६ वैशाख २०८१ बिहीबार
समाज

दुर्घटनाका घाइतेको उपचारमा समस्या

विराटनगरमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाको आफन्त सम्पर्क नहुँदा उपचारमा समस्या परेको छ।  

शुक्रबार विराटनगर महानगरपालिकास्थित ढाटमा भएको दुर्घटनामा परी घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको थप उपचारका लागि समस्या परेको प्रहरीले जनाएको छ। आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा घाइते पुरुषको उपचारमा समस्या भइरहेको छ।  

घाइते पुरुष बोल्न नसक्ने अवस्थाको हुँदा पहिचान खुल्न समस्या परेको र कोही पनि सम्पर्कमा नआउँदा उपचारदेखि लिएर घटनाको अनुसन्धानसम्ममा असर पुगेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।  

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ झ ३५९४ नम्बरको म्याजिक भेनले पैदल हिँडिरहेका बेला ठक्कर दिएको थियो। दुर्घटनामा परेका उनको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

घाइतेको देब्रेतर्फको चार वटा करङ भाँचिएको र फोक्सोमा पानी जमेको छ। एसपी जिसीका अनुसार आफन्त कोही पनि सम्पर्कमा नहुँदा दुर्घटना गराउनेविरुद्ध किटानी जाहेरी पनि परेको छैन। घाइतेको पहिचान खुल्ने कुनै पनि कागज नभएको हुँदा आफन्तको खोजी गरिरहेको एसपी जिसीले बताए। घाइतेको उपचार खर्च गाडीवालाले तिर्दै छन् भने गाडी चालक बुढीगंगाका ४० वर्षीय शिवप्रसाद गुरागाईंलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ माघ २०७८ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App