लहान– माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारीका व्यवस्थापन समिति अध्यक्ष गणेश चौधरीलाई धम्की दिएको भन्दै शिक्षकसहित तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। शिक्षकमाथि मुद्धा दर्ता भएपछि अन्य शिक्षकहरूले विद्यालय बन्द गरी स्कुले बालबालिकालाई सडकमा उतारेर प्रहरीलाई दबाब सुरु गरेका छन्।
विद्यालयका शिक्षक चन्देश्वर यादव, रेशमलाल साहलगायत शिक्षकको अगुवाईमा मंगलबार स्कुले विद्यार्थीलाई तीन किलोमिटर उत्तरको इलाका प्रहरी कार्यालय लहानअगाडिको सडकमा प्रदर्शन गर्न लगाइएको थियो। शिक्षकहरूले कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई जबर्जस्ती हातमा प्लेकार्ड दिएर जुलुस नारा लगाउन लगाएको सहभागी विद्यार्थीहरूले बताए।
कक्षा ८ मा अध्ययनरत रोशन यादवले विद्यालयको 'शैक्षिक दशा'सँग आफ्नो दैनिकी जोड्दै भने, 'तीन महिनादेखि राम्रो पढाइ हुन थालेको थियो, फेरि कस्को नजर लाग्यो खै।'
अर्का एक विद्यार्थीले भने– विद्यालय शान्ति क्षेत्र हो, यसलाई कुनै पनि बहानामा बन्द गर्नुहुन्न। पढाउने शिक्षकले नै विद्यालय बन्द गराए। सरहरूले हाम्रो हातबाट किताब खोसेर अफिसमा राखी हातमा प्लेकार्ड थमाए।
प्लेकार्डसहितका विद्यार्थीलाई प्रहरी कार्यालयअगाडिको सडकमा 'शिक्षकमाथि लगाएको मुद्दा खारेज गर!' लगायत नारा लगाउन शिक्षकहरूले नै सिकाएका थिए। शिक्षक रामविनय यादवले भने शिक्षकमाथि मुद्दा लगाउँदा विद्यार्थी स्वस्फूर्त त्यसको विरोधमा उत्रिएको दाबी गर्छन्।
यस विद्यालयका स्थायी शिक्षकहरू अन्य विद्यालय, कलेजमा पढाउने र आफ्नो विद्यालयमा समय नदिने कार्य रोक्न चौधरी नेतृत्वको नवनिर्वाचित व्यवस्थापनले सक्रियता देखाएपछि ती शिक्षकहरू चौधरीविरुद्ध खनिएका हुन्। निमित प्रअ नारायण साहसहितका शिक्षकहरूले शिक्षक संघका सचिव करुण यादवलाई गुहारेपछि यादवले फोनमार्फत शिक्षकहरुलाई अप्ठेरो भए ज्यान मारिदिने धम्की दिएको चौधरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार जाहेरीमा निमित प्रअ नारायण साह, शिक्षक विहारी साह र करुण यादवलाई विपक्षी बनाइएको छ।
यसैबीच, जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले विद्यालयको विवाद सुल्झाउने प्रयास भइरहेको बताएका छन्। एक पटक व्यवस्थापन र शिक्षकलाई राखेर समझदारी गराउने काम गर्दा सफल नभएको उनले सुनाए।
प्रकाशित: १ पुस २०७१ २२:०१ मंगलबार





