१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भाेटेकाेशी बाढी: भत्किए ७५७० घर

भोटेकोसी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा सात हजार ५७० सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा १० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत अध्ययन गरी विवरण संकलन गर्न राष्ट्रिय आयोजना आयोगका सहसचिव अर्जुन भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरिएको थियो। उक्त समितिले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उक्त विवरण प्रस्तुत गरेको हो।

विवरणअनुसार सबैभन्दा बढी रसुवामा एक हजार ७७९ घर भत्किएका छन्। त्यहाँ बाढीको असर परेका चार गाउँपालिकामध्ये गोसाइँकुण्डमा एक हजार ४३, उत्तरगयामा ५६७, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ घर भत्किएका छन्। नुवाकोटमा तीन हजार ९७७ घर भत्किएका छन्। त्यहाँ बाढीको प्रभाव परेका दुई नगरपालिकामध्ये बेलकोटगढीमा २१२ र विदुरमा ३०३६ तथा दुई गाउँपालिकामध्ये किस्पाङमा ६९६ र तारकेश्वरमा ४३ वटा घर भत्किएका छन्।

धादिङमा भत्किएका घरको संख्या एक हजार ४५१ रहेको छ। त्यहाँका बाढीप्रभावित चार गाउँपालिकामध्ये बेनीघाट रोराङमा एक हजार ३७, गजुरीमा १०७, गल्छीमा ७९ र सिद्धलेकमा २२८ वटा घर भत्किएका छन्। गोरखामा बाढीले असर पारेका दुई गाउँपालिकामध्ये गण्डकीमा २४८ र सहिद लखनमा १५ गरी २६३ घर भत्किएका छन्। चितवनको  इच्छाकामना गाउँपालिकामा १०० वटा घर भत्किएका छन्।

पूर्वाधार विकास मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा १० अर्ब रुपैयाँ खर्च लाग्छ। त्यसमध्ये निजी क्षेत्रका भवनहरूको पुनर्निर्माण गर्न पाँच अर्ब र सरकारी, स्कुल तथा सार्वजनिक भवनको पुननिर्माण गर्न पाँच अर्ब रुपैयाँ खर्च हुने छ। ‘हामीले तयार गरेको यो प्रारम्भिक तथ्यांक हो,’ महानिर्देशक बोहराले भने, ‘विस्तृत विवरण संकलन गरिरहेका छौं।’

बाढीले घर भत्काएपछि त्यस क्षेत्रका बाढीपीडित हाल विभिन्न ठाउँका होल्डिङ सेन्टरमा बसिरहेका छन्। यसरी होल्डिङ सेन्टरमा बसेका बाढीपीडितको संख्या तीन हजार ४०० पुगेको छ। होल्डिङ सेन्टरको संख्या २५ पुगेको छ। तीमध्ये नुवाकोटमा १६, रसुवामा चार, धादिङमा चार वटा छन्। काठमाडाैंमा पनि एउटा होल्डिङ सेन्टर राखिएको छ।

होल्डिङ सेन्टरमा आवास र भोजनको व्यवस्था सम्बन्धित स्थानीय नगरपालिका तथा गाउँपालिकाले गरिरहेका छन्। संघीय सरकार तथा विभिन्न संघसंस्थाले होल्डिङ सेन्टरमा गई राहत विवरण गरिरहेका छन्।

यसैगरी बाढीबाट सडक र पुलतर्फ ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। विभागले मंगलबार पत्रकार सम्मेलन गरी बाढीले पु¥याएको क्षतिबारे विवरण प्रस्तुत गरेको हो। क्षतिग्रस्त पुल र सडकको पुनर्निर्माणको काम अघि बढाइसकेको बताउँदै विभागका महानिर्देशक डा. विजय जैसीले भने, ‘यतिबेला पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिएका छौं।’

उनका अनुसार बाढीबाट कम्तीमा ४० किलोमिटर सडक पूर्ण रूपमा भत्किएको छ। रसुवाको मितेरी पुलदेखि धादिङको मलेखु पुलसम्म रहेका ४१ पुलमध्ये ३५ पुलमा क्षति पुगेको छ। तीमध्ये ३२ वटामा पूर्ण रूपमा क्षति भएको छ भने तीन वटामा आंशिक क्षति पुगेको छ।

प्रकाशित: १७ भाद्र २०८३ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App