१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँजा बरामद हुन्छ, संलग्न उम्कन्छन्

फाइलतस्बिर

पुस १० गते सिरहाको गाउँपालिका–१ सीमावर्ती क्षेत्रबाट ३० किलो तयारी गाँजा बरामद गर्‍यो। सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले तयारी गाँजा बरामद गरे पनि संलग्न मानिस उम्कन सफल भए। पुस ४ गते बाराको सुवर्ण गाउँपालिका–६ बाट सशस्त्र प्रहरीले १ सय ५० किलो तयारी गाँजा बरामद गर्‍यो। बोरामा प्याक गरेर भारततर्फ लगिरहेको उक्त परिमाणको तयारी गाँजा बरामद गरिएपनि तस्कर समूह पक्राउ परेनन्।

पुस ३ गते राति एक स्कोर्पियोमा सवार पाँचजना शंकास्पद व्यक्ति महोत्तरीको बर्दिबासबाट ढल्केबरतर्फ आइरहेको विशेष सूचना प्रहरीले पाएको थियो। सूचना पछ्याउँदै प्रहरीले ढल्केबर चेकप्वाइन्ट थापेका थिए। चेकप्वाइन्टमा स्कोर्पियो प्रहरीलाई छलेर जनकपुरतर्फ हुइँकिए। प्रहरीले स्कोर्पियोलाई पछ्याउँदा गाडीबाटै प्लाष्टिकको बोरा फालेर तीव्र गतिमा भाग्यो। 

तीव्र गतिमा भागिरहेको स्कोर्पियो नक्टाझिजस्थित बसही खोलाको पुलमा ठोक्किएर दुर्घटना भयो। दुर्घटनापछि गाडीमा सवार पाँचजना गाडीबाट हामफालेर भागेका थिए। स्कोर्पियोबाट फ्याँकेको ४ वटा पोका खोलेर हेर्दा प्रहरीले तयारी गाँजा भेटायोे। गाँजाले भरिएको पोका नियन्त्रणमा लिई खोजतलासको क्रममा प्रहरीले भारतको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत वडा नं ४ बस्ने २२ वर्षीय विजय कुमार महतोलाई पक्राउ गर्यो।  

सर्लाहीको मलंगवा नगरपालिका–८ शान्तिटोल नजिकबाट सशस्त्र प्रहरीले ६ वटा प्याकेटमा रहेको १ सय ६८ किलो तयारी गाँजा बरामद गर्यो। सदरमुकाम मलंगवा तर्फबाट तस्करहरूको समूहले बोरामा पोका बनाएर तयारी गाँजा भारतीय बजार सोनवर्षा तर्फ तस्करी गर्ने क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेर पोका फालेर भागेको जनाइएको छ।

गाँजा तस्करीमा सक्रिय समूहले पछिल्लो समय ग्याँस बुलेटको प्रयोग गरेर गाँजा तस्करी गर्ने गरेको खुलेको छ। भारतबाट ग्याँस बोकेर आउने ग्यास बुलेट गाँजा बोकेर पारि फर्कने गरेको खुलेको हो। असोज २७ गते प्रहरीले वीरगन्जमा रहेको आइसिपी गेटमा ग्याँस बुलेटभित्र १ सय २० किलो गाँजा फेला पारेको थियो। वीरगन्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा ग्याँस बुलेटको जाँच गर्दा चालक बस्ने क्याबिनभित्र १ सय २० किलो गाँजा फेला परेको थियो। वारिबाट तयारी गाँजा पारि तस्करीमा वारिपारिकै तस्कर समूह सक्रिय रहेको प्रहरी अधिकारीहरू बताउँछन्।  

गाँजा उत्पादन र ओसारपसार प्रतिबन्धित छ। खेत–खेत पुगेर अभियानै चलाएर प्रहरीले फाँडेको खबर पनि नौलो छैन। यति हुँदा पनि न उत्पादन रोकिएको छ न त ओसारपसार। प्रदेश २ को पर्सादेखि सुरु भएर बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा यसको बरामदीले नियन्त्रणको पाटो प्रभावकारी नभएको देखाएको छ। चुरे क्षेत्रका विभिन्न ठाउँमा उत्पादन हुने गाँजा सुकाएर तयार पारी चोरबाटो हुँदै भारत पठाउने गिरोहसम्म प्रहरी पुग्नै सकेको छैन। देखाउनका लागि खेतमै फाँडिए पनि सयौं किलो गाँजा तयारी अवस्थामा ओसारपसार हुन्छन्।

कतै पक्रा परे पनि बोक्ने भरियामात्र पक्राउ पर्छन्। तस्करीको मूल जरोमा प्रहरी पुग्न नसक्दा यो धन्दा फस्टाउँदै गएको छ। केही जिल्लामा भारतीय तस्कर आएर खेत नै ठेक्कामा लिई गाँजा लगाउने गरेको चुरे क्षेत्रका स्थानीय बताउँछन्। रोपेको, मलजल गरेको र कुरेबापत केही पैसा स्थानीयलाई दिन्छन्। खुला सीमाका कारण गाँजा रोक्न चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। यसको बजार धेरै ठूलो छ र यसलाई रोक्न निकै चुनौती रहेको प्रहरी बताउँछन्।

प्रकाशित: २५ पुस २०७८ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App