२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कास्कीमा थपिए ५७ हजार मतदाता

प्रदेश निर्वाचन कार्यालय, पोखराले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि संकलत गरेको नामावलीमा ५७ हजार नयाँ मतदाता थपिएका छन्। फोटोसहितको मतदाता नामावली संकलन गरेको निर्वाचन कार्यालयले २०७८ माघ २४ गतेसम्मको तयार गरिएको अन्तिम नामावली सार्वजनिक गरेको हो।  

संकलित नामावलीको दावी विरोधको समयमा मृत्यु भएमा अथवा नामावली दोहोरिएको अवस्थामा तथ्यांकमा फरक पर्ने उल्लेख गरेको छ। अन्तिम दावी विरोधको समय भने कार्यालयले फागुनको १९ देखि २६ गतेको समायावधि तोकेको छ। दावी विरोधपछि निर्वाचन कार्यालय पोखराले चैत १३ गते प्रकाशित गर्ने छ।  

तथ्यांक अनुसार कास्कीको चारवटा गाँउपालिका र एउटा महानगरपालिकामा ५७ हजार १ सय २९ मतदाता थपिएका छन। २०७४ को स्थानीय चुनावमा कास्कीमा २ लाख २४ हजार ८ सय ११ मतदाता थिए। पाँच वर्ष अवधिमा ५७ हजार नयाँ मतदाता थपिएका हुन्। २०७८ माघ २४ सम्म संकलित नामावली अनुसार २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। ‘मतदाता नामावली संकलन सकियो । अब फोटोसहितको नामावली संकलन हुदैन्,’ उनको भनाई थियो ।  

२०७४ पछिको स्थानीय चुनावमा कास्कीको अन्नपूर्ण गाँउपालिकामा ४ हजार ७ सय ९५ जना थपिएका छन्। २०७४ मा १५ हजार ५ सय ६९ रहेको तथ्यांक थियो। हाल २० हजार ३ सय ६४ मतदाता रहेको निर्वाचन कार्यालयले उल्लेख गरेको छ। २०७४ कै प्रतिनिधि सभाको निर्वाचन भन्दा अब हुने प्रतिनिधि तथा प्रदेशको चुनावको लागि २ हजार ६ सय ९७ जना नयाँ मतदाता थपिएका छन्। प्रतिनिधि सभामा पाँचवर्ष अघि १७ हजार ६६७ मतदाता रहेको थियो।  

पोखरा महानगरपालिकामा ३३ वटा वडा छन्। ३३ वडाको मतादाता नामावली अनुसार यो पाँचवर्षको अवधिमा ३९ हजार ६ सय ३८ मतदाता थपिएका छ् । २०७४ को स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मतदाता संख्या १ लाख ६८ हजार ६७ रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराको तथ्यांकले प्रष्टयाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि समेत मतदाता संख्या बढेका छन्। प्रदेश एवं प्रतिनिधि सभाको निर्वाचनको लागि मतदाता अझ बढ्ने सम्भावना रहन्छ।  

कास्कीको माछापुच्छ«े गाँउपालिकाको मतादाता नामावली तथ्यांक हेर्दा ४ हजार १ सय ६७ जना थप भएका छन्। सूचना अधिकारी न्यौपानेका अनुसार २०७४ को स्थानीय चुनावमा १६ हजार ३ सय १ मतदाता रहेकोमा पाँचवर्षपछि संकलित तथ्यांक अनुुसार २० हजार ४ सय ६८ मतदाता पुगेका छन्। अघिल्लो स्थानीय चुनावको तुलनामा मादी गाउँपालिकामा पनि ५ हजार २ सय मतदाता थपिएका छन्। १३ हजार ५ सय ५९ रहेको तथ्यांक २०७८ मा आईपुग्दा बढेर १८ हजार ७ सय ५९ रहेको तथ्यांकले देखाएको छ।  

रुपा गाँउपालिकामा भने केवल २ हजार ३ सय २९ मतदाता थपिएका छन्। २०७४ को स्थानीय चुनावमा ११ हजार ३ सय १५ मतदाता रहेका थिए। माघ २४ गतेसम्म संकलित तथ्यांक अनुसार १४ हजार ६ सय ४४ पुगेका छन्। २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनामा २ लाख ५५ हजार४ सय ५२ मतदाता रहेको थिए। २०७८ को माघ २४ सम्म संकलित नामावली अनुसार २६ हजार ४ सय ८८ नयाँ मतदाता थपिएका छन्। 

प्रकाशित: २ फाल्गुन २०७८ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App