७ वैशाख २०८१ शुक्रबार
समाज

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङलिङमा जनसंख्या बढ्यो, ८ स्थानीय तहको घट्यो

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका बाहेक १० वर्षको अवधिमा ८ वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको छ। २०७८ सालको जनगणना अनुसार ताप्लेजुङमा २०६८ को जनगणनाको तुलनामा ७ हजार १ सय २ जनसंख्या घटेको यस वर्षको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिबेदनले देखाएको छ।

२०६८ सालको जनगणना अनुसार फुङ्लिङ नगरपालिकामा २६ हजार ६ सय २६ जनसंख्या रहेकोमा चालू वर्षको जनगणनामा बढेर २८ हजार ७ सय ८६ पुगेको छ। फुनपामा करिव २ हजार १ सय २६ जनसंख्या बढेको देखिएको छ। ताप्लेजुङमा सबैभन्दा बढी जनसंख्या पाथीभरा याङ्वरक गाउँपालिकाबाट घटेको यस वर्षको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिबेदनले देखाएको छ।

२०६८ सालमा १३ हजार ५ सय ९१ जनासंख्या रहेको त्यहाँ अहिलेको जनसंख्या ११ हजार ७ सय ९७ मा झरेको छ। पाथीभरा याङ्वरकबाट पछिल्लो १० वर्षमा १ हजार ७ सय ९४ जनसंख्या घटेको देखिएको छ। त्यसपछि सिरिजंगा गाउँपालिकाको जनसंख्या घटेको छ। त्यहाँको अहिलेको जनसंख्या १४ हजार १ सय ८६ रहेको पाइएको छ। २०६८ को तुलनामा त्यहाँ १ हजार ६ सय २० जनसंख्या घटेको पाइएको छ। २०६८ सालको जनगणना अनुसार सिरिजंगाको जनसंख्या १५ हजार ८ सय ६ रहेको थियो।

आठराइ त्रिबेणी गाउँपालिकामा अहिलेको जनसंख्या १२ हजार २ सय ८८ रहेको पाइएको छ। २०६८ सालमा त्यहाँ १३ हजार ७ सय ८४ जनसंख्या रहेको थियो। १० वर्षको अवधिमा आठराइ त्रिबेणीको जनसंख्या १ हजार ४ सय ९६ ले घटेको देखिएको छ। यस्तै मेरिङ्देन गाउँपालिकाको २०७८ सालको जनसंख्या १२ हजार ४० रहेको छ। २०६८ सालको जनगणनमा त्यहाँको जनसंख्या १३ हजार २ सय ८४ रहेको थियो।

मेरिङ्देन गाउँपालिकामा पछिल्लो १० वर्षमा १ हजार २ सय ४४ जनसंख्या घटेको पाइएको छ। मिक्वाखोला गाउँपालिकामा १० वर्ष अघिको जनगणनामा ९ हजार १ सय ६० जनसंख्या रहेकोमा अहिले ७ हजार ९ सय ९१ पुगेको देखिएको छ। त्यहाँ १ हजार १ सय ६९ जनसंख्या घटेको देखिएको छ।

यस्तै सिदिङ्वाको अहिलेको जनसंख्या १० हजार ९ सय ८१ रहेको छ। २०६८ सालमा त्यहाँको जनसंख्या १२ हजार ९९ रहेको थियो। सिदिङ्वामा १० वर्षको अवधिमा १ हजार १ सय १८ जनसंख्या घटेको देखिएको छ। मैवाखोला गाउँपालिकाको अहिलेको जनसंख्या १० हजार ३ सय ६५ रहेको छ। २०६८ सालमा ११ हजार ९४ जनसंख्या रहेको सो गाउँपालिकाबाट पछिल्लो १० वर्षमा ७ सय २९ जनसंख्या घटेका छन्।

दुर्गम मानिएको फक्ताङ्लुङ गाउँपालिकाको जनसंख्या ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा कम घटेको पाइएको छ। त्यहाँको अहिलेको जनसंख्या ११ हजार ९ सय २५ रहेको देखिएको छ। २०६८ सालको जनगणनामा १२ हजार १७ जनसंख्या रहेको थियो। यो हिसावले १० वर्षमा त्यहाँ ९२ जनसंख्या कम रहेको पाइएको छ।

प्रकाशित: १३ माघ २०७८ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App