१६ चैत्र २०८० शुक्रबार
समाज

पश्चिममा चिसोले जनजीवन प्रभावित

बाँकेस्थित कोहलपुरमा परेको हल्का वर्षा। तस्बिरः गणेश/नागरिक

दिनभरि वर्षा र साँझबिहान शीतलहरले पश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिमलगायतका जिल्लामा बिहानैदेखि हल्कादेखि छुटफुट वर्षा भएको छ।

वर्षापछिको चिसोले यहाँको दैनिकी कष्टपूर्ण भएको छ। बालबालिका, वृद्धवृद्धा र बिरामी चिसोबाट बढी प्रभावित भएका छन्। दैनिकरुपमा ज्याला मजदुरी गरेर खाने वर्ग झनै प्रभावित भए। केही दिनदेखि पश्चिम तराईका जिल्लामा साँझ र बिहान शीतलहर चल्दै आएको छ भने बिहीबार बिहानैदेखि हल्कादेखि छुटफुट वर्षा भइरहेको छ। यहाँका केही स्थानीय तहले चोक तथा बढी भीडभाड हुने स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था गरेका छन्। तर बिहीबार पानी पर्दा चोकचोकमा आगो बाल्ने काम प्रभावित भएको छ।

‘बिहानदेखि लगातार हल्का वर्ष भएको छ,’ बाँकेस्थित नेपालगन्ज–१९ का पहल केसीले भने, ‘चिसोले दैनिक कामसमेत प्रभावित भएको छ।’ चिसोका कारण कामकाजमा समेत निस्कन नसकेको उनको भनाइ छ। चिसोका कारण यहाँका प्रमुख सहरहरुमा चहलपहलसमेत कम भयो। ‘बिहानदेखि पसल खुला छ,’ बर्दियास्थित गुलरियाकी टीका घिमिरेले बताइन्, ‘मान्छेको आवतजावत नहुँदा व्यापार पनि भएको छैन।’

त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ भने पहाडी केही जिल्लामा वर्षा भएको छ। हुम्ला, जुम्ला, डोल्पा, मुगु, पूर्वी रुकुमलगायतका हिमाली जिल्लामा हिमपात भएको छ। हिमपातपछि यहाँ कठ्याँग्रिंदो चिसो बढेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आशिंकदेखि सामान्य बदली रहेको छ भने पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जानकारी दिए। उनका अनुसार ३/४ दिनसम्म सिमसिम वर्षा हुने सम्भावना रहेको बताए।

‘माथिल्लो क्षेत्रअर्थात हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भयो,’ उनी भन्छन्, ‘शुक्रबारदेखि उच्च पहाडी जिल्लाका केही स्थानमा हिमपात हुन सक्ने सम्भावना छ।’ बिहीबार पश्चिममा ७ देखि ७ मिलीमिटरसम्म वर्षा भएको उनले जनाए। उनका अनुसार बिहीबारदेखि हिउँदे वर्षा सुरु भएको छ। बिहीबार तराईका जिल्लाहरुमध्ये सबैभन्दा धेरै चिसो नेपालगन्जमा भयो। यहाँको न्यूनतम तापक्रम ६.८ सेल्सियस पुगेको थियो।

मौसम बदलीसँगै नेपालगन्जलगायतका पश्चिम तराईका विमानस्थलबाट हुने उडान पनि प्रभावित भए। हिमाली तथा पहाडी जिल्लामा उडान हुन सकेनन् भने नेपालगन्ज विमानस्थलबाट नेपालगन्ज–काठमाडौं र काठमाडौं–नेपालगन्ज पनि उडान भए त्यो पनि थोरै मात्रामा भएको नेपालगन्ज विमानस्थलका प्रमुख सुभाष झाले बताए।

प्रकाशित: ६ माघ २०७८ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App