४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाहः सानोमा रहर, ठूलोमा कहर

जुम्ला कनकासुन्दरी गाउँपालिका ६ का नरविर कामीले २०५५ सालमा १६ वर्षको उमेरमा विवाह गरे। १६ वर्षका नरविरले १३ वर्षकी बालिकासँग विवाह गरे। सानै उमेरमा विवाह गरेका उनी अहिले निकै पश्चातापमा छन्। बालविवाह गर्दा निकै कष्ट ब्यहोर्नु पर्यो, उनले भने,‘बालविवाहको असर अहिले देखा पर्न थालेको छ। निकै पश्चातापमा छु।’

उनको श्रीमती १४ वर्षको उमेरमा गर्भवती भइन्। तर प्रजनन क्षमता परिपक्क नभएर गर्भवती हुँदा आमा र बच्चा गुमाउनु पर्‍यो । उनले भने,‘बालविवाह समाजको कुरीति मात्र होइन। यो महाकाल हो। कैयन महिलाले कमै उमेरमा विवाह गर्दा अकालमा मृत्यु झेल्नु परिरहेको छ। सानै उमेरमा विवाह गर्दा पाउनु दुःख पाए।’

उनले थपे,‘शिक्षाबाट वञ्चित भए। आमा र छोराको मृत्यु हुँदा टुहुरो जस्तो भए। यो सबै बालविवाहको परिणाम थियो। अहिले बुझिरहेको छु।’ बालविवाहका कारण श्रीमतिको मृत्यु भएपछि २०६० सालमा पुन: दोस्रो विवाह गरे। बालविवाह गर्दाको पीडा भोगिसकेका उनले २० वर्ष भन्दा माथिको किशोरी संग विवाह गरे। अहिले छोरा छोरी छन्। उनीहरुलाई पनि सानै उमेरमा विवाह गर्न दिदैन्। यो अठोट मेरो छ।'

छोराछोरीलाई निरन्तर रुपमा बालविवाह गर्दा हुने समस्याको बारेमा सम्झाउँछन्। स्थानीय धर्मा सार्कीले १३ वर्षको उमेरमै विवाह गरिन्। उनका तीन बच्चा महिना नपुग्दै खसे। प्रजनन क्षमता परिपक्क नभएकोले बच्चा गुमाउनु परेको निकै दुखि छिन्। सानै उमेरमा विवाह गरियो, उनले दुःख पोखिन,‘बालविवाह गर्दा पाउनु दुःख पाए। अहिले स्वास्थ्य अवस्था नाजुक छ।’

स्वास्थ्य अवस्थामा समस्या हुन थालेपछि काठमाण्डौँ गएर उपचार गराइन्। अहिले घरमा छोराछोरी छन्। तर बालविवाहको घाउले सधैं घोचिरहेको छ। मैले त बालविवाह गरेर दुःख पाए। उनले भनिन्,‘मेरो सन्नततिलाई बालविवाह गर्न दिन्न।’ नरविर र धर्मा एक प्रतिनिधी पात्र मात्र हुन्। यो गाउँपालिकामा बालविवाह गरेर दुःख भोगेका सयौँ भेटिन्छन्।

अहिले ८ वडामा विभाजित कनकासुन्दरी गाउँपालिकामा दलित, बाहुन र क्षेत्रीको बसोवास छ। बाहुन क्षेत्री भन्दा दलित वस्तीमा बालविवाह विकराल छ। गाउँमा बालविवाह भइरहेका छन्। तर उजुरी अहिले सम्म परेको पाइदैन। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्द यहाँ बालविवाह धेरै भएको देखिएपनि प्रहरीकोमा उजुरीका रुपमा आउने नगरेको बताउँछन्।

२० वर्ष मुनिका गर्भवती किशोरी स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउने तथ्यांकका आधारमा मात्रै बालविवाह हुने गरेको देखिएको छ। नत बालविवाहको जिल्लामा यकिन तथ्यांक छ। नत बालविवाह गरेको भन्दै प्रहरीमा उजुरी नै परेको छ। बालविवाह व्याप्त छ, तर बालविवाह गरेको तथ्यांक भेटिदैन। जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार जुम्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेको तथ्यांक छ।

आर्थिक वर्ष ०७७/७८ मा जुम्लाका ८ वटै स्थानीय तहका ८६० जना २० वर्षमुनिका बालिका गर्भवती भएका थिए। आर्थिक वर्ष ०७६/७७ मा जिल्लाभर ८५५ जना २० वर्षमुनिका किशोरी आमा बनेको तथ्यांक छ। यो तथ्यांकले जिल्लामा बालविवाह तीब्र भइरहेको संकेत गर्छ। जिल्लाका स्वास्थ्य संस्थामा २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीको संख्या तीब्र छ।

शिक्षा, जनचेतनाको अभाव तथा गरिबीका कारण दुरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ। सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी गर्भवती भएका छन्।

पातारासी गाउँपालिकामा १३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। गत वर्षमा १८० जनाले निकै कमतौल भएका बच्चा जन्माए।

२० वर्षमाथिका ३७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन्। उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन्।

बालविवाहमुक्त गाउँ बनाउने अभियान

जिल्लाको कनकासुन्दरी गाउँपालिकाका स्थानीय बालविवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेका छन्। पहिले अशिक्षाका कारण बालविवाह भएपनि अहिले विज्ञान प्रविधिको दुरुपयोगले बुझ पचाएरै बालविवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भएपनि गाउँमा बालविवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी ४ का वडासदस्य सिंहराज सार्कीले बताए।

उनले भने,‘बालविवाह सामाजिक कुरीति हो। यो सामाजिक रुपमै वहिस्कार गनुपर्छ। अहिले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौ। गाउँमा बालविवाह अन्त्य गर्न केन्द्रीत कार्यक्रम भइरहेका छन्।’ क्याड नेपालको दवावमुलक विवाह न्युनिकरण परियोजनाले बालविवाह मुक्त गाउँ बनाउनको लागि सहयोग गरेको छ।

पटक पटक बालविवाहका असर, कानुनी सजाय, ढिलो विहे गर्दाका फाइँदाका बारेमा सचेतना दिने गरेको क्याड नेपालका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिए। उनका अनुसार बालविवाह रोक्न गाउँगाउँमा निगरानी समिति बनाएर प्रतिबद्ध भएर स्थानीय जुटेका छन्। बालविवाह गर्नेलाई वडाको सार्वजानिक सेवाबाट वञ्चित गर्नेदेखि बिवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी ६ का लालु नेपाली बताउँछन्।

दलित समुदायमा बालविवाह बढी भएकोले कनकासुन्दरीका दलित समुदायनै अहिले बालविवाह रोक्न अग्रसर छन्।  कनकासुन्दरी गाउँपालिका वडा नं. ४, ५ र ६ का दर्जनौ वस्तीलाई बालविवाह मुक्त बनाउन स्थानीय जुटेको क्याड नेपाल जुम्लाले जनाएको छ।

कनकासुन्दरीका ४, ५ र ६ नम्बर वडामा बालविवाह तथा छाउपडी प्रथा न्युनिकरणका लागि अन्तरसंवाद समेत भइरहेका छन्। क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेर बहादुर रोकायाले विगतको तुलनामा छाउपढी कम भएपनि बढ्दो बालविवाहलाई रोक्न स्थानीयहरुले अभियान नै सञ्चालन गरेको बताउँछन्।

सन २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालविवाह न्युनिकरण, छाउपडी प्रथा न्युनिकरणका क्षेत्रमा क्याड नेपालले काम गर्दै आएको छ। आफ्ना बालबालिका प्रति अभिभावकको गैर जिम्मेवारीका कारण पनि बालविवाह बढेको जानकारहरु बताउँछन्। सामाजिक सञ्जालको दुरुपयोग, फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालविवाह फस्टाउँदै गएको छ।

अझ गाउँमा काममै बढी ध्यान दिने, छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्ने कारणले बालविवाह बढेको कनकासुन्दरी गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख दिपेन्द्र उपाध्यायले बताए। कनकासुन्दरी गाउँपालिका–५ का वडाध्यक्ष विर्खबहादुर खत्री बालविवाह र छुईप्रथा सामाजिक कुस्कार भएको बताउँछन्। यी सबै मानिसले नै समाजमा उत्पन्न गरेका समस्या भएकाले समुदायबाट न्यूनिकरण गर्दै निर्मुल गर्न आवश्यक भएकोमा जोड दिए।

बालविवाह र छुईप्रथाले मानिसको शिक्षा र स्वास्थ्य प्रभावित हुने भएकोले  सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउँदै वडाध्यक्ष खत्रीले भने,‘पहिले भन्दा केही न्यूनिकरण हुदै आएको छ। अझ समाजबाट नै निर्मुल पार्न नागरिकदेखि सरोकारवाला निकाय जुट्नु पर्दछ। कानुन कार्यन्वयनमा बढी जोड दिन आवश्यक छ।’ बालविवाह जिल्लाको एक नगरपालिका सहित ७ वटा गाउँपालिकामै व्याप्त देखिन्छ। 

प्रकाशित: १२ फाल्गुन २०७८ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App