२४ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

भारतमा अलपत्र परेकी महिलाको ५० वर्षपछि उद्धार

भारतको मेघालायनमा अलपत्र अन्नपूर्ण गाउँपालिका–५ शिख स्वातकी ७४ वर्षीया रामसुबा तिलिजाको उद्धारपछि। तस्बिर सौजन्य: सरु पाईजा पुन

काम खोज्दै भारत जाँदा हराएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वातकी एक महिलाको पाँचदशकपछि बल्ल उद्धार गरिएको छ। रोजगारको सिलसिलामा ५० वर्ष अगाडी घरबाट निस्किएर भारत पुगेकी ७४ बर्षीया रामसुबा तिलिजाको भारतको मेघालायन राज्यको एक बस्ती बाट उद्धार गरिएको हो। परिवारका सदस्य र गाउँलेले समेत आस मारिसकेको अवस्थामा कोइलाखानी नजिकै एक प्लाष्टिकको छाप्रोमा अलपत्र अवस्थामा रहेको जानकारी लगत्तै ४ जनाको टोली पुगेर घर ल्याएको छ।

उमेरले साथ दिदाँसम्म्म मजदुरी गरेपनि बुढेशकालमा बिरामी भई अलपत्र परेको अवस्थामा सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि खोजीकार्य गरी उद्धार गरिएको सरु पाईजा पुनले बताईन्। ‘उहाँलाई आफन्तको खोजीमा धेरै बर्ष कष्टकर जिवन विताउनुभएको रहेछ,‘हमाी त्यहाँ पुग्दा निकै उत्साहित हुनुभयो’ पुनले भनिन्। 

घरेलु मजदुर तथा विभिन्न काम गरेर बसेको अवस्थामा स्थानीयबासीले समेत सहयोग गर्ने गरेको पाइएको उद्धारकर्ता एवम् नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति क्या.बलबहादुर तिलिजाले बताए।‘उहाँ भेटिनुहुन्छ भन्ने कल्पना समेत गरेका थिएनौ,‘एक्कासी जिवित रहेको खवर आएपछि भारतमै पुगेर ल्याएका छौ’ तिलिजाले भने। उद्धारमा क्या. तिलिजा सहित टेकबहादुर तिलिजा, सरस्वती पाईजा र सिता पाईजाको टोली रामबुबा बसेको स्थानमै पुगेको थियो।

करिब २४ बर्षको उमेरमा घरबाट म्याग्दी भित्रै काम गर्ने भन्दै निस्किएपनि घर फिर्ता नभएपछि लामो समयसम्म खोजीकार्य गरिएपनि अत्तोपत्तो नभएपछि आस मारेको स्थानीय तथा आफन्तहरु अहिले उत्साहित भएका छन्। खोजीकार्यका लागि स्थानीयबासीले समेत विभिन्न अभियान नै सञ्चालन गरेका थिए। भारतबाट उद्धार गरी जिल्ला प्रशासन कार्यालयबाट ७४ बर्षको उमेरमा नागरिकता समेत बनाएकी छन्। म्याग्दीका प्रजिअ चिरञ्जीवि रानाले कानुनी प्रक्रियाको पुरा गरी  रामसुबालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

नागरिकता लिएर आफन्तसँगै ५० बर्षपछि घर फर्किएकी रामसुबाले गाउँमै मर्ने चाहना पुरा भएको भन्दै सबैलाई धन्यवाद समेत दिईन्। घरमा परिवारका सदस्य नभएपनि उचित हेरचाह र सहयोग गर्ने आफन्त र स्थानीयबासीले प्रतिबद्धता जनाएका छन्। उनी गाउँमा पुगेपछि निकै खुसी भएको उद्धारमा खटिएकाहरुको भनाई छ। उद्धारको अवधिमा सहयोग गर्ने सम्पूर्णलाई उद्धारमा खटिएको टोलीले धन्यवाद समेत दिएको छ।

प्रकाशित: ५ माघ २०७८ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App