३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव

जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेको १४ वर्ष पुग्यो। तर अर्गानिक जिल्लामा रासयनिक विषादीको प्रयोग हटेको छैन। न रासायनिक विषादीको प्रयोग हटेको छ। नत अर्गानिक कृषिजन्य वस्तुको उत्पादन नै भएको छ।

चन्दननाथ नगरपालिका २ का वरिष्ठ किसान रामकृष्ण बुढ्थापा जबसम्म रासयनिक विषादीमुक्त जिल्ला बनाउन सकिदैन तबसम्म अर्गानिक जिल्लाको घोषणा गरेको सार्थक हुनेछैन।’ उनले साउन महिनाको झारपातलाई बटुलेर जैविक मल उत्पादनमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए।

वर्षायामको समयमा पाइने हरियो झारपातलाई खाल्डोमा कुहाएर जैविक मल बनाएर अर्गानिक खेति गर्न सकिने प्रयाप्त सम्भावना छन्। उनले भने,‘तर अहिले नाम अर्गानिक जिल्ला भएपछि किसानले रासयनिक विषादी र मलको प्रयोग गरेर खेति गरिरहेका छन्।’

अर्गानिक जिल्ला घोषणा नाम मात्रको भएको छ। उनले थपे,‘वास्तविक अर्गानिक उत्पादन के हो? भन्ने बारेमा पहिचान गर्न सकिने अवस्था छैन।’ जुम्लामा व्युटाक्लोर विषादी प्रयोग भइरहेको किसान बताउँछन्। आधुनिक युगमा पनि परम्परागत खेतीपाती हुने गरेको छ।

उनले भने,‘कृषिक्रान्ति गर्ने हो भन्ने सबैले सोच्नु पर्छ। अर्गानिक खेति र खेतीको महत्वको बारेमा साधारण किसानलाई जागरुक गर्नुपर्छ। अनि मात्र अर्गानिक जिल्ला भएको पहिचान दिलाउन सकिन्छ।’

जिल्ला समन्वय समिति जुम्लाका कार्यवाहक प्रमुख कार्मा बुढाले स्थानीय रैथाने बालीको संरक्षण गर्नमा कसैको ध्यान केन्द्रीकृत हुन नसकेको बताए। अर्गानिक कृषि प्रवद्र्धनतर्फ जुम्लाबासी सबै चुलेका छौँ। उनले भने,‘नाम अर्गानिक खेतिको लिन्छौँ। कामका रुपमा व्युटाकोलर जस्ता हानिकारक विषादीको प्रयोग गर्छौ। यो निकै लाजमर्दो विषय हो।’

अर्गानिक जिल्लाको पहिचान दिन सबैको साथ र सहयोग चाहिन्छ। किसान र सरोकारवालाहरु सबैको समन्वय र सहकार्य अति आवश्यक छ। फाफर,कोदो चिनो, कागुनो जस्ता बालीको खेतीपाती गरि सेतो भातको अन्त्य हुनुपर्ने उपप्रमुख बुढाको भनाइ छ।

चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले अहिले पनि लुकिछिपी विषादीको प्रयोग भइरहेको बताइन्। रासायनिक बिषादीको प्रयोग गरेर बेइजत भएको उनले बताइन्।

उनले आयतित खाद्यन्नले यहाँ उत्पादित अर्गानिक वस्तु लोप हुदै गएको बताइन्।  आफ्नो खेतवारीमा उत्पादन भएको बालीनालीलाई प्रोत्साहन गर्नुपर्छ। उनले भनिन्,‘व्युटाकोलर विषादीको प्रयोगले मानव स्वास्थ्यदेखि पशुवस्तुमा समेत असर पुर्‍याउने देखिन्छ। अर्गानिक उत्पादनलाई बढावा दिन सबैको हातेमालो आवश्यक छ।’

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले नेपाल कृषि प्रधान देश भएको भएकोले सबै मिलेर कृषि क्रान्तिमा लाग्नु पर्नेमा जोड दिइन्।  अर्गानिक स्याउका लागि कोल्ड स्टोरको आवश्यक देखिन्छ। उनले भनिन्,‘जसका लागि जुम्लाका ८ वटै स्थानीय तहमा कोल्ड स्टोरको स्थापना हुन जरुरी छ।’

गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी निरोगी हुनका लागि स्थानीय बालीको परिकार खानुपर्ने बताउँछन्। स्वास्थ्यका हिसाबले चिनो, कागुनो, फापर र कोदो लगायतका रैथाने परिकार खान राम्रो मानिन्छन्।

तातोपानी गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले अर्गानिक बालीको संरक्षण गर्न गाउँपालिका भित्रका सबै आधारभुत विद्यालयमा दिवा खाजामा स्थानीय रैथाने बस्तुको परिकार बनाउनुपर्ने नियम बनाइएको बताए। कृषिलाई मजबुत बनाउन १० वर्षे कृषि रणनीति योजना निर्माण गरिएको जानकारी दिए।

अहिले तातोपानीका खेतमा विषादी प्रयोग गरेको भेटिएमा १ हजार रुपैयाँ जरिवाना तोकिएको छ। जिल्ला कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले अर्गानिक कृषि प्रवद्र्धन तथा रैथाने बालीको सरंक्षण गर्ने उदेश्यले प्रत्येक वर्षको फागुन ६ गतेका दिन कृषि दिवस मनाउने गरिएको जनाए।

यो वर्ष कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण गरौँ भन्ने नारा तय गरिएको छ। सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले गैरसरकारी तथा सरकारी निकायबाट पुरानो बालीको  उत्पादन गरि संरक्षण गर्नुपर्ने बताए। 

प्रकाशित: ७ फाल्गुन २०७८ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App