४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ। कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो। अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ। अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ।

विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको बताए। ‘विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ,’ उनले भने।

पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन्। प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ। यस्तो समस्या अहिले आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडानमा भएको छ। आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रु खचाखच हुने गरेको छन्। भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ गरेको छ। मास्क अनिवार्य स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रु वर्गमा अनुरोध गरेको छ।

त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्।

प्रकाशित: २९ पुस २०७८ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App