१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जाँते माविको पक्की भवन निर्माण सुरु

निर्माण सुरु भएको जाँते मावि भवनको अनुगमन गर्दै अध्यक्ष र प्रअ। तस्बिर/महेश्वर

उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेस्थित जनता माध्यामिक विद्यालय रसुवा जाँतेको ८ कोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ। साविक जाँते गाविस १ टोडेकेस्थित पुरानो विद्यालयलाई भौतिक संरचनायुक्त बनाउन नयाँ भवन सुरु भएको हो।

संघीय सरकारको १ करोड ४८ लाख रुपैँया लागत इस्टीमेटको भवन टेण्डरमार्फत् निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा गराउँदा १० प्रतिशत बिलो (कम मूल्य)मा ठेक्का लागेको गाउँपालिकाले जनाएको छ। जस अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ करोड ३६ लाखमा भवन निर्माणको जिम्मा एसआर कन्स्ट्रक्नस मुर्कुचीले पाएको छ।

तर, एसआरले भवन निर्माण गर्न प्रतित कम्पनीलाई सहायक जिम्मेवारी दिएर काम सुरु भएको बताइएको छ। १८ वटा पिल्लर रहने भवनका भुईतलामा ४ र पहिलो तल्लामा ४ गरी ८ वटा फराकिला कोठा बन्ने प्राविधिक इस्टीमेट रहेको विद्यालयका प्रधानाध्यापक (प्रअ) कालीप्रसाद चौधरीले बताए।

प्रअ चौधरीका अनुसार एक महिनाअघिदेखि निर्माण सुरु भएको भवनको जगको टाईबिम सकेर डिपिसीको तयारी भईरहेको छ। आउँदो २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि म्यादभन्दा अगावै भवन बनाईसक्ने योजनाका साथ द्रुतगतिमा काम गरिरहेर्को निर्माण कम्पनी प्रतिनिधिले जनाएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राईका अनुसार २०१७ सालमा स्थापित विद्यालय भौतिक संरचना अभावमा पठनपाठन गर्न समस्या भईरहेको छ। केही वर्षअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयको १८ लाख बजेट सहयोगमा निर्मित एक मात्र ४ कोठे पकी भवनमा कार्यालय र विज्ञान प्रयोगशाला तथा पुस्तकालय राखिएको अध्यक्ष राईले बताए।

त्यसबाहेक जाल्पा एकीकृत विकास समाजले ५ वर्षअघि वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा बनाइदिएको २ कोठे ट्रस प्रविधिको भवनमा बाल विकास केन्द्र सञ्चालन गरिएको छ। बाँकी विद्यार्थीको पठनपाठनका लागि ३ वटा कच्ची ब्लक रहेका छन् तर, ती सबै भूकम्पले जिर्ण बनाएको छ। पठनपाठन सहज बनाउन पनि नयाँ भवन छिटै बन्नुपर्ने अध्यक्ष राईले बताए।

शिक्षक कुम्भराज राईका अनुसार भवन अभावमा विद्यालयले वर्षौंदेखि पठनपाठनमा समस्या भोग्दै आउने परेको छ। कक्षा शिशुदेखि १२ सम्म पठनपाठन भईरहेको विद्यालयमा हाल २ सय ९० विद्यार्थी रहेको राईले बताए। वषौंअघि बनेका कच्ची ब्लकहरु सबै भत्कने अवस्थामा पुगेकाले विद्यालयलाई अझै यस्तै खालका थप २ वटा भवन आवश्यक रहेको शिक्षक राईले बताए।

प्रकाशित: २२ फाल्गुन २०७८ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App