२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तीन दिने 'धरान डे' उत्सव सुरु

तीन दिने धरान डे उत्सवमा मौलिक सँस्कृति झल्कने स्टलहरु। तस्बिर सौजन्य: विकास चाम्लिङ राई

पूर्वको आधुनिक एवं विकसित शहर धरान स्थापना भएको १२१औं वर्ष पुगेको छ। हरेक वर्ष पुष २० गते स्थापना दिवस मनाउँदै आएको धरान उपमहानगरपालिकाले यो वर्ष ३ दिने धरान डे उत्सव आयोजना गरेको छ। 

मंगलबार धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले धरान दिवसको उद्घाटन गरेका थिए। प्रधानमन्त्री देउवाले धरानको विकासमा संघीय सरकारले सहकार्य गर्ने बताए।  

वीपी प्रतिष्ठानको समस्याबारे सरकारले गम्भीररुपमा अध्ययन गरिरहेको र स्वास्थ्य शिक्षा तथा उपचारको केन्द्र बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने पनि बताए। धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन पनि सरकारले सहयोग गर्ने बताए। धरान डेले धरानको पहिचान स्थापिन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने तथा पर्यटन प्रर्वद्धन गर्ने पनि प्रधानमन्त्री देउवाले बताए।

उत्सवमा व्यापारिक स्टलहरु राखिएका छन् भने विभिन्न जातीय समुदाय तथा संघसंस्थाहरुले मौलिक सँस्कृति झल्कने स्टलहरु पनि राखेका छन्। साथै, विभिन्न जातीय परिकारको स्टलहरुले उत्सवको आकर्षण बढाएको छ। उत्सव अवधिमा साहित्यिक, साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना हुनेछ। भगिनी सम्बन्ध गाँसिएको पोखराको साँस्कृतिक टोलीको पनि प्रस्तुती रहनेछ। बुधबार बहुभाषिक कविता गोष्ठी, धरानको दीर्घकालिन विकासको सम्भावना र अवसर बिषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ। बिहिबार लोक जुवारी, रस्सी तान प्रतियोगितालगायत गतिविधिहरु आयोजना गर्दे धरान डे उत्सव समापन हुनेछ।  

धरानका मेयर तिलक राईले धरानमा जे छ, धरान जुन अवस्थामा छ, त्यो प्रर्दशन गर्न धरान डे आयोजना गरिएको बताए। ‘यहाँको कला, साहित्य, सँस्कृति, खेलकुद प्रस्तुत गर्न हो। धरानमा जे छ, त्यो प्रर्दशन गर्नको लागि हो, धरान जुन अवस्था छ, त्यो प्रस्तुत गर्न हो,’मेयर राईले भने,‘धरान हिजो के थियो, आज के आवश्यकता छ, धरानले के पर्खिरहेको छ, त्यो प्रधानमन्त्री सक्षम राख्नलाई हो। धरानका सबै राजनीतिक दलहरुले साझा मुद्दा र साझा मागहरु राखेका छौं।’

उत्सव उद्घाटन समारोहमा धरानका पुर्वनगर प्रमुखहरुलाई मरोणपरान्त सम्मान गरिएको थियो भने सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न संघसंस्था, व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो। उत्सवमा घुम्न आउने पर्यटकहरुलाई र्याफ्टिङ र प्याराग्लाइडिङ सम्बद्ध पर्यटन व्यवसायीहरुले बिशेष छुटको घोषणासमेत गरेका छन्। धनकुटाको मुलघाटबाट तमोर हुदै चतरा सप्तकोशीसम्मको एक दिने र्याफ्टिङ प्याकेजमा प्रतिव्यक्ति २० प्रतिशत छुट दिइएको छ भने प्याराग्लाइडिङ कम्पनीले ३० प्रतिशट छुट दिएका छन्। 

आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर शुरु भएको जानकारहरु बताउँछन्। त्यही आधारमा तत्कालिन धरान नगरपालिकाले २०५७ सालमा शतबार्षिकी महोत्सव आयोजना गरेको थियो। त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान डे मनाउदै आएको छ।

प्रकाशित: २० पुस २०७८ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App