चोरी भएको कार र लागुऔषधसहित ३ जनालाई मोरङको सुन्दरहरैँचाबाट प्रहरीले पक्राउ गरेको छ।
सुन्दरहरैँचा नगरपालिका–७ स्थित विश्वकर्मा मन्दिरबाट बेलबारी नगरपालिका–३ का ३६ वर्षीय सुरज गुरुङ, केराबारी गाउँपालिका–१० का २५ वर्षीय तेजकुमार मगर र केराबारी–७ का २६ वर्षीय नगेन्द्र लिम्बूलाई लागुऔषध र चोरी कारकोसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मोरङको बेलबारी नगरपालिका–१ स्थित सिनेमा हल अगाडि पार्किङ गरिएको कार चोरी भएको थियो।
बेलबारी–३ का ४३ वर्षीय रिक्तमान गुरुङले सिनेमा हल अगाडि पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको भनेर खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएका थिए।
खोजतलास गर्ने क्रममा विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो। कारमा रहेका ३ जनालाई चेक गर्ने क्रममा कारबाट लागुऔषध डाइजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुल गरी जम्मा ४० एम्पुल बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ माघ २०७८ ११:४८ सोमबार