७ वैशाख २०८१ शुक्रबार
समाज

ल्यान्डफिल सञ्चालनमा आएसँगै इटहरीको फोहोर व्यवस्थापन

इटहरी उपमहानगरपालिकाले लामो समयदेखि समस्या भोग्दै आएको फोहोरको अब सहज ढंगले व्यवस्थापन हुने भएको छ। उपमहानगरले फोहोर व्यवस्थापनको जिम्मा दिएको कम्पनी वेस्ट एन्ड इनभारो केयर प्रालिले ल्यान्डफिल साइड सञ्चालनमा ल्याएसँगै व्यवस्थापन सहज भएको हो।

इन्भारो केयरले सम्झौताअनुसार केही काम गर्न अझै थाती राखेर तीन वर्ष ढिलो गरी ल्यान्डफिल साइड सञ्चालनमा ल्याएको हो। २०७५ वैशाख १४ गते भएको सम्झौताअनुसार सोही वर्षको असोजसम्ममा ल्यान्डफिल साइड सञ्चालन गर्ने थियो। इटहरी उपमहानगरपालिका–१० मा सञ्चालित ल्यान्डफिल साइडका लागि उपमहानगरले जग्गा व्यवस्थापन गर्नुपर्ने र १३ करोड ५० लाख रूपैयाँ वेस्ट एन्ड इनभारो कम्पनीले खर्च गर्ने सम्झौता थियो। साथै फोहोरलाई पुनः प्रशोधन गर्न सकिने र नसकिने छुट्याएर व्यवस्थापन गर्नका लागि वेस्ट एन्ड इनभारोले ६० प्रतिशत र मेसिनरी सामान खरीद गर्नका लागि ४० प्रतिशत वल्र्ड बैंकले लगानी गर्ने निर्णय गरिएको थियो।

वेस्ट एन्ड इनभारो कम्पनीले अहिले फोहोर संकलन गरेर काम लाग्ने र नलाग्ने छुट्याउन थालेको छ। कम्पनीले ग्याससमेत उत्पादन गर्ने भएको छ। ग्याससँगै प्रांगरिक मल पनि उत्पादन गर्ने कम्पनीका सञ्चालक मानध्वज मोक्तानले बताए। ‘हाम्रो लक्ष्य दैनिक आठ सय केजी ग्यास र दैनिक छ टन मल उत्पादन गर्ने रहेको छ,’ उनले भने।

कम्पनीले तोकिएको समयभन्दा तीन वर्ष ढिलो गरी काम थाले पनि उपमहानगरकै कारण ढिलाइ भएको जनाएको छ। ‘उपमहानगरसँग सम्झौता भएअनुसार काम नहुँदा अहिले पनि गाउँलेले समस्या सृजना गर्दै आएका छन्,’ मोक्तानले नागरिकसँग भने। उनका अनुसार उपमहानगरको वडा नम्बर १० का बासिन्दाका लागि ल्यान्डफिल साइड जाने सडक कालोपत्रे गर्ने काम केही सीमित स्थानमा बाहेक अरू पूरा भए पनि अरू काम भने बाँकी छ।

खेलमैदान व्यवस्थित गर्ने काम, क्लबलाई सहयोग, खोलामा तटबन्ध बाध्ने काम र स्थानीयका लागि आर्यघाट बनाउने काम उपमहानगरले गर्ने सम्झौता छ। यी काम पूरा नहुँदा गाउँँलेले केही दिनअघि फोहोर ल्याएका ट्र्याक्टर रोकेर अवरोध गरे।

‘सम्झौताअनुसार हाम्रो कम्पनीका तर्फबाट स्थानीय कामदारलाई अवसर दिने भनेको पूरा गरेका छौं,’ मोक्तानले भने, ‘उपमहानगरले भने सम्झौताबमोजिम काम नगर्दा हामीले दुःख पाइरहेका छौं।’ उनका अनुसार वडा नम्बर १० का बासिन्दाले समूह समूहमा दुःख दिँदै आएका छन्। ‘उपमहानगर सम्झौता अनुसारको काम पूरा गर्न गम्भीरतापूर्वक लाग्नुपर्छ,’ उनले भने।

उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीले सम्झौताअनुसार काम पूरा गर्न बजेट विनियोजन भएकाले गर्दा तत्काल सुचारु हुने जिकिर गरे। उपमहानगरसँग भएको सम्झौताअनुसार काम साताभित्र पूरा गर्ने आश्वासन दिएपछि अहिले सहज भएको छ। ‘कतिपय काम थाल्ने प्रक्रियामा रहेकाले गर्दा गाउँलेलाई सम्झाएर सहज वातावरण सृजना गरिएको छ,’ वडा नम्बर १० का वडाध्यक्ष प्रकाश चौैधरीले भने।

उपमहानगरले सुरुवातमा जग्गाको व्यवस्थापन गर्न नसक्दा पनि समस्या भएको स्विकारेको छ। उपमहानगरले अहिले वेस्ट एन्ड इनभारो कम्पनीलाई फोहोरको जिम्मा दिएसँगै मासिक तीन लाख रूपैयाँ पाँच वर्षका लागि दिनुपर्नेछ। त्यसपछि कम्पनीले आम्दानीको एक प्रतिशत उपमहानगरलाई दिने सम्झौता भएको छ। २० वर्षपछि भने ग्यास उत्पादन गर्नेसहितको प्लान्टसँगै ल्यान्डफिल साइड उपमहानगरलाई जिम्मा दिनुपर्नेछ।

ल्यान्डफिल साइड तयार नहुँदा इटहरीकै हाँसपोसा सामुदायिक वन क्षेत्रमा लागेर फोहोर व्यवस्थापन गर्ने गरिएको थियो। इटहरीले ६ वर्षअघिम्म नगरपालिका छँदा त्यतिबेलाको वडा नम्बर १, ४ र ८ को मात्र फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको थियो।

पछिल्लो समय इटहरीको क्षेत्र विस्तारसँगै फोहोर व्यवस्थापनको समस्या चुलिएपछि व्यवस्थापनमा पुरै समस्या भएको छ। इटहरीबाट अहिले दैनिक ५५ टन फोहोर निस्किने गरे पनि ४० प्रतिशत मात्र व्यवस्थापन गर्ने गरिएको उपमहानगरका वातावरण अधिकृत चौधरीले बताए। उनका अनुसार अहिले ग्रामीण क्षेत्रको फोहोर किसानले आफ्नै ढंगले व्यवस्थापन गर्दै आएका छन्। फोहोरको जिम्मा लिएको कम्पनीले भने वडा नम्बर १५ को पुरै र १६ को तल्लो भागबाहेक अरू सबै वडाको फोहोर संकलन गरेर व्यवस्थापन गर्दै आएको दाबी गरेको छ।

इटहरी नगरपालिका छँदा नै खनारमा ५ वर्षका लागि दुई बिघा १८ कट्ठा जग्गा लिजमा लिएर फोहोर व्यस्थापन गरिँदै आएको थियो। त्यसको सम्झौता २०७२ सालसम्म मात्र थियो। तर, सम्झौता सकिनु एक वर्षअघि नै विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले राजनीतीकरण गरेर खेप्नै नसक्ने गरी दुर्गन्ध फैलिएको भन्दै फ्याक्नमा रोक लगाए। त्यसअघि झन्डै दुई वर्षसम्म इटहरी वडा नम्बर ८ मा आफ्नै स्वामित्वमा रहेको पोखरीमा फ्याक्ने गरेको थियो।

पछिल्लो समय उमहानगरले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि ल्यान्डफिल साइडको व्यवस्था गर्न ढिलाइ हुँदा इटहरीकै खाल्डा भएका नौ–दस ठाउँमा फोहोर फ्याँकेपछि अन्तिममा हाँसपोसाको वन क्षेत्रमा फ्याँक्ने गरिएको थियो। ल्यान्डफिल साइड सञ्चालना आएसँगै सहज भए पनि अब पुनः समस्या आउन नदिन उपहानगरपालिका र फोहोरको जिम्मा लिएको कम्पनीले सम्झौताअनुसार कार्य पूरा गर्नुपर्नेछ।

इटहरीमा २०५८ सालमा कुल जनसंख्या ४१ हजार दुई सय १० थियो। अहिले उपमहानगरपालिका भएसँगै जनसंख्या बढेर एक लाख ५० हजारभन्दा बढी पुगेको छ।

प्रकाशित: ९ माघ २०७८ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App