दशक अघिसम्म गुठिचौर गाउँपालिका ४ का माङ्ले कामीको जीविकोपार्जनको बलियो माध्यम थियो आरन पेशा। उनी आरन पेशाबाट सहजै रुपमा घरखर्च चलाउँथे। तर पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेशा संकटमा पर्ने गरेको उनी बताउँछन्। अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्। जसले यहाँका आरन व्यवसायीको पेशा संकटमा पर्न थालेको छ। पहिले आरनलाई पुख्र्यौली पेशाको रुपमा अंगिकार गरिन्थ्यो। आरनमा फलामे सामग्री बनाए बापत्त नगद जिन्सीसमेत दिने चलन थियो। अहिले यो पेशा गुजारा चलाउनेमात्र माध्यम बनेको छ।
‘आरन पेशा छोडौँ त पुर्खाहरुको चिनो संकटमा पर्ने चिन्ता छ’, माङ्लेले भने, ‘नछोडौँ त गुजारा चलाउन कठिन छ। अहिले आरन व्यवसायीहरु धर्म संकटमा छौँ।’ बदलिँदो परिस्थितिअनुसार व्यवसायिक बन्न समेत गाह्रो देखिएको उनीहरु बताउँछन्। जुम्लामा लुहार, विश्वकर्मा, कामी, ओड जातिका मान्छले आरन चलाउँछन्। उनीहरुले पुख्र्यौली पेशाका रुपमा अहिलेसम्म ग्रहण गरिरहेका छन्।
घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ। अहिले आरन व्यवसाय गर्दा कमाइ अपेक्षाकृत हुन सक्दैन। दिनप्रतिदिन यो पेसा छोड्नेको संख्या बढेको छ।
अहिले आरनमा बनाएका कोदालो बन्चरोले आकार हेरेर ६ सय देखि एक हजार रुपैयाँसम्म मूल्य पाउँछन्। हसियाँ एक सय पचासदेखि ३ सय रुपैयाँ सम्ममा बेचिरहेको आरनकर्मीहरु बताउँछन्।
व्यवसायिक रुपमा आरन पेशा अगाल्न सके सहर नै पस्नुपर्छ भन्ने छैन। मेहनत र परिश्रम गरे फल जहाँ पनि पाइन्छ। उनीहरुले काम अनुसारको ज्याला नहुँदा धेरै व्यक्ति आरन थन्क्याएर बिदेश हिँडेको अनुभव सुनाए।
काँचो फलामलाई तताएर विभिन्न प्रकारका सामान बनाएर पनि गतिलो आम्दानी गर्न सकिन्छ।२० वर्ष अघिदेखि आरन पेसा गरिरहेका माङ्लेले भने, ‘काम गरे वापत वर्षमा धान, पिठो, चामल र गँहु दिने चलन कायमै छ। ‘हामीले वर्ष भरी भाँडाकुँडा बनाउँछौँ तर पैसा पाउँदैनौँ। खाद्यन्न मात्र पाउने गरेका छौँ। जसले गर्दा निकै घाटा हुने गरेको छ। खानलाई त जेनतेन खाद्यान्न जम्मा हुन्छ, तर एक सरो फेर्न पैसा अभाव झेलिरहनुपर्छ।’
स्थानीय सरकारले आरन व्यवसायलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने माग आरनकर्मीहरुको छ। अहिले बजारमा आएका औजार बनाउने गरी तालिमको प्रबन्ध हुनुपर्छ। सुलभ मूल्यमै किसानले आँगनमै फलामे सामाग्री पाउँछन्। पछिल्लो पुस्ताले आरन व्यवसायलाई रुचाउँदैन। गाउँघरमा कोइला अभाव हुन थालेको छ। जसले गर्दा आरन व्यवसाय नै धरापमा छ।
जिल्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा आरनकर्मीहरु छन्। उनीहरु पुख्र्यौली पेशा जोगाउने भन्दै सानातिना काम मात्र गर्छन्। तर स्थानीय तहले आरनलाई व्यवसायकै रुपमा अघि बढाउनको लागि लगानी गरेको खण्डमा आरन पेशा प्रमुख आम्दानीको स्रोत बन्ने निश्चित रहेको जानकारहरु बताउँछन्।
प्रकाशित: २८ पुस २०७८ १३:५८ बुधबार