१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीका भौतिक मन्त्रीको गाउँ नै बिजुली विहीन

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ। जुम्ला कनकासुन्दरी ७ रोकायाबाडामा १२ वर्ष अघिदेखि बिजुली बाल्ने प्रयत्न भएपनि हालसम्म बिजुली बल्न सकेको छैन।

कर्णाली प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधारमन्त्री गाउँ नै बिजुली विहीन बनेपछि स्थानीय चकित छन्। उनीहरुले तत्काल बिजुली व्यवस्थापनको लागि माग गरेका छन्। रोकाया यसअघि कर्णाली प्रदेशसभा सदस्य मात्र थिए। अब मन्त्री बनिसकेपछि बिजुली बन्ने आशा स्थानीयले गरेका छन्।  

छालसेरी जलविद्युत बनाउन लागेको १२ वर्ष पुगिसकेको छ। न बिजुली निकालिएको छ, नत बिजुली बनाउन विनियोजन गरेको बजेट नै रहेको छ। मन्त्री रोकायाले बिजुली निर्माणको लागि एक करोड ३० लाख रुपैयाँ सांसद कोष र निर्वाचन क्षेत्र कोषबाट हालेको बताए।

उनले भने,‘बिजुली बाल्नको लागि बजेटको अभाव हुन दिइएको छैन। तर उपभोक्ता समितिले बनाउन ढिलाई गरिरहेका छन्। उपभोक्ताको लापरबाहीका कारण गाउँ अहिले पनि अन्धकार नै छ।’ यही योजनाको लागि तत्कालिन पाण्डगुफा गाउँ विकास समितिबाट पहिलोपटक  १५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो।

त्यसपछि क्रमश दोस्रो पटक १३ लाख रुपैयाँ, तेस्रो पटक ७ लाख रुपैयाँ, गरिबी निवारण कोष जुम्लाबाट ४८ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट २० लाख रुपैयाँ, अध्यक्ष र उपाध्यक्ष कोषबाट १३ लाख रुपैयाँ, कनकासुन्दरी ८ पहिलोपटक १३ लाख रुपैयाँ, दोस्रोेपटक ८ लाख रुपैयाँ, र वडा नम्बर ७ बाट पहिलोपटक  ६ लाख रुपैयाँ, दोस्रो पटक ५ लाख  रुपैयाँ खर्च भइसकेको जनाइएको छ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेका १२ वटा गाउँका ११ सय घरमा बिजुली छैन। बिजुलीको बनाउँदै १२ वर्ष भइसकेको छ। निर्माणको काममा ढिलासुस्ती हुँदा आरसीसी गरेको नहर कतै भत्किएको छ। कतै फाटेको छ। नहरमा ढुंगा भरीएका छन्। पाइप फुटेका छन्। पोल ढलेका छन्। तार चुटिएका छन्। केहि ठाउँमा पोल हाल्न बाँकी छ। मेसिन पनि बिग्रेकोले तत्काल बत्ति बल्ने अवस्था देखिदैन।

बिजुलीका नाममा बजेट ल्याउने, आफन्तहरु उपभोक्ता समितिमा राख्ने र बिजुली बनाउने कामलाई कमाइखाने भाडो बनाउने गरेको स्थानीय माधव काफ्ले बताउँत छन्। उनले भने,‘बजेट आउने बित्तिकै उपभोक्ता समिति गठन गर्ने एकै समितिले नचलाएर चार समितिले चलाउने गरेकोले निकै समस्या आएको हो।’

यहाँका नागरिक हरेक दशैँ र तिहारमा बिजुली बल्छ की भनेर आशमा बस्छन्। तर उनीहरुको हरेक दशैँ नयाँ वर्ष अन्धकारमै बित्छ। १२ वर्ष देखि बिजुली बाल्ने सपना पुरा हुन नसकेको स्थानीय धर्मलाल प्याकुरेल बताउँछन्।

उनले भने,‘यो योजनामा बजेटको अभाव देखिएको छैन। तर काम हुँदैन। बिजुली जोड्न भनेर आएका इन्जीनियर र प्राविधिकले नै गलत गर्छन्। वडा नम्बर ७ का वडाध्यक्ष धनजित रोकायाले भने,’‘बिजुली बलेपनि बेयरिङ बिग्रने ठूलो समस्या छ।’ अबको केही दिनभित्र यो बिजुली बल्नेछ। उनले भने,‘यदि बनेन भने अर्को बिजुली बनाउने कामको थालनी गर्ने प्रयास हुनेछ।’

प्रकाशित: ९ फाल्गुन २०७८ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App