१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देवता जिस्काउँदै केटाकेटी

कहिले देवताले केटाकेटी लखेट्ने। कहिले केटाकेटीले देवता लखेट्ने। आधुनिक जमानाको ‘पब्जी’ जस्तो देवता र केटाकेटीबीचको रोमाञ्चक खेलले भक्तपुर नगरमा उल्लास छाएको छ।

  

नेपाल भाषामा ‘ङालाक्येगू’ भनिने जात्राको अर्थ नेपालीमा माछा मार्ने जात्रा भनिन्छ तर नाचमा माछा मार्ने काम भने हुँदैन। मुकुन्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई माछाजस्तै गरी समात्ने प्रयास भने हुने संस्कृतविद् ओम धौभडेल सुनाउँछन्।

जात्रामा दर्शकले देवीदेवतालाई जिस्काउँदै गरेको दृश्यले नगरमा उल्लास छाउँछ।  

जिस्काउनेलाई देवगणले समाउन सके जरिवानास्वरूप भेटी दिनुपर्ने परम्परा छ। यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रूपमा यसलाई माछा मार्ने नाच भनि प्रख्यात भएको धौभडेलले सुनाए। यो नै जात्राको मुख्य आकर्षण हो।

कतै भैरव, कतै महाकाली। कहीं गणेश कतै कुमारी। मुकुन्डो लगाएका नवदुर्गागणका देवीदेवताको नृत्यमय झलकले भक्तपुर नगर यतिबेला ओपेरा(गीति नाट्य)मय भएको छ।  

नौ महिना लामो नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) आइतबारदेखि भक्तपुरबाट सुरु भएसँगै सांस्कृतिक नगरमा रौनक छाएको छ। 

‘सम्भवत सबैभन्दा लामो नाच हो यो,’ संस्कृतविद् ओम धौभडेल भन्छन्, ‘पश्चिमा भाषमा भन्ने हो यो यो प्राचिन ओपेराजस्तै हो।’ उनले भनेजस्तै देवगणले खाली खुट्टामा प्रत्येक दिन फरकफरक टोलमा नाच प्रदर्शन गर्दा त्यस्तै झल्को आउने गर्छ।

राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेपछि माघको १ गतेबाट भक्तपुर नगरपालिका वडा नं ९ स्थित सूर्यमढीबाट नाच सुरु भएसँगै यहाँ देवता र मान्छेको रमाइलो झलक देखिँदै छ।  

भक्तपुरको दत्तात्रय, क्वाठण्डौं, गछें, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेंमा नाच प्रदर्शन गरिन्छन्। साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीं, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछे लगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा छ।  

नाचमा मुकुन्डो लगाएका १९ जना देवगण हुन्छन्। नाचमा १३ वटा मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ। लामो नाचले चिनिने यो नृत्य आगामी साउनको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ। 

नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेतभैरवका परूमा देवगणले नाच्ने गर्दछन्। नाचको क्रममा बाजा बजाउने समेत गरिन्छ।  

पौराणिक किंवदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर नगरलाई अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको उल्लेख छ।  

देवतासँग सेल्फी 

देवताले नै मोवाइल चलाएपछि स्मार्टफोन बोक्नेहरुले सेल्फी नखिच्ने कुरै भएन। त्यसैले जात्रा सुरुहुनुअघि देवीदेवतासँग सेल्फी खिच्नेको जात्रानै चल्छ।  

प्रकाशित: ७ माघ २०७८ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App