१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगलमा छाडिएको ‘आहारा’ खानै आएन पाटेबाघ

मान्छे खाने बाघ खोज्न जंगलमा परिचालन भएको टोली। तस्बिरः नागरिक

बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको ‘आहारा’लाई पाटेबाघले अझै खाएको छैन। राप्तीपारी मान्छे खाने बाघलाई नियन्त्रण गर्नका लागि फत्तेपुरस्थित सदावहार सामुदायिक वनभित्र मंगलबार र बुधबार आहारा स्वरुप दुई स्थानमा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो। तर, बाघले शुक्रबार दिउँसोसम्म पनि आहारा नखाएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए। ‘जंगलमा आहारा राखेको तीन दिन जति भयो, अहिले सम्म खानै आएको छैन,’ उनले नागरिकसँग भने।  

बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा मंगलबारदेखि नियमित रुपमा परिचालन हुँदै आएको छ।  

बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ। तर, उक्त स्थानमा अहिलेसम्म बाघ नदेखिएको डिभिजन वन प्रमुख कँडेलले बताए।  बाघ कहाँ गयो भन्नेबारे पनि एकीन हुन नसकेको उनी बताउँछन्। ‘जंगल धेरै ठूलो क्षेत्रमा फैलिएको हुनाले बाघ जंगलभित्रै बसेको हुन सक्छ, मान्छेको धेरै आवत जावत हुन थालेपछि लुकेर बसेको होला,’ कँडेलले भने।  

बाघलाई नियन्त्रणमा लिने वित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा अन्यत्रै लगेर व्यवस्थापन गर्ने तयारी छ। बाघ अहिलेसम्म पनि नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा त्रसित भइरहेका छन्। बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो। बाघ पछिल्लो करिव एक हप्तादेखि कतै नदेखिएको स्थानीय बासिन्दा बताउँछन्।  

एक हप्ताअघिसम्म भने बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गरेको थियो। बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ। बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ।  

यस्तै डिभिजन वन कार्यालय बाँकेले पनि बाघको निगरानी बढाउन कर्मचारीलाई खटाएको छ। बाघले दिनहुँ आक्रमण गर्न थालेपछि बैजापुरका स्थानीयले केही दिन अघि भुवर भवानी मन्दिरमा पुगेर पूजाआजा समेत गरेका थिए।

प्रकाशित: ३० पुस २०७८ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App