१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक अतिक्रमण हटाइँदै

नेपाल–भारत सीमा क्षेत्र जमुनाहदेखि कोहलपुर हुँदै सुर्खेतको हर्रेसम्मको सडक अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय नेपालगन्जले पहल सुरु गरेको छ। पछिल्लो समय सडक अतिक्रमण हुने क्रम बढ्दै गएपछि सडकले यस्तो पहल गरेको हो।

सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटरभित्र पर्ने सबै संरचना पुस मसान्तभित्र हटाउन कार्यालयले निर्देशन दिएको छ।

‘रत्नराजमार्गको जमुनाहदेखि हर्रेसम्मको सडकखण्डअन्तर्गत सडक सीमाभित्र सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका निर्माण सामग्री, व्यावसायिक सामान, अतिक्रमण गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु पुस मसान्तभित्र हटाउन भनिएको छ,’ सडक डिभिजन कार्यालय नेपालगन्जका प्रशासन शाखा प्रमुख रोम केसीले भने, ‘अन्यथा सडक अतिक्रमण नहटाएमा हुने क्षतिको जिम्मेवार कार्यालय नहुने तथा हटाउँदा लाग्ने खर्च स्वयम् व्यक्तिबाट असुल गरिन्छ।’

सडक सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ। अतिक्रमितपछि सडक साँधुरो हुँदै गएको र सडक दुर्घटनाको पनि जोखिम बढेपछि अतिक्रमण हटाउन थालिएको प्रशासन प्रमुख केसीले जनाए।

जमुनाहदेखि–कोहलपुरसम्मको सडकमा करिब आठजति अस्थायी संरचना निर्माण भएको उनको भनाइ छ। कोहलपुरदेखि हर्रेसम्म भने अधिकांश जंगल क्षेत्र पर्ने भएकाले यता कमै अतिक्रमणमा परेको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ। व्यापारिक परियोजनका लागि व्यापारी तथा अन्यले सडक अतिक्रम गर्ने गरेका छन्।

प्रकाशित: २९ पुस २०७८ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App