१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सदरमुकामसँग जोडिँदै उत्तरी गोरखा, माछा खोलाबाट बस चल्न सुरु

माछाखोलामा बस लैजाने चालकलाई खुसी भएर खादा लगाईदिँदै एक सय चार वर्षिया वृद्धा।तस्विर: नागरिक

धार्चे गाउँपालिकाकाको केन्द्र एवं उत्तरी गोरखा जोड्ने नाका माछाखोलाबाट बस सेवा सुरु भएको छ। दरौँदी यातायात सेवा प्राली गोरखाले आईतवारदेखि सेवा सुरु गरेको हो। गोरखादेखि ६८ किलोमिटर टाढा रहेको मछाखोला सम्म नियमित बस चल्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।

गाउँपालिका अध्यक्ष गुरुङले रिबन काटेर बस सेवा सुभारम्भ गरेका हुन्। ग १ ख ९४४० नम्बरको बस माछाखोलाबाट आईतवार बिहान ८ बजे गोरखाको लागि छुटेको दरौँदी यातायात सेवा प्रालीका कोषाध्यक्ष शरण गुरुङले बताए।  

‘यस अघि बस संचालन गर्न गाउँपालिकाबासीको माग थियो’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘नेपाली सेनाले खोलेको सडक भएकाले हामीलाई तत्काल बस चलाउन समस्या थियो।’ जिल्ला प्रशासन, नेपाली सेना सँग समन्वय गरेर गाउँपालिका र दरौँदी यातायात सेवा प्रालीको समन्वयमा बस सेवा सुरु गरिएको उनले बताए।  

बस संचालन हुनु अघि माछाखोलादेखि जिप चल्थ्यो। जिपले महँगो भाडा असुल्ने गरेको, १२ किलोमिटरको दुरीमा पाँच सय रुपैयाँ सम्म भाडा लिएको गुनासो यात्रुको थियो। बस नचल्दा जिप चढ्नुपर्ने बाध्यता यात्रुको थियो। ‘जिपबाट ठगिएको गुनासो पनि धेरै आएको थियो’ अध्यक्ष गुरुङले भने ‘बस चल्ने सडक भएकाले हामीले सेवा दिन यातायात प्रालीलाई भनेका थियौँ।’

गोरखादेखि माछाखोला सम्म यात्रुले बस भाडा पाँच सय ५० तिर्नुपर्छ। डिलक्स बसमा भने यो भन्दा २० प्रतिशत बढी पर्ने दरौँदी यातायात सेवा प्रालीका अध्यक्ष नारायण खत्रीले बताए। बिहान माछाखोलादेखि गोरखा सम्म गाडी छुट्नेछ भने दिउँसो माछाखोलादेखि आरुघाट सम्म गाडी छुट्नेछ। राती माछाखोला काठमाण्डौँका लागि दुईवटा बस छुट्ने अध्यक्ष खत्रीले बताए। ‘केहीदिन रात्री बस एउटा छुट्छ’ उनले भने ‘अर्को एउटा बस रात्रीसेवाका लागि थप्ने तयारमा छौँ।’

गोरखादेखि आरुघाट ४२ किलोमिटर, आरुघाट सोती १२ र सोतीदेखि माछाखोला १२ किलोमिटर दुरीमा पर्छ। सबै प्रक्रिया पुरा गरी सवारी संचालन गर्न मिल्ने सडक भएकाले अनुगमन गरेरसेवा थलिएको अध्यक्ष खत्रीले बताए। हावाडाँडा देखि माछाखोला सम्मको करिब ११ किलोमिटर सडक नेपाली सेनाले ट्रयाक खोलेको हो। अहिले सिर्दिबास सम्म ट्रयाक खुलेको छ भने दोभानसम्म जिपमा सहजै यात्र गर्न सकिने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। सिर्दिबास सम्म सडक सहज भयो भने मात्रै गोरखाको सबै पालिका सडक सञ्जालमा जोडिनेछ। सिर्दिबास हुँर्दै लार्के सम्म नेपाली सेनाले अहिले ट्र¥याक निर्माण गरिरहेको छ। उक्त सडक तिब्बत जोड्ने योजना सरकारको छ। भौगोलिक बिकटताका कारण काम भने सुस्त छ।  

माछाखोलाका स्थानीय, राजनीतिक दलका नेता, समाजिक अगुवाहरु उक्त कार्यक्रममा उपस्थित थिए। एक सय चार वर्ष पुर्नी गुरुङले चालक रामशरण गोतामे, दरौँदी यातायात प्रालीका सदस्यहरुलाई फुल माला, अबिर लगाईदिएकी थिईन। माछाखोलाबाट बस सेवा सुरु भएसँगै धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिकाका स्थानीयलाई आउजाउ गर्न सजिलो हुनेछ। खाद्यान्न ढुवानी लगायत काममा पनि सहज हुने भन्दै त्यस क्षेत्रका स्थानीय खुसी छन्।

प्रकाशित: १ फाल्गुन २०७८ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App