२ बालबालिका गरी ६५ जना हराएका सबै भेटिएका हुन्।
खोटाङमा गत आर्थिक वर्ष ८६ वटा सवारी दुर्घटनामा परि ७ जनाको जीवन गएको छ भने ९९ जना घाइते भएका छन्। पटक पटक दुर्घटना गराएको आरोपमा एक जना सवारी चालकको सवारी अनुमति पत्र निलम्बन सिफारिस गरिएको जनाएको छ।
प्रहरीले गत वर्ष ६ सय ७८ वटा उजुरी कार्यालयमा प्राप्त भएको थियो भने आकस्मिक सहायताका लागि २ हजार ४ सय ४०कल फोन आएको जनाएको छ। समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७ सय ४० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको प्रहरी भनाई छ।
जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर निराजन बस्नेका अनुसार सो वर्ष विभिन्न कार्यालयसँगको साझेदारीमा गरेको गतिविधिमा वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन र ओसारपसार नियन्त्रणका कार्यहरू पनि भएका छन्।
जिल्ला प्रशासन, डिभिजन वन र अन्य कार्यालयसँगको समन्वय र सहकार्यमा गतिविधि गर्दा सो १ लाख ५५ हजार ३ सय रुपैयाँ राजस्व सङ्कलन भएको बस्नेतले बताए।
प्रहरीका अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/०८२को दाँजोमा सङ्ख्या र फर्स्यौट दुवै हिसाबले थोरै हो। आर्थिक वर्ष २०८१/०८२ मा १ सय २० वटा मुद्दा दर्ता भएकोमा ९९ वटा फर्स्यौट भएका थिए।
त्यसैगरी आर्थिक वर्ष ०८०/८१ म दर्ता भएका २ सय १५ मुद्दा सबै फर्स्यौट भएको प्रहरी निरीक्षक बस्नेतले बताएका छन्।
प्रकाशित: २९ श्रावण २०८३ १६:२८ शुक्रबार



-600x400.jpg)

