४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाईँदै

कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ। बिहीवार देखि परेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ५५ जना स्थानीय सम्पर्कविहिन छन्। उनीहरु संग फोन सम्पर्क हुन सकेको छैन। स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्री र ऐडी ओढारमा बसेका छन्। उनीहरु सहजै रुपमा हिउँ छिचोलेर घर फर्कने अवस्था छैन।  

स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका जुम्ली नागरिकको उद्धारको लागि कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले हिउँमा फसेका सबैको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताए। उनका अनुसार हेलिकप्टरमा तत्कालका लागि आवश्यक खाद्यन्न समेत पठाउन थालिएको छ।

अहिले नेपाली सेनाको ठुलो हेलिकप्टर छैन। सानो हेलिकप्टर पठाउन लागिएको उनले बताए। मुख्यमन्त्री शाहीले भने,‘त्यो क्षेत्रमा हिउँ पाँच फिट सम्म परेको भन्ने सुचना प्राप्त भएको छ। हेलि अवतरण गर्न सकिने अवस्था हुन सक्छ। भोकबाट बच्न तत्काल उनीहरुलाई खाद्यन्न खसाल्ने गरी हेलिकप्टर पठाउन थालिएको छ। ’

हेलिकप्टर सिंधै हिउँमा फसेका नागरिक बसेको क्षेत्रतिर जानेछ। आन्तरिक मामिला तथा कानुनमन्त्रालयका निमित्त सचिव निधिराज न्यौपाने एक जना स्थानीय सहित आवश्यक खानेकुरा सहित हेलि उड्न थालेको बताउँछन्। तातोपानी ८ का सुरतबहादुर शाही चिउरा,दालमोठ,चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा आउन लागेका हुन्।  पाटन क्षेत्र तातोपानी ८ टोप्ला गाउँ देखि एकदिनको पैदल दुरीमा पर्छ। जडिबुटी संकलन गर्न गएका स्थानीय पाटनको गाग्री,एडि,खोटी सल्ला र ध्वनी ओढारमा फसेको स्थानीय बताउँछन्।  

उनीहरु सेतक चिनी कोर्न पाटन गएका थिए। चिसोले कठ्यांग्रिएर स्थानीय जैकुरा शाही र तातोपानी ७ बारागाउँका मुनबहादुर रावतको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरुको उद्धार कार्य सुरु भएको बताईन्। 

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रागी त्यहाँ पुर्याउन असंभव भएको बताए। उनले भने,‘सबै मिलेर उनीहरुलाई बचाउनु प्रमुख काम हो। सबैले राहत तथा उद्धार कार्यमा जुट्नु पर्ने देखिन्छ। स्थानीय सरकार तयारी अवस्थामा रहेको छ।’

मुख्यमन्त्री शाहीका अनुसार हेलिकोप्टर जुम्ला खलंगा अवतरण गर्ने छैन। जाजरकोट र जुम्लाको सिमामा रहेको ग्राग्री पाटनमा जुनीचाँदे गाउपालिका भएर सिधै पठाउने तयारी भइरहेको छ। उनले हिउँमा फसेका सबैको उद्धार तथा राहतका लागि कर्णाली सरकार तयारी अवस्थामा रहेको बताए। गाउँका ५५ जना हिउँमा फसेपछि टोप्ला गाउँ चिन्तामा छ।

प्रकाशित: २३ माघ २०७८ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App