५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अधुरा योजना पुरा गर्दै गुठिचौर गाउँपालिका

स्थानीयतहको पहिलो कार्यकाल सकिनै लाग्दा जिल्लाको गुठिचौर गाउँपालिकाले अधुरा सबै योजना पुरा गर्ने नीति लिएको छ। अहिलेसम्म भएका सबै अधुरा योजना यो वर्षमा पुरा गर्ने र स्थानीयतहको निर्वाचन पछि आउने नयाँ जनप्रतिनिधिले नयाँ योजना ल्याउन सहज होस भन्ने ध्यायले गाउँपालिकाले ११ औँ हिउँदेसभा बोलाएर यो नीति लिएको हो।

गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले गाउँसभाबाट केही अधुरा योजना पुरा गर्न रकमान्तर गरिएको बताए। उनले भने,‘पहिलो कार्यकाल सकिन थोरै समय छ। पाँच वर्षमा गर्नुपर्ने सबै काम पुरा गर्ने नीति लिइएको छ। सोही बमोजिम हरेक वडामा परिपत्र गरिएको छ।’

सभाले आन्तरिक स्रोतबाट निर्माण हुने विकास योजनाहरु पुरा गर्ने निर्णय पारीत गरेको छ। सभामा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुका साथै अहिलेसम्म भएका कामको समिक्षा गरिएको थियो। प्रगति विवरण प्रस्तुत गर्दै गुठिचौर ३ का वडाध्यक्ष प्रेमबहादुर बुढाले गाउँपालिका भित्रका गौरवका योजना निरन्तरता दिदै अघि बढ्ने बताए।

उनले भने,‘अधुरा योजना सबै पुरा गर्ने र भएका सबै कामको संस्थागत गर्दै अघि बढ्ने हिउँदेसभाको मर्म थियो।’ गाउँपालिकाका सबै वडामा अहिले सडक पुगिसकेको छ। खानेपानीको प्रयाप्त पहुँच पुगेको छ। सिचाइँका क्रियाकलाप निकै राम्ररी भइरहेको छन्। कृषि, पर्यटनका क्षेत्रमा पनि राम्रो काम भएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

गाँउपालिकाको शान, शान्त रमणीय पर्यटकिय स्थल सहितको समृद्धि हासिल गर्ने एक मात्र अभियान, भन्ने नारा सहित हिउँदे गाउँसभा सकिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले जानकारी दिए। गाउँपालिका अध्यक्ष भण्डारीले पहिलो कार्यकालमा जनताका आधारभुत समस्याको संवोधन भएको बताउँदै गुठिचौरबासीको समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको लोभलाग्दो भुमिका रहेको बताए।

केन्द्रीकृत सत्ता हुने बेला र संघीयता कार्यन्वयन भएर स्थानीयतहको स्थापना भइसकेपछिको विकास निर्माणको अवस्था आकाश र पातलको फरक देखिएको अध्यक्ष भण्डारीको भनाई छ। हामी पहिलो कार्यकालको अन्तिम चरणमा छौँ। उनले सभासदस्यहरुलाई भने,‘अहिले सम्म भएका राम्रा काम जनता माझ पुर्‍याउँदै अघि बढौँ। यो कार्यकाललाई सफल कार्यकालका रुपमा स्थापित गर्न तिर जुटौँ। सदैव जनताको हीत र समस्यासंग एकाकार भएर लागौँ।’

गाउँपालिकाले कृषि क्षेत्रको आमुल परिवर्तनका लागि एक घर एक स्याउ बगैँचाको अवधारणा ल्याएको थियो।  विपन्नहरुको आर्थिक जीवनस्तर उकास्नका लागि विपन्न नागरिकको पहिचान गरेर भेडाब्राखा र भैंसी वितरण गरेको थियो। कोरोना महामारीका कारण सोचे अनुसारको विकास निर्माणमा अग्रसर हुन नसकेको जनप्रतिनिधिहरु बताउँछन्।

महामारीका बीच पनि जनताका आधारभुत आवश्यकता पुरा गर्न सकेको प्रति उनीहरु निकै खुसी छन्। गुठिचौर १ का वडाध्यक्ष गणेश ऐडीले जनताको आवश्यकता र माग अनुसारको काम गर्न सकेको बताए। जनताले आशा गरेजतिको काम हुन नसकेको होला, उनले भने,‘तर आफ्नो क्षेत्रमा सक्ने काम गर्न कुनै कन्ज्युस्याँइ गरिएको छैन।’

चुनावी प्रतिबद्धता पुरा गर्न सफल भएकोमा जोड दिए। गुठिचौर गाउँपालिका २ का वडाध्यक्ष पृथ्वी बुढाले गाउँमा घरघरमा धारो निर्माण गरेर खानेपानीको सहज पहुँच पुर्‍याउन सफल भएको जानकारी गराए। उनले भने,‘यो संगै गोरेटो बाटो निर्माण गर्दै उज्यालो वडा बनाइएको छ। यो जनताले मुल्यांकन गर्ने बिषय हो।’

गुठिचौर ४ का अध्यक्ष जग्गीप्रसाद जैसीले पूर्वाधार विकासमा निकै प्रगति भएको दाबी गरे। उनले भने,‘गाउँमा नसोचेको विकास भएको छ। यो संघीयताको उपज हो। अहिले सबै घरमा वाईफाइको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । अब हरेक सुचना सञ्चार संग वडाबासी जोडिनेछन।’

गुठिचौर ५ का अध्यक्ष चन्द्रबहादुर नेपालीले वडाबासीले देख्ने गरि विकास भएको प्रतिक्रिया दिए।  उनले भने,‘कोरोना महामारीको समयमा जोखिम मोलेर जनताको सुरक्षामा होमियौँ। शिक्षा स्वास्थ्य, खानेपानी, सडक गाउँगाउँमा पुर्‍यायौँ । सडक आरसीसी र पिसीसी गरेर सडक यात्रा सुरक्षित गर्न भुमिका खेलेका छौँ। यी सबै पाँच वर्ष भित्रका उपलब्धि हुन्।’

तर, जनताको नजिक रहेर काम गर्दा पनि जस पाउन नसकेको उनले दुखेसो पोखे। गुठिचौर ३ का अध्यक्ष प्र्रेमबहादुर बुढाले शिक्षा, स्वास्थ्य, खानेपानी, वाईफाई जडान लगायतका नमुना काम भएको बताए। उनले भने,‘ जंगल जोगाउन ग्यास वितरण, शुद्ध पानी पिउनको लागि हरेक घरमा फिल्टर वितरण गरियो। गाउँमा वाइफाई जडान गरेर सञ्चारका क्षेत्रमा प्रत्यक्ष जोडियो यो जतिको उपलब्धि केही हुन सक्दैन।

‘सभामा अहिलेसम्म गुठिचौर गाउँपालिकाले ४७ वटा कानुन निर्माण गरी पारित गरेको जानकारी गराएको थियो। गाउँपालिका भित्रको जल, जमिन र जडिबुटी बेचेर आन्तरिक राजश्वमा वृद्धि गरी पालिकाको विकासमा योगदान पुर्‍याउन सबैले हातेमालो गर्ने निष्कर्ष गरियो। प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले पहिलो कार्यकालको समिक्षामा गाउँसभा केन्द्रीत भएको बताए। 

प्रकाशित: ९ फाल्गुन २०७८ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App