५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रियसभाको उतारचढावमय चार वर्ष

राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि एक तिहाइ नयाँ सांसद आएका छन् भने चार वर्षे कार्यकाल पूरा हुन फागुन २० गतेसम्म जानुपर्ने हुन्छ। तर, चार वर्षे कार्यकाल सकिने सांसदका लागि नयाँ सांसदको निर्वाचन भने बुधबार सम्पन्न भयो ।

निर्वाचनमा एमाले सात सिट गुमाएर १६ सिट मात्र खुम्चिएको छ। यसअघि २७ सिट हुँदै २३ सिट रहेको एमाले १६ सिटमा सीमित हुँदा सांसदबाट पार्टीले लिने लेबीमा समेत क्षति पुगेको छ। कांग्रेसले भने गठबन्धनबाट निर्वाचन लडे पनि आफ्नो सुरुको १३ सिट पुर्‍याउन सकेको छैन। चार सिटमा झरेको कांग्रेस ६ सिटमा निर्वाचित भएपछि १० सिटमा भने उक्लिको छ। माओवादी केन्द्रको १५ सिट पुगेको छ। नेकपा एकीकृत समाजवादीको पनि आठ सिट भएको छ।

जनता समाजवादी पार्टी (जसपा) का तीन सिट पाएको छ। जसमा प्रमिला कुमारी, मृगेन्द्रकुमार सिंह यादव र नवनिर्वाचित खलिद सिद्धिकीसहित तीन सांसद हुने भएका छन्। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट यसपटक कसैले नजितेपछि सो पार्टीमा एक मात्र सांसद शेखरकुमार सिंह रहेका छन्। राष्ट्रिय जनमोर्चाबाट पनि यसपटक राष्ट्रिय सभामा प्रतिनिधित्व हुने भएको छ। गठबन्धनको सहयोगमा सो पार्टीका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन्।

रिक्त हुने मनोनीत सांसदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी छ। दुईजना मनोनीतमध्ये विमला राई पौडेल एमाले समर्थक हुन् भने बामदेव गौतमले भने एमालेमा नरहने भन्दै गत दुई महिनादेखि एमालेलाई लेवि बुझाएका छैनन्। राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा पनि एमालेका आठ सिट खाली हुँदैछन् भने कांग्रेसको चार सिट खाली हुँदैछन्।

माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई र जसपाको एक सिट खाली हुँदैछन्। २०८० सालको फागुन २० पछि सो ठाउँमा कुन पार्टीले कति सिट जित्ने हो त्यो २०७९ मा हुने स्थानीय तह निर्वाचन र प्रदेशसभाको निर्वाचनपछि आउने परिणाम र राजनीतिक दलको गठबन्धनले निर्धारण गर्नेछ।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल सकिएपछि तत्कालीन नेकपाको राष्ट्रियसभामा वर्चस्व थियो। प्रदेश २ बाहेक अरू प्रदेशमा नेकपा एक्लैको स्पष्ट बहुमत थियो। प्रदेश २ मा भने आफ्नो स्पष्ट बहुमत नहुँदा राजपासँग तालमेल गरेर चुनावमा जाने सहमति गरिएको थियो। त्यसैले नेकपाले छानेका उम्मेदवारहरूको जित निश्चित भयो।

चुनाव त एउटा औपचारिकता दिने काम मात्रै भएको थियो। राष्ट्रिय सभाका एक मनोनीत सिट र १८ सिटमा हुने चुनावमा कांग्रेसले एक सिट पनि जित्ने अवस्था भएन। पहिलो पटक एक तिहाइ सदस्य १९ जनाको पदावधि सकिँदा कांग्रेसका सातजना बिदा भए। सातजनालाई बिदा गर्दा कांग्रेसले एक सिटमा पनि जित हात पार्न सकेन।

तत्कालीन समाजवादी पार्टीका दुईजनामध्ये एकजना रामप्रीत पासवान पनि बिदा भए। दुई वर्षे कार्यकालबाट कांग्रेसका सात र समाजवादीका एकजना बिदा हुँदा तत्कालीन नेकपामा आठजनाको कार्यकाल सकियो। तर, निर्वाचनपछि कांग्रेस र जसपाका सिट सबै गुमे र नेकपामा थपिए। तत्कालीन राजपाले भने आफ्नो गुम्न लागेका दुई सिट नेकपासँगको तालमेलबाट पक्का गरेको थियो।

जसमा राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह निर्वाचित भएका थिए। राजपाका रमेशप्रसाद यादव र वृशेष चन्द्रलालको पदावधि सकिएको थियो। जसपाका प्रमिला कुमारी मात्र बाँकी थिइन्।

राष्ट्रियसभामा तत्कालीन नेकपाका ४७, कांग्रेसका ६, राजपाका दुई, समाजवादीको एक र मनोनीत तीनजना रहन पुगेका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट पाएको कांग्रेसलाई चिट्ठा तान्दा समेत घाटा लागेको थियो। १९ जनाले आ–आफ्नो क्लस्टरमा चिट्ठा तान्दा कांग्रेसका सात सांसद दुई वर्षे कार्यकालमा परेका थिए।

जब नेकपा पार्टी नै रहेन एमाले र माओवादी केन्द्र साबिककै पार्टीमा फर्किएपछि एमाले २७ सिटमा झरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद् विघटन गरिएपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बन्दा एमाले कमजोर बन्न पुगेको हो।

प्रकाशित: १४ माघ २०७८ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App