१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मौलापुर नगरपालिकाद्वारा दलितको लागि २५ पक्की घर निर्माण

रौतहटको मर्यादपुरमा मौलापुर नगरपालिकाले निर्माण गरेको दलित बस्तीको नेकपा एमालेका नेता प्रदीप नेपालले उद्घाटन गरेका छन्। मौलापुर नगरपालिकाको लगानीमा निर्माण भएको दलित बस्तीमा २५ घर रहेका छन्।  

दलितहरुको लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी शनिबार तिला संक्रान्तिको अवसरमा हस्तान्तरण गरिएको हो। हजारौँलाई साक्षी राखी नेकपा एमालेका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय नेताहरुको अगाडि नगरपालिकाले घर र जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो।

एमालेको नेता प्रदीप नेपालले रिबन काटेर उद्घाटन गरिएको मर्यादपुर दलित बस्ती देशकै लागि नमूना भएको एमाले नेता प्रभु साहको भनाइ छ। दलितहरुको लागि जमिन किनेर सुविधा सम्पन्न पक्की र सुरक्षित घर निर्माण कार्य गरेर हस्तान्तरण गरिएको सम्भवतः पहिलो कार्य भएको नेता साहको भनाइ छ।

मर्यादपुर दलित बस्तीको प्रत्येक घरलाई रंगरोगनसमेत गरिएको छ। हरेक घरमा शौचालय, खानेपानीको धारा र पानीको ट्यांकीसमेत रहेको छ। यसै गरी बिजुलीको वायरिङ गरी घरलाई उज्यालोसमेत बनाइएको छ। दुई तले बनाउनको लागि फराकिलो सिंढीको निर्माण गरिएको दलित बस्तीको सडक फराकिलो र पक्की रहेको छ।

आफूहरुले कल्पना गरेको भन्दा धेरै राम्रो र सुविधा सम्पन्न घरको निर्माण गरिएको ४६ वर्षीय राम गोविन्द महराले बताए। जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म आफूहरुले यति राम्रो दलितबस्ती कतै नदेखेको पनि उल्लेख गरे।

स्थानीय बिल्टी देवी रामले पक्की घरमा धनिक महाजनको जस्तो सुविधा भएको बताउँछिन्। ‘अब सबै कुरो घरमै छ’ बिल्टी भन्छिन्, ‘बिजुली, पानी, छ त सबै छ। अब हामीलाई योभन्दा बढी के चाहियो र?’ दलित बस्तीका दलितहरुले समाजमा आफ्नो इज्जत नै बढेको बताए।

नगरपालिका प्रमुख रीना साहले दलितहरुलाई व्यवस्थित आवास सुविधा दिन नगरपालिकाले पहिलेदेखि नै प्रयास गरेको बताइन्। गत वर्ष मौलापुरमा दलितबस्ती निर्माण गरी हस्तान्तरण गरिएको बताउँदै अर्को ठाउँमा पनि सात घर डोमको लागि नगरपालिकाले आवास बनाइदिएको उनको भनाइ छ।

तराई मधेसमा सबैभन्दा अपहेलित जीवन बिताउने दलितहरुको लागि सुरक्षित आवास नगरपालिकाले नै निर्माण गरिरहेको बताउँदै मेयर साहले जस्ताले छाएको घरमा गर्मीमा धेरै गर्मी हुने र जाडोमा शीत चुहिने तथा बर्खामा पनि पानीको आवाज धेरै आउने भएकोले कुनै पनि मौसममा उपयुक्त नहुने विचार व्यक्त गरिन्। जस्तापाताको घर तराई मधेसमा हेर्नको लागि राम्रो तर बस्नको लागि उपयुक्त नभएकोले नगरपालिकाले दलितहरुलाई पक्की घर निर्माण गरिदिने अभियान थालेको बताइन्।

पक्की घर निर्माण भएपछि आफूहरुको सम्मान नै बढेको रामगोविन्द रामको भनाइ छ। मौलापुर नगरपालिकाले दलितहरुको सम्मानको लागि धेरै काम गरेको रामको दाबी छ।

प्रकाशित: १ माघ २०७८ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App