झिसमिसे रात हुनासाथ नेपालगन्जस्थित वाटरपार्कको मूल गेटमै केही युवती लामबद्ध हुन्छन्। चिसो सिरेटोमा मध्यरातसम्म बस्ने उनीहरू ग्राहकको प्रतीक्षामा समय बिताउँछन्।
उनीहरूले सोचेजस्तै मान्छे देखे इसारा गर्छन् र भन्छन्, ‘जाने हो?’ यही प्रश्न नेपालगन्जको न्युरोड, सुर्खेत रोड, राँझालगायतका स्थानमा पनि सोधिन्छ। नेपालगन्जभन्दा पर रहेको कोहलपुर पनि त्यसबाट अछुतो छैन। चप्परगौडी, कोहलपुरलगायत क्षेत्रमा पनि पछिल्लो समय यौन व्यवसाय निर्वाध सञ्चालन भइरहेका छन्।
केही होटेलमा पेसेवर रूपमै युवतीहरू राखिएका छन्। केही भने आफैं सडकमा आउँछन्। युवतीहरू होटेलमा राखेर केही होटेल व्यवसायीहरूरु कारोबार गर्ने गरेका छन्। बेलाबेलामा विभिन्न होटलबाट यौन व्यवसायी पक्राउ नपरेका भने होइनन्।
प्रहरीको हिरासतसम्म पुगेका उनीहरू विभिन्न बहानमा हिरासतमुक्त हुन्छन्। यसको फलस्वरूप यौन व्यवसायले अझ बढी प्रश्रय पाइरहेको छ। प्रहरीले पनि प्रमाण नपुगेको भन्दै उनीहरूलाई थुनामुक्त गर्छ। पक्राउ गर्दा होटेलबाट रंगे हात युवायुवती पक्राउ भनेर प्रचारबाजी गर्ने प्रहरीले पछि रंगेहात पक्राउको आफ्नै प्रमाणलाई कमजोर पार्दै भन्छ, ‘उनीहरूबीच अवैध सम्बन्ध र क्रियाकलाप भएको पुष्टि भएन ।’ यसखालको प्रहरी अनुसन्धानले पनि यौन व्यवसायीको मनोबल अझ उच्च भएको कतिपयको भनाइ छ ।
नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौडीलगायतका क्षेत्रमा करिब एक सयभन्दा धेरै यौन व्यवसायी सक्रिय छन्। यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी निकायहरूका अनुसार नेपालगन्जमा यो संख्याको ५० प्रतिशत यौन व्यवसायी छन्। एकयौन व्यवसायी बराबर दुईदेखि पाँचजनासम्म ग्राहक सम्पर्कमा आउने गरेको बताइएको छ। पतिबाट हेपिएका, गरिबीले थलिएका, बालबच्चा पढाउन नसकी समस्यामा परेका महिला यस क्षेत्रमा बाध्य भएर संलग्न हुने गरका छन्। यौन क्षेत्रमा लाग्नेहरू १६ वर्षदेखि ६० वर्षसम्मका पाइएको छ।
उनीहरूले पाँच सयदेखि माथि रूपैयाँ लिन्छन्। यही यौन व्यवसाय नै जीवन निर्वाहको माध्यम बनेको उनीहरूको भनाइ छ। नेपालगन्ज, कोहलपुरजस्ता उदाउँदा सहरमा अँध्यारो व्यापार (यौन व्यवसाय) हुँदा नकारात्मक सन्देश जाने सर्वसाधारणको भनाइ छ।
महिलामा यौन रोग
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको अनुमानमा यौन क्षेत्रमा लागेका महिलामध्ये ७० देखि ८० प्रतिशत महिलामा यौनरोग लागेको हुन सक्ने आँकलन गरिएको छ। कन्डम प्रयोग गर्दा एड्स सर्ने सम्भावना नभए पनि यौनांगमा रहने गरेका मुसा र जनैखटिराजस्ता यौनरोग भने कन्डम प्रयोगबाट पनि सर्ने सम्भावना रहन्छ।
‘हामीले यौन व्यवसायीलाई सुरक्षित यौनसम्पर्कका लागि प्रोत्साहित गर्ने गरेका छौं। यसका लागि हामीले विभिन्न किसिमका चेतनाका कार्यक्रम सुरु गरेका छौं,’ एक साथी शिक्षकले भनिन्, ‘यौन व्यवसायमा संलग्न महिला दिदीबहिनीको बाध्यता पनि बुझ्नुपर्छ। उनीहरूलाई घृणा गरेर, दुःख दिएर यो समस्याको समाधान हुँदैन। उनीहरूलाई वैकल्पिक आयआर्जनको काम दिन सक्यौं भने उनीहरू यो पेसा छोड्न तयार हुन्छन् ।’ यौन व्यवसायीलाई चेतना नजगाई यस क्षेत्रलाई वैधता दिन नहुने तर्क उनको छ। ‘म यो क्षेत्रलाई वैधता दिनुभन्दा पनि यस क्षेत्रमा संलग्न यौन व्यवसायीलाई जागरुक बनाउनुपर्छ भन्ने पक्षमा छु,’ उनी भन्छिन्।
‘राज्यबाट हेपियौं’
उता यौन व्यवसायीहरू भने आफूहरू राज्यबाटै हपिएको बताउँछन्। आफ्ना कुराहरू कसैले नसुन्ने र सबैले घृणा गर्ने गरेको गुनासो उनीहरूको छ। ‘हामीसँग सम्पर्क गर्दा उनीहरूले हामीलाई रानी ठान्छन् तर बाहिर गएर भने घृणा गर्छन्। के हामी मान्छे होइनौं?’ एक यौन व्यवसायीले यसरी दुखेसो पोखिन्। यौन व्यवसायीहरू राज्यले आफूहरूलाई आर्थिकोपार्जनमा लगाए यो पेसा छाड्ने बताउँछन्। आफ्नो रहर नभई बाध्यता भएको भन्दै उनीहरूले आफूलाई घृणा नभई मायामा साथ परिवार पालनपोषण हुने गरेर आर्थिकोपार्जनमा लगाउनुपर्ने बताएका छन्।
प्रकाशित: २० माघ २०७८ ०५:४८ बिहीबार