१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ। नागरिक अगुवाहरूले गठन गरी क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा धरानमा मौन जुलुस निकालिएको हो। जुलुसमा नगर प्रमुख तिलक राईसहित विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, क्याम्पसका शिक्षक कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए। प्लेकार्ड बोकेर छाताचोकदेखि सुरु भएको मौन जुलुस भानुचोकमा पुगेर टुंगिएको थियो। क्याम्पसले तत्कालीन समयमा मोहीको चित्त बुझाएर नै जग्गा खरिद गरे पनि लगतकट्टा गरेर जग्गाधनी पुर्जाबाट नाम नहटाउँदा अहिले मोहीको छोरालाई अघि सारेर भूमाफियाहरूले करोडौं पर्ने जग्गा हत्याउने दाउमा छन्। त्यसविरुद्ध धरानका नागरिक अगुवा, राजनीतिक दलहरू तथा बुद्धिजीवीहरूले पूर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा बचाउ समिति गठन गरेका छन्।

समितिले विभिन्न सडक संघर्ष गर्ने तयारी गरे पनि कोरोना संक्रमण बढेसँगै अन्य कार्यक्रमलाई थाती राखेर बुधबार सांकेतिकरूपमा मौन जुलुस निकालेको संयोजक कार्कीले बताए। ‘जानेर वा नजानेर जो जो क्याम्पसको जग्गा हडप्न लागेका छन्, तिनीहरूलाई अब त्यस्तो नराम्रो कार्यमा नलाग है भनेर खबरदारी गर्न सांकेतिकरुपमा मौन जुलुस निकालेका हौं,’ संयोजक कार्कीले भने, ‘अन्य संघर्षका कार्यक्रम सहज परिस्थिति बनेपछि गर्छौं।’ बचाउ समितिले नगरप्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाउदै क्याम्पसको जग्गा संरक्षणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ। संयोजक कार्कीले क्याम्पसको जग्गा मोहीको नाममा हत्याउन खेल भइरहेकोले त्यसबाट जोगाउन उपमहानगरपालिकाले विशेष भूमिका खेल्न आग्रह गरेका थिए। उनले प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुखलगायत अन्य निकायहरूलाई पनि ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन्।

ज्ञापनपत्र बुझ्दै मेयर राईले आफू क्याम्पसको जग्गा प्रकरणबारे जानकार भएको उल्लेख गर्दै मोही पक्ष र क्याम्पससँग समन्वय गरी सहजीकरण गर्न पहल गरेको पनि बताए। मोही पक्षलाई विश्वासमा लिएर परिवारका सदस्यलाई जागिर दिलाउनेसम्मको व्यवस्थापन गर्न पहल गरे पनि स्वीकार नगरेपछि सफल नभएको पनि मेयर राईले जानकारी दिए। ‘उपमहानगरले एकजनालाई जागिर दिँदा पो हुन्छ कि भनेर पनि समन्वय गरेका थियौं, अझै पनि तयार छौं। कोही परिवारलाई कसैलाई कहीँ राख्ने कुरा क्याम्पस प्रशासनले पनि सोचेको छ,’ मेयर राईले भने, ‘कुनै निकायमा लेखेर दिनुपर्‍यो, उपस्थित भएर बोल्न पर्‍यो भने हामी तयार छौं। अभियानलाई आर्थिक सहयोग गर्न पनि उपमहानगर तयार छ।’

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए। मोही परिवारलाई खुसी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालीन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउँदै आएका छन्। स्रेस्ताबाट मोहीको लगतकट्ठा नहँुदा अहिले भूमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको हो। मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ। यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मूल्य कम्तीमा २० करोडको हुन्छ।

क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन। त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचना निर्माण गरेको छ। मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ। घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो। त्यसविरुद्ध क्याम्पस प्रशासनले पुस १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ। मुद्दाको पेसी माघ १९ गतेलाई तोकिएको छ। 

प्रकाशित: ७ माघ २०७८ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App