५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

मेला भर्न ८ लाख भक्तजन मन्दिर परिसरमा आए

कोरोनाको त्रास घट्दै गएपछि पशुपति क्षेत्रमा यसपटक महाशिवरात्रि पर्वको उत्साह बढेको छ। विगत दुई वर्षदेखि कोरोना त्रासका कारण शिवरात्रिमा मन्दिर आउन नपाएका भक्तजनहरू यसपटक उत्साहित भएर पशुपति मात्र होइन देशभरिकै शिवालयहरूमा भगवान् शिवको दर्शन गर्न पुगेका छन्। 

शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथको मन्दिरमा मंगलबार साँझसम्म ८ लाख भक्तजनहरू मन्दिर परिसरमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  

मंगलबार देशभरि मनाइएको महाशिवरात्रि पर्वमा विशेषगरी अराध्यदेव भगवान पशुपतिनामा देशभरिबाट भक्तजनहरू दर्शन गर्न लाइन लागेका थिए। विराटनगरबाट पशुपतिनाथको दर्शन गर्न आएकी दिपीका खत्रीले मंगलबार बिहानदेखि नै लाइन बसेर भगवान् पशुपतिनाथको दर्शन गर्न पाएकोमा मनमा शान्ति मिलेको बताइन्। उनी पशुनाथको दर्शन गर्न दुई दिनअघि नै काठमाडौं आएकी हुन्।

‘कोरोना त्रासका कारण दुई वर्षदेखि म पशुपतिनाथको दर्शन गर्न पाएकी थिइँन,’ दिपीकाले भनिन्, ‘अहिले कोरोनाको बुस्टर डोज लगाइसकेकी छु। जोखिम कम भएकाले आएँ। यसपटक पशुपतिनाथको दर्शन पाएँ। मन फुरुङ भयो। कोषले अबका दिनमा भक्तजनको दर्शनको चुस्त व्यवस्थापन गरोस्।’

कलंकीकी सुनिता सिलवाल पनि कोरोना त्रासकै कारण गत वर्ष कुनै पनि मन्दिर नगएको सुनाइन्। पेशाले शिक्षक उनी यसपटक कोरोना जोखिम कम भएको र खोपसमेत लिइसकेकोले ढुक्कसाथ पशुपतिनाथको दर्शन गर्न आएको सुनाइन्। उनले शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरू निकै सास्ती खेप्नु परेको अनुभव सुनाइन्। ‘कोषले लाइन बसेको आधा घन्टाभित्रै दर्शन गर्न सक्ने दाबी गरेको पूरा गर्न सकेन।

म आफैं चार घण्टा लाइनमा बसेर बल्ल मन्दिर प्रवेश गरेकी हुँ,’ सुनिताले मन्दिर दर्शनको माहोल बताइन्, ‘यति मात्र कहाँ हो र मन्दिरभित्र प्रवेश गरेपछि आजको दिनमा समेत लाखबत्ती र विशेष पूजा गर्नेहरू रहेनछन्। त्यसले भक्तजनलाई थप सास्ती दियो। शिवरात्रिमा बढी भिड हुने भएकोले अबदेखि कोषले पहिले नै विशेष पुजा र लाखबत्तिको व्यवस्था गर्नुपर्छ। विशेष पुजा र लाखबत्तीले लाइनमा बसेका भक्तजनलाई निकै ढिला पारिदिने रहेछ।’

शिवालयहरू विशेष गरी पशुपति क्षेत्रमा बढी घुइँचो हुने समय शिवरात्रि र हरितालिका तीज पर्व नै हो। कोषले भिड हुने पर्वहरूमा विगतको पाठ सिकेर दर्शन व्यवस्थापनमा थप जोड दिनुपर्ने कलैयादेखि आएका अमित यादवले सुझाए।

युवायुवतीको आर्षण बढाउन सेल्फी प्वाइन्ट  

पशु्पतिनाथको मन्दिरमा यसपटकको शिवरात्रिमा युवायुवतीको लर्को नै थियो। कोषले मेलालाई थप मनोरन्जन र युवाहरूलाई समेत आकर्षण गर्ने लक्ष्यसहित नयाँ जमाना अनुसार सेल्फी प्वाइन्टको व्यवस्था गरेकोले साथीसहित पुगेका युवायुवतीहरू दर्शनभन्दा पनि रमाइलो गर्न व्यस्त देखिए। कतिपय युवाहरू राम्रो जीवनसाथीका लागि ब्रत बसेर साथै मन्दिर दर्शन गर्न आएको सुनाए।

‘मैले राम्रो जिवनसाथी पाउने मनोकांक्षाका साथ आज शिवरात्रि ब्रत बसेकी हुँ,’ मेलामा भेटिएका सुजित श्रेष्ठले भने, ‘त्यही भएर हुनेवाला जीवनसाथीलाई पनि साथै लिएर आएको छु। मन्दिरमा पुजा गरिसक्यौं। अब हामी सेल्फी प्वाइन्टमा स्मरणका लागि फोटो खिचेर घर फर्कन्छौं।’

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थापन गरेको जनाए।

उनले बिहान र साँझको समयमा सहजरूपम दर्शन भए पनि दिउसो स्वयंसेवक र सुरक्षाकर्मीहरूको सिफ्ट परिवर्तन हुने समयमा दर्शन व्यवस्थापनमा केही असहज परिस्थिति उत्पन्न भएको स्वीकारे।

‘साँझसम्म ८ लाख भक्तजनहरूले मन्दिर क्षेत्रमा मेला भर्न आउनुभएको छ,’ प्रवक्ता एवं उपनिर्देशक अधिकारीले नागरिकसँग भने, ‘साधुसन्तहरू यसपटक तीन हजार पाँच सय मात्र आइपुग्नु भएको छ। नागाबाबाहरू हजारको हाराहारीमा हुनुहुन्छ। बिहीबार साधुसन्तको बिदाई कार्यक्रम दक्षिणा दिएर कोष र गुठी संस्थानले गर्ने तय गरिएको छ।’ उनले शिवरात्रिमा विशेष पुजाले कोषलाई आम्दानी हुने भएकाले पनि कोषले पुजाहरू गर्दै आएको प्रष्ट्याए।

‘कोषले मेला व्यवस्थापन गर्न पूर्ण कोसिस गरेको छ,’ उनले भने‘स्वयंसेवक र प्रहरीले भक्तजनहरूलाई दर्शन गराउन सहज वातावरण तयार पर्नु भएकै हो। अगामी वर्ष थप व्यवस्थित गर्दै जाने हो। यस पटक ५१ सय, २७ हजार र ५६ हजारसम्मको विशेष पुजा गराइएको छ। स्वदेशी र विदेशी भक्तजनहरू उत्साहित भएर यसपटक मन्दिरमा आउनु भएको छ।’

भक्तजनहरूको मनोरन्जजनका लागि भारतबाट कलाकार पनि आएको कोषका सदस्यसचिव मिलनकुमार थापाले बताए। उनले भक्तजनको लागि भोजन, स्वास्थ्य, सुरक्षा तथा आवासका लागिसमेत व्यवस्था गरिएको जनाए। यसपटकदेखि शिवरात्रि पर्वको भोलिपल्ट अर्थात् बुधबारदेखि एक हप्ते मेलाको समेत व्यवस्था गरिएको सदस्यसचिव थापाले जनाए।

‘भक्तजनको स्वास्थ्य सुरक्षाका लािग स्वास्थ्य शिविर र भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ,’ सदस्य सचिव थापाले भने, ‘महाशिवरात्रिको भोलिपल्टदेखि वनकाली क्षेत्रमा एक हप्ते मेला बजार सञ्चालन गर्न यसपटक कोषले अनुमति दिइसकेको छ।’

प्रकाशित: १८ फाल्गुन २०७८ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App