होचा सागर सुनार (विश्वकर्मा)ले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी गरेका छन्। केवल ३ फुट ७ ईञ्च मात्र उचाई भएका २८ वर्षीय सागरले सर्वोच्च शिखर सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारी गरेका हुन्। सागर होचासँगै फरक क्षमताका पनि छन्। जन्मजात अपाङ्गता भएका उनको खुट्टा सामान्य मानिसको भन्दा फरक छ। अर्थात उनको खुट्टा बाङ्गो छ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ सैमराङस्थित तेसा गाउँ निवासी बुबा दुर्गबहादुर सुनार र आमा कमला सुनारको कोखबाट जन्म लिएका सागरको जन्म वि.स.२०५० सालमा भएको थियो। पाँच दाजुभाई मध्ये कान्छा छोराका रुपमा जन्मिएका सागरको एक दिदी र एक बहिनी छन्।
आगामी वैशाख भित्रै सगरमाथा चढ्ने तयारी गरेका सागर वैशाखको पहिलो साता नै त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेका छन्। आफू १८ पटक सगरमाथा चढेर ९ फरक/फरक विधामा विश्व रेकर्ड राख्न सफल पेम्बा दोर्जे शेर्पाको टोलीसँग सगरमाथा चढ्ने तयारीमा रहेको सागरले बताएका छन्। जुन टोलीमा अधिकृत विष्णु भुसालपनि सामेल रहनेछन्। भुसाल भने आणविक भट्टीका कारण भइरहेको जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जनचेतना जगाउँदै आणविक भट्टीलगायतमा नेपालजस्ता सरोकार नराख्ने देशहरुलाई दिइनुपर्ने क्षेतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय रुपमा सन्देश दिन वकीलले लगाउने कालोकोट लगाएर राष्ट्रिय झण्डा फहराउन सगरमाथा चढ्न लागेको बताइएको छ।
सगरमाथा चढ्नका लागि वैशाख पहिलो साता त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेका सागरले पूर्व तयारी स्वरुप दोलखाको ५ हजार ९ सय २५ मिटर अग्लो ‘रामदुङ हिमाल’ आरोहण गरिसकेका छन्। सगरमाथा चढ्नु अघि ६ हजार बराबरको साना हिमाल चढ्नुपर्ने प्रावधान अनुरुप उनले अक्टोबर महिनामा उक्त हिमाल चढेका हुन्। १८ दिनको प्याकेज बनाएर दोलखा गएका उनले तीन दिन लगाएर उक्त हिमाल आरोहण गरेका थिए।
गाउँमै कक्षा ५ सम्म मात्र अध्ययन गरेका सागर पछिल्लो समय काईंला दाईसँग काठमाडौं बस्दै आएका थिए। सागरले आफ्नी दिदी उर्मिला सुनारको प्रेरणाले आफू सगरमाथा चढ्न लागेको बताए। मेरी दिदी उर्मिला र सर्बाधिक विश्व रेकर्ड राख्न सफल सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाकी श्रीमती कान्छीमाया शेर्पा साथी/साथी हुन्,‘ उनले भने, ‘एक दिन कुरा कुरामा पेम्बा दाईको श्रीमती कान्छीमायाले उर्मिला दिदीलाई भाईलाई सगरमाथा चढाउन पाए विश्व रेकर्ड रहने बताउनु भएछ, त्यसपछि दिदीलेपनि उत्साह र प्रेरणा जगाएपछि म सगरमाथा चढ्ने निर्णयमा पुगेको हुँ।’ पछि अधिवक्ता विष्णु भुसाललेपनि सगरमाथा चढ्न थप प्रेरणा दिएका उनले बताए। ‘संसारमा असम्भव भन्ने कुरा केहिपनि छैन, प्रयास भने गर्नुपर्छ भन्दै विष्णु दाईले हौस्याउनु भो, त्यसपछि मलाईपनि सगरमाथा चढ्न सक्छु भन्ने आँट र साहस् पलायो’, उनले भने।
सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने योजनामा रहेका सागरलाई त्यहाँबाट विश्व जगतलाई नया सन्देश दिने मन छ। उनले भने,‘हामी होचा र फरक क्षमताकालाई समाजले नराम्रो नजरले हेर्छ, हेला र हेयको दृष्टिले हेर्छ र हेप्छ, म सपाङ्गलेसमेत चढ्न नसक्ने सगरमाथा चढेर त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु।’ साथै जलवायु परिवर्तनका लागिपनि सन्देश दिने आफ्नो योजना रहेको उनले बताए। उनले सबैको माया, ममता, साथ र सहयोग मिलिरहेको भन्दै भने, ‘यहि माया, साथ, सहयोग र प्रेरणाले मलाई सगरमाथा चढ्न हुटहुटी पैदा गरेको छ, यसमा म सफल भएरै छाड्छु’, उनले भने।
सागरको सगरमाथा चढ्ने योजनामा आर्थिक अवस्था बाधक बन्नसक्छ। सगरमाथा चढ्न १ करोड ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ। सामान्य आर्थिक अवस्था भएका सागरसँग उक्त खर्च धान्ने आर्थिक अवस्था छैन। कमजोर आर्थिक अवस्था भएपनि सगरमाथा चढेरै छाड्ने दृढता बोकेका उनलाई उनको जन्मस्थल मादी गाउँपालिकाले संस्थागत रुपमा सहयोग गर्ने भएको छ। जसका लागि मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा १२५ सदस्यीय ‘सागर सुनार सगरमाथा आरोहण सहयोग समिति’ गठन गरिएको छ। समितिमा गाउँपालिकाका सबै जनप्रतिनिधि, स्थानीय संघसंस्था र लब्ध प्रतिष्ठित व्यक्तिहरु रहेका छन्। समितिले सागरलाई सगरमाथा चढ्न आवश्यक पर्ने सम्पूर्ण खर्च संकलन गर्नेदेखि आवश्यक उपकरणलगायतका सामग्री जुटाउने समितिका संयोजक बेदबहादुर गुरुङ (श्याम)ले बताए।
सागरलाई सगरमाथा चढाउने जिम्मा पाएका पेम्बा दोर्जे शेर्पाले अबको दुई महिना भित्रमा सगरमाथा चढ्ने तयारी पूरा गरिसक्नुपर्ने बताए। ‘अबको दुई महिना भित्रमा भएन भने सम्भव छैन, त्यसैले जतिसक्दो चाँडो तयारी सक्नुपर्छ’, उनले भने।
सागरसँगै सगरमाथा चढ्ने तयारीमा रहेका अधिवक्ता विष्णु भुसालले कोरोनाका कारण यस वर्ष भीड कम हुने भएकाले सगरमाथा चढ्न सजिलो हुने बताए। ‘भीड कम हुँदा पक्कैपनि सजिलो हुन्छ यसपाली, अर्को वर्ष त भीड बढ्ने भएकाले थप च्यालेञ्जिङ हुनसक्छ’, उनले भने।
प्रकाशित: २१ माघ २०७८ १३:४७ शुक्रबार