२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मौलापुर मधानी महोत्सवलाई भव्य र सभ्य बनाउने तयारी

रौतहटको मौलापुरमा फागुन १७ महाशिवरात्रीको अवसरमा आयोजना हुने तेस्रो मधानी महोत्सवलाई भव्य बनाउने तयारी नगरपालिकाले गरेको छ।

मौलापुर नगर प्रमुख रिनाकुमारी साहले शनिबार पुरातात्विक महादेव मन्दिर परिसर पतौरामा पत्रकार सम्मेलन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा चर्चित भोजपुरी नायक र गायक खेसारीलाल यादवको विशेष उपस्थितिमा मधानी महोत्सवलाई भव्य बनाउने तैयारी नगरपालिकाले गरेको बताएकी छिन्।  

मधानी महोत्सवको आन्तरिक तथा प्राविधिक तयारी सुरु भइसकेको नगर प्रमुख साहले बताइन्।नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा परेको मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर सिम्रौनगढमा स्थापित कर्नाट राज्यभन्दा पनि पुरानो रहेको अवशेषको अध्ययनले देखाएको छ।

पुरातात्विक महादेव मन्दिरभन्दा करिब एक सय मिटर उत्तरमा हालै मन्दिरको अर्को संरचना पनि धरतीभित्र फेला परेको र पुरातत्व विभागले हालै उत्खनन गरेको छ। पतौराको पुरातात्विक महादेव मन्दिर र आसपासको क्षेत्रमा लिच्छवि कालकै अवशेष हुन सक्ने अनुमान गरिएको छ।

पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसारको साथै पर्यटकीय गतिविधि बढाउनको लागि मौलापुर नगरपालिकाले २०७६ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भन्डारीको प्रमुख आतिथ्यमा मधानी महोत्सवको सुरुआत गरेको थियो।

नेकपाका चर्चित विकासवादी नेता प्रभु साहको अग्रसरतामा मधानी महायज्ञ हुने गरेको छ। मधानी महोत्सवको अवसरमा मौलापुर स्मार्ट सिटीको भूमिपूजन, अष्टयाम यज्ञ, शिवचर्चाका साथै नेपाली र भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

मधानी महोत्सवमा लाग्ने मेलामा सबै किसिमका पसल, व्यवसाय, खेलतमासाका आयोजकहरुबाट कुनै किसिमको कर नलिइने भएकोले व्यापारीहरुको पनि आकर्षण बढेको छ। पुरातात्विक महादेव मन्दिरका पूजारी मोसाफिर साहले फर्निचर मेला लगाउनको लागि फर्निचर व्यावसायीहरुले जग्गा र सुरक्षाको माग गरिरहेको बताए पछि निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आवश्यकता अनुसार जमिन र सुरक्षा नगरपालिकाले उपलब्ध गराउने बताएका छन्।  

मधानी महायज्ञमा नेपाल र भारतका करिब एक सय साधुसन्तहरुको पनि सहभागिता रहने पूजारी साहको भनाइ छ। पत्रकार सम्मेलनमा नगर उपप्रमुख गौरीशंकर साह, नगर शिक्षा शाखा प्रमुख चन्देश्वर साह, बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश साह, नेकपा एमाले रौतहट अध्यक्ष त्रिभुवन साहसहित विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। 

प्रकाशित: २९ माघ २०७८ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App