गृह मन्त्रालयले सिँहदरबार प्रवेशमा कडाइ गरेको छ। कोभिड १९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गरी सिँहदरबार परिसरभित्र प्रवेशमा कडाइ गरेको हो।
मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचय पत्र समेत खारेज गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी उक्त निर्णय गरेको जनाएको छ।
जारी सूचनामा ‘अब उप्रान्त नयाँ स्थायी, अस्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यता हेरी सम्बन्धित निकायको सिफारिशमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने’ उल्लेख गरेको छ।
यसैगरी सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएका पासले नै काम चल्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनले पत्रकाहरुको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने निर्णय गरेको पनि जानकारी दिए।
प्रकाशित: २८ पुस २०७८ १३:१९ बुधबार