३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

हत्या आरोपित ११ वर्षपछि पक्राउ

हत्या आरोपमा पक्राउ परेका सौभाग्य मल्ल। तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय बाँके।

अपहरण गरी बन्धक बनाइ निर्मम हत्या गरेर फरार भएका एकजना ११ वर्षपछि पक्राउ परेका छन्। नेपालगन्ज–१, धम्बोझीका २१ वर्षीय हिमलाल बुढालाई अपहरण गरी कोहलपुरमा बन्धक बनाइ हत्या गरेको आरोपमा सोही उपमहानगरपालिका–१०, भृकुटी नगरका ३० वर्षीय सौभाग्य मल्ल पक्राउ परेका हुन्।

बुढाको हत्या भएको ११ वर्षपछि आरोपित मल्ल गोरखाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। ‘हत्या लगत्तै भारतमा गएका रहेछन्, घुम्न गोरखा पुगेको बेला त्यहाँको प्रहरीले पक्राउ गरेको हो,’ उनले भने, ‘पक्राउ परेका मल्ललाई लिन हाम्रो टोली गोरखा गएको छ। त्यहाँबाट बाँके ल्याइँदैछ।’ पक्राउ परेका मल्लसहितले २०६७ साल माघ ३ गते धम्बोझीबाट बुढाको अपहरण गरेर कोहलपुरको एउटा रित्तो घरमा बन्धक बनाएर परिवारलाई फिरौती रकम माग गरेका थिए।  

अपहरणकारीले ३५ लाख रुपैयाँ परिवारसँग फिरौती माग गरिरहेका बेला बुढाको हत्या गरिएको अवस्थामा शव कोहलपुरमा भेटिएको थियो। प्रहरी अनुसन्धानबाट पक्राउ परेका मल्लसहितका अपहरणकारीले पोल खुल्ने भएपछि बुढाको तारले घाँटी कसेर हत्या गरेका थिए। हत्यापछि आगोले पूरै अनुहार जलाई मल्ल फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुधन न्यौपानेले जानकारी दिए। उक्त घटनामा संलग्नहरुमध्ये एकजनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो। उनी केही दिनअघि दैलेख कारागारबाट कैद भुक्तानी गरेर रिहासमेत भइसकेको डीएसपी न्यौपानेले बताए।  

घटनालगत्तै पक्राउ परेका अर्का एकजनालाई भने अदालतले सोबेला नै छोडेको बताइएको छ। गोरखामा पक्राउ परेका सौभाग्य मल्लको मुद्दा भने अदालतले मुलतबीमा राखेको छ। ‘घटना ११ वर्ष पुरानो भएकोले यसबारे खासै बुझ्न पाइएको छैन,’ डीएसपी न्यौपानेले भने, ‘हाम्रो टोली पक्राउ परेका मल्ललाई लिन गोरखा पुगिसकेको छ। मल्ललाई यहाँ ल्याएपछि अन्य को–को संग्लन थिए भन्ने खुल्ला।’ पक्राउ परेका मल्ललाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको छ।

प्रकाशित: २३ माघ २०७८ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App