२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

फाइल तस्बिर

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधन बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन्।

शुक्रबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यलयका प्रमुखको बैठकले माघ १४ गते रातिदेखि लागू हुने गरेर सार्वजनिक सवारीसाधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिए। 

‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।

सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारीसाधनको ढोका तथा सवारीसाधनभित्र यात्रुले प्रयोग गर्नेगरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ। त्यस्तै चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनुपर्नेछ। कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ भने मास्क नलगाई आउने यात्रुलाई सवारीसाधनमा प्रवेश नदिन समेत आदेशमा भनिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले औषधि तथा स्वास्थ्य सामग्री बोकेको सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास तथा पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपक्षीका दाना तथा कृषि पशुजन्य सामग्री बोक्ने सवारीसाधन (चालक र सहचालकमात्र) र निर्माण सामग्री बोक्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने जनाएको थियो। परिचय पत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारी, बैंक, बिमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले सवारीसाधन प्रयोग गर्न पाउनेछन्। त्यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास/पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सरकारी र कूटनीतिक नियोगका सवारीसाधन पनि सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

प्रकाशित: १५ माघ २०७८ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App