गमलामा बदामका बोक्रा, सुन्तलाका बोक्रा, पराग, चाउचाउ, सुर्ती, बिस्कुटका खोल थुपारिँदा गमला डस्टबिनमा परिणत हुने गरेको छ।
तर श्रेष्ठ भने दैनिक सफाइ भइरहेको भन्दै जोगिए। 'नगरप्रहरी र नेपाल प्रहरी मिलेर अहिले सार्वजनिक स्थानमा फोहर फाल्नेमाथि कारबाही गरिरहेकामा कतिपय गमलामा फाल्ने पनि छन्,' उनले भने, 'फाल्नेलाई सिधै पक्रन गाह्रो छ। त्यहाँ फालेको फोहरका आधारमा व्यक्ति पक्रने हो। तर गमलामा फाल्नेहरु मुक्त छन्।'
महानगरपालिकाको निगरानीका बाबजुद पनि कतिपयले मौका छोपेर सार्वजनिक स्थानमा फोहर फाल्ने गरेकामा गमलामा फाल्नेलाई नियन्त्रण गर्न नसकिएको उनले स्विकारे। गमलामा फोहर गर्ने स्पष्ट चिनिए कारबाही गर्न तयार रहेको पनि उनले बताए।
महानगरपालिकाका अनुसार हाल दैनिक ८ सय ५० जना कुचीकार दैनिक परिचालन हुन्छन्। यसमध्ये एयरपोर्ट गेटबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु हुँदै सोल्टीमोडको मुख्य सडकमा महानगरपालिकाको वातावरण विभागले १ सय कुचीकार परिचालन गर्छ। यसबाहेक बाँकी ३५ वटा वडाले आफ्नो क्षेत्रमा कुचीकार परिचालन गर्छन्।
'गमलामा सुख्खा फोहर फाल्ने गरेका छन्, सर्वसाधारणले,' कुचीकार खटाउने काममा रहेका वातावरण व्यवस्थापन विभागका चित्रकुमारले नागरिकसँग भने, 'केन्द्रले गर्ने क्षेत्रमा सफा छ। तर वडाबाट राम्रो काम नभएको हुनसक्छ। यसको निगरानी गर्नुपर्छ।'
फोहर फाल्ने भाँडो (डस्टबिन) व्यवस्था गर्न नसक्दा यस्तो अवस्था आएको महानगर प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले बताए। 'कतिपय ठाउँमा म आफैंले पनि फोहर थुप्रेको देखेको छु,' उनले नागरिकसँग भने, 'डस्टबिन राख्न नसकेको अवस्थामा पनि यस्तो भएको छ। कुचीकारलाई नै यो फोहर उठाउन लगाउनुपर्ने भयो।'
गमला राख्दा फोहर फाल्ने, गमला फुटाउने र कतिपय क्षेत्रमा बिरुवा नै भाँचिएको देख्दा 'महानगरपालिका गमला राख्ने वा नराख्ने' जस्तो अन्योलमा पुगेको उनले बताए। 'दैनिक सडकमा निगरानी गर्न सकिने अवस्था छैन,' उनले भने, 'त्यसैले गमला संरक्षण महानगरको नयाँ चुनौती बनेको छ।'
उनका अनुसार सहरका कतिपय क्षेत्रमा स्थानीयले नै डस्टबिन राखेको बताए। यसका साथै सार्वजनिक बस रोक्ने ठाउँ (बस स्टप) मा डस्टबिन राख्नुपर्ने अवस्था छ। 'महानगरले राख्दा कतिपय अवस्थामा चोरिने पनि गरेको छ,' उनले भने, 'त्यसैले टोलको प्रत्यक्ष निगरानी हुनेगरी डस्टबिन राख्ने सोचमा छौं।'
यसअघि कतिपय क्षेत्रका बस स्टपमा डस्टबिन राख्ने गरिएको उनले बताए। 'कतिपय क्षेत्रका बस स्टपमा नमुनागत तरिकाले डस्टबिन राखेका थियौं,' उनले भने, 'हाम्रो पछिल्लो अनुभवबाट सकारात्मक र नकारात्मक दुवै नतिजा आएका छन्।'
महानगरपालिका प्रवक्ता शान्ताराम पोखरेलका अनुसार कात्तिक २४ देखि थालिएको अभियानमा सडकमा फोहर फाल्ने चार सय ५० भन्दा बढीलाई स्थलगत जरिवाना गराइएको छ। यसबाट करिब १० लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए।
फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार स्थानीय निकायले तोकिदिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला फाल्नेलाई स्थानीय निकायले पहिलो पटकमा पाँच हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक सोही कसुर गरे पाँचदेखि दस हजार रुपैयाँ र सोही कसुर दुई पटक वा सोभन्दा बढी पटक गरे प्रत्येक पटकका लागि १५ हजार रुपैयाँ दरले जरिवाना गरी फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट उठाउन सक्नेछ।
प्रकाशित: ७ पुस २०७१ ००:३४ सोमबार


-600x400.jpg)


