डोटीको बोगटान क्षेत्र, निरौली, गडसेराका हटारुहरुको ‘माल’ (तराई) जाने एक मात्रै नाका थियो ठूलीगाड अर्थात् ‘घोलडास’। सम्म फाँट, फाँटको तल कलकल बग्ने ठूलीगाड। पानीको सहजता र त्यहीबाट ‘माल’ जाने मूलबाटो। ब्रह्मदेउ, मालाखेती, चौमालाबाट नुन किनेर ल्याउने र डोटीहुँदै जुम्लासम्म नुनको व्यापार गर्ने जुम्ली (जुम्लाका व्यापारी) ले त्यो ठाउँ रोजे। नुनको व्यापार गर्न आउजाउ गर्दा जुम्लीले ठूलीगाड किनारमा घोडा बाँध्न थाले। जुम्लीले घोडा बाँध्न थालेपछि ठूलीगाड किनारको समथर भागको नाम राखियो ‘घोलडास’।
हो, त्यही घोलडासमा ४० को दसकपछि गडसेरा भामगाउँका उदयसिंह खडायतले व्यापारको ‘भर्जिन’ एरिया देखे। दिपायलमा होटेल चलाएर बसेका खडायत एकाएक हानिए घोलडास। घोलडासमा पहिलो होटेल र ‘दोकान’ खोले उनले। दोकानमा दैनिक उपभोग्य सामान राखेर होटेलमा चिया पकाउन थाले। उनको पसलमा नुन किन्न तराई जाने हटारुहरु रोकिन थाले। उनको व्यापार राम्रै चल्न थाल्यो। त्यही देखेर स्थानीय तापसिंह छेडालले पनि पसल खोले। त्यो बेला दुई पसल सञ्चालनमा आए। विस्तारै हटारुहरु अडिने ठाउँ बन्यो घोलडास। पछि २०४६ ताका देशमा आएको परिवर्तनपछि २०४८ सालतिर लमौते गाउँका पदमराज जोशीले घोलडासमा कांग्रेसका संस्थापक वीपी कोइरालाको मूर्ति राखेपछि घोलडासबाट नाम परिवर्तन भयो ‘वीपीनगर’।
जसरी घोलडासबाट नाम परिवर्तन भएर वीपीनगर बन्यो। त्यसरी वीपीनगर क्षेत्रको विकासमा खासै परिवर्तन आएन ५० को दसकतिर। बन्न त बने स्याउलाले छाएका छाप्रा, खोका र केही खरले छाएका घरहरु। ती खोका छाप्रामा दैनिक उपभोग्य सामानदेखि चिया चमेना मात्रै पाइन थाल्यो। यो निरन्तरता ६० को दसकसम्म चल्यो। ६० को दसकमा चरम युद्ध चलिरहँदा केही नेता तथा हुनेखानेहरु धनगढी सरे। वीपीनगर फेरि उही घोलडास हुँदा जस्तो थियो त्यस्तैमा फक्र्यो। ‘माओवादी द्वन्द्वकालमा सुनसान प्रायः हुन्थ्यो वीपीनगर,’ घोलडासमा पहिलो व्यापारी बनेका उदयसिंह खडायतले भने,‘घोलडास परिवर्तन भएर वीपीनगर नामाङ्करण भएपछि थपिएका पसल तथा चहलपहलले विकासे आशाको त्यान्द्रो पलाउँदै गर्दा पुनः द्वन्द्वकालमा सुनसान बन्यो।’ दोस्रो जनआन्दोलनपछि भने केही आशलाग्दा काम भएको बताउँदै उनले भने,‘कैलाली र डोटीलाई छुट्याउने ठूलीगाडमा पक्की पुलको सर्भे हुनु, कापडीगाडमा पनि पक्की पुलको सर्भे हुनुले यहाँका स्थानीयमा पुनः आशाको सञ्चार गरिदियो।’
२०६५ पछि ठूलीगाड र कापडीगाडमा पक्की पुल बन्यो। पक्की पुल निर्माणपछि द्वन्द्वकालमा व्यापार व्यवसाय छोडेका तथा त्यहाँ घरबार छोडेर सुरक्षाका लागि सदरमुकाम छिरेकाहरु पनि फर्कन थाले। पसल थपिन थाले। दक्षिण डोटीको प्रमुख व्यापारिक केन्द्र बन्यो वीपीनगर। धनगढीबाट दैनिक दुईवटा बस यात्रु बोकेर वीपीनगर पुग्न थाले। वीपीनगरमा बस विसौनी बन्यो। दक्षिण डोटी जाने आउनेहरुको एक रात बस्ने थलो बन्यो वीपीनगर। यही बेला यहाँको व्यापार व्यवसाय फस्टायो। दिन दुई गुणा र रात चौगुणाका दरले यहाँको व्यापारले फड्को मा¥यो। सहजपुर–वीपीनगर सडक खण्डलाई संघीय सरकारले ‘डबल कटिङ’ गर्न बजेट छुट्यायो। सडक डबल कटिङको काम सुरु भयो। वीपीनगरबाट कालोपत्रे सुरुवात गरियो। वीपीनगरमा विद्युतीकरण भयो। बजार झिलिमिली बन्यो।
यही बेला धनगढी–स्याउले–वीपीनगर–गडसेरा–दिपायल फाष्ट ट्रयाक पनि खुल्न थाल्यो। अब वीपीनगरको भविष्य उज्वल छ भन्दै यहाँका व्यापारीले लगानी लगाउन थाले। ‘मैले कैलालीको मसुरियामा पाँच कठ्ठा जमिन किन्नका लागि बयाना गरेँ,’ वीपीनगरका होटेल व्यवसायी वीरबहादुर कलेलले भने,‘पछि वीपीनगरको भविष्य देखेर बयाना फिर्ता गरेर यहीँ घर किनेर होटेलमा सुविधा बढाएँ।’ उनी मात्रै हैन तराई झर्न खोज्नेहरु पछिल्लो समयमा वीपीनगरमै अडिएका छन्। वीपीनगरमा बहुमुखी क्याम्पस खुलेसँगै शिक्षाका लागि यहाँका अभिभावकले छोराछोरीलाई तराई पठाउनु नपर्ने भएपछि यही अडिएको उनी बताउँछन्। ‘मुख्य कुरो शिक्षा, स्वास्थ्य, विद्युत, बाटोघाटो नै हो,’ उनले भने,‘क्याम्पसदेखि कालेपत्रे सडकसम्म यहीँ हुन थालेपछि तराई झर्नेहरु पनि वीपीनगरमै लगानी लगाउन थाले।’ अहिले वीपीनगरमा एटेचसहितका सुविधा सम्पन्न होटेलमा वाईफाई राखेर सुविधा दिइरहेका ६ वटा होटेल थपिएका छन्। वीपीनगरमा सिर्जना होटेल, अक्षता होटेल, विकास होटेल, अनमोल होटेल, शीतल होटेल र महावीर होटेलले सुविधा थप्दै सेवा दिन थालेका छन्। ‘हामी पनि समय अनुसार परिवर्तन भएका छौँ,’ कलेलले भने,‘समयको माग अनुसार अहिले होटेलमा वाईफाई राख्यौ, एटेच बाथरुमसहितका कोठा थप्यौँ, हामीलाई यहीँ राम्रो भएको छ।’
हेर्दा हेर्दै घोलडासबाट जसरी नाम परिवर्तन भएर वीपीनगर बन्यो, त्यसैगरि एक दसक यता वीपीनगर बजार पनि परिवर्तन भएको उनले बताए। अहिले वीपीनगर बजारमा एकवटा कमर्सियल बैंक तथा वित्तिय सहकारीहरु एकपछि अर्को गर्दै खुल्न थालेका छन्। यहाँको व्यापार व्यवसाय थपिन थालेको छ। कच्ची सडक परिवर्तन भएर पक्की बन्न थालेसँगै वीपीनगरका दिन पनि फेरिन थालेको बडिकेदार गाउँपालिका–१ वीपीनगरका वडाध्यक्ष डम्मरबहादुर बोहराले बताए। उनले भने,‘बडिकेदार गाउँपालिकाको सबै वडामा सडक पुगेकाले यहाँको प्रमुख सहर वीपीनगर बनेको छ। बिहानै गाउँका मानिस वीपीनगरमा किनमेल गर्न आउनुका साथै बैंक तथा वित्तिय संस्थामा कारोबार आएर बेलुकी पुनः घर फर्कन सक्ने सडक भएकै कारण वीपीनगर अहिले बदलिएको छ।’ थोत्रा टिनले बेरिएका स–साना झुप्रा र कच्ची घरहरु भत्किएर अहिले त्यही ठाउँमा गगनचुम्बी महलहरु ठडिन थालेको उनले बताए। ‘अहिले यहाँका व्यापारीले यहीँ लगानी लगाउन थालेका छन्,’ उनले भने,‘त्यसकारण त जसरी घोलडास नामबाट बदलिएर वीपीनगर बन्यो, त्यसरी झुप्रे पसलबाट गगनचुम्बी महलमा बदलिएको छ अहिलेको वीपीनगर।’
प्रकाशित: ३ फाल्गुन २०७८ १६:०९ मंगलबार