१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

परिवारबाटै उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

वडाध्यक्षलाई निलम्बन गरिएको वनगाड कुपिण्डे नगरपालिका–१ का वडा कार्यालय। तस्बिरः गोविन्द/नागरिक

परिवारभित्र र आफन्तलाई राखेर उपभोक्ता समिति बनाएपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीलाई अख्तियारले छानविन गर्न सहज होस् भनेर निलम्बन गरिएको छ। नगरपालिका नगर प्रमुख गोविन्द पुनले अख्तियारले कार्बाहीका लागि पत्र पठाएपछि छानविनका लागि सहज होस् भनेर वडाध्यक्ष शान्तकुमार यरीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेश सरकारबाट तट बन्धन, तारजालीको लागि खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यान मार्फत २५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयनका लागि नगरपालिकामा पत्र आएको थियो। पत्र सुटुक्क राखेर वडाध्यक्ष यरीले एकैपरिवार र आफन्तलाई उपभोक्ता समितिमा गठन गरेर नगरपालिकामा पेश गरेको थिए। नगरपालिकामा नगर प्रमुख हुँदाहुँदै उपमेयर मञ्जु यरीले सम्झौताका लागि आफूखुसी सिफारिस गरेको अख्तियारमा उजुरीमा उल्लेख छ।

नगरपालिका श्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्षमा वडाध्यक्षको हुर्मत यरी (भाई), सचिवमा रिता शाही (भान्जे बुहारी), कोषाध्यक्षमा मेघराज बुढा (ज्वाई) सदस्यहरुमा भरतकुमार यरी (भतिज), निमकुमारी बुढा (भान्जी बुहारी) शिवा यरी (छोरी) र महाविर कामी रहेका छन्। वडाध्यक्षका उपमेयर बुहारी हुन्। यसरी परिवारभित्रबाट उपभोक्ता समिति बनाएपछि विवाद बढेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा उपमेयर र वडाध्यक्ष मिलेर गोप्य एउटै परिवार र आफन्त मिलेर उपभोक्ता समिति बनाएको र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। सोही अनुसार आयोगले २०७८ असोज ७ गतेको निर्णय अनुसार नगरपालिका प्रमुखलाई कार्बाहीका लागि पत्र पठाइएको थियो। आयोगले आयोग नियमावली, २०५९ को नियम ९ बमोजिम आवश्यक कार्बाहीका लागि नगरपालिकालाई अख्तियारले पत्र पठाएपछि निलम्बन गरिएको नगरपालिकाले जनाएको छ। आयोगको पत्रलाई आधार मानेर अनुसन्धानका सहज होस् भनेर वडाध्यक्षलाई निलम्बन गरिएको नगर प्रमुख गोविन्द पुनले बताए।

उपभोक्ता समिति गठन हुँदा उपप्रमुख मञ्जु यरी र वडाध्यक्ष शान्तकुमार यरीले कसैलाई खवर नगरि गोप्य रुपमा एकाघरका र गाउँका नाता पर्ने व्यक्तिहरु राखेर समिति बनाएर पठाएका थिए। जग्गा नभएको व्यक्तिलाई सचिव बनाएको आरोप स्थानीयको छ। उपप्रमुखले आफूलाई नभएको अधिकारको प्रयोग गरेर नगर प्रमुख हुँदाहुँदै लुकाई छिपाई उपभोक्ता समितिलाई काम गर्न दिन ठिक भएकाले सम्झौता गरिदिनका लागि खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा सिफारिस गरेको उल्लेख छ।

वडाध्यक्ष यरी निलम्बन भईसकेपछि वडाका महत्वपूर्ण कागजात र हाजिरी रजिष्टर समेत आफ्नो घरमा लिएको नगरपालिका श्रोतले बतायो। आफ्नो सर्पोट नगरेको भन्दै १९ गतेदेखी कर्मचारीलाई हाजिर गर्न वडाअध्यक्षले नदिएको नगरपालिकाका जनप्रतिनिधिहरुले बताए । उपमेयर माओवादी केन्द्र र वडाध्यक्ष नेकपा एकीकृत समाजवादीका हुन्। अहिले नगर कार्यपालिकाको बैंठकमा गठबन्धनबाट सहभागी नहुने गरेका छन्। नगर प्रमुख पुन नेकपा एमालेबाट निर्वाचित हुन्। आफूलाई बदनाम गर्न राजनीति प्रतिशोधका आधारमा हल्ला गरेको वडाध्यक्ष शान्तकुमार यरीले बताए।

‘मेरो पद फाल्न अख्तियारमा मुद्दा हालेर सकिन्छ कि भनेर लागेका हुन्।’ यरिले भने, ‘उच्च अदालतमा मुद्दा हालेका छु म २७ बाट कार्यालयमा काम गर्नेछु।’

प्रकाशित: २४ माघ २०७८ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App