३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सीप सिकेर स्वरोजगार बन्ने अठोट

जुम्ला चन्दननाथ नगरपालिकाका महिला रोजगारी बन्न सीप सिक्न थालेका छन्। उनीहरुले सीप सिकेर स्वरोजगार बन्ने अठोट लिएका हुन्। आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने हेतुले सीप सिक्न थालेको चन्दननाथ ६ की संगिता रावलले जानकारी दिइन्।

उनले भनिन्,‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभाष दिलाउँछौँ।’ सामाजिक विकास कार्यालयले वेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नको लागि एक महिने होजियारी सीपको व्यवस्था गरेको थियो। एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ, संगिताले भनिन्,‘अब घरमै बसेर सिकेको सीप व्यवहारमा उतारेर दैनिकी सहज बनाउने कार्यमा जुट्छौँ।’

उनीहरुले टोपी र मोजा बुन्न सिकेका हुन्। अब घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारसम्म लैजाने तयारी उनीहरुले गरेका छन्। पक्कै पनि यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउनेछ। चन्दननाथ ४ की अमृता भारतीले थपिन,‘यो सीपले व्यवसायिक बन्न पे्ररित गरेको छ। सानो लगानीमा पनि गर्न सकिने व्यवसाय भएकोले सहजै रुपमा गर्न सकिनेछ।’

भारतीले सिकेको सीप कहिले पनि खेर नजाने भएकोले जुनसुकै बेला काम लाग्ने बताइन्। सीप सधैंभरि जिवीतै रहने भएकोले सिर्जनशिल भएर प्रदर्शन गर्न सक्नु अहिलेको अपरिहार्यता हो। उनले भनिन्,‘सीप सिकेर मात्र नपुग्ने भन्दै उत्पादन गरि बेच्न सक्ने हैसियत राख्नुपर्ने हुन्छ। अनि मात्रै राज्यले  लगानी सार्थक हुन्छ।’

सधैं चुलोचौको र पानीपधेँरोमा सिमित हुने महिलाले सीप आर्जन गरेर आत्मनिर्भर बाटो खुला भएकोमा खुसी पोखिन्। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीप व्यावसायिक रुपले अगाडि बढाउन आग्रह गरे। सिकेको सीप निस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेट भन्दा हातले बुनेका मोजा, टोपीहरु बलियो र टिकाउ हुने बताए।

सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन, उनले भने,‘घरमै किन्न आउने वातावरण बन्छ। यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो।’ सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाइले विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको बताए।

उनले भने ‘यी प्रकृतिका सीप सिकेर धेरै महिलाहरु स्वरोजगार बनेको उदाहरणहरु छन्। सरकारले महिलाले सीप सिकेर स्वरोजगार बन्ने र उनीहरुको आयआर्जनमा सुधार हुने अपेक्षा गरेको छ।’ हिमाली महिला जागरण केन्द्र जुम्लाका अध्यक्ष छिरिङ ल्यामु लामाले विपन्न असाहय महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्वन्धी एक महिने सीपमुलक हातेहोजियारी सीप दिइएको बताइन्।

उनले भनिन,‘विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि यो प्रकारको दिन आवश्यक छ। महिलाको आर्थिक स्तर माथि उकास्नु हिमाली महिला जागरण केन्द्रको उदेश्य हो।’ प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइएको बताइन्।

उनले भनिन् ‘आफैले बुनेर टोपी र मोजा बुन्न सक्ने भइसकेका छन्। अझै कहिलेकाही बुन्ने कुरामा कन्फुज भए जतिसुकै बेला पनि सहयोग गर्न तत्पर हुनेछु।’ चन्दननाथ नगरपालिका भित्रका १० जना महिलाले सीप सिकेका हुन्। सीप सिकाउने सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरि अविर खाँदा ओडाएर सम्मान गरिएको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७८ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App