१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधको दलदलमा मधेस

पुस ९ गते राजविराजबाट काठमाडौं जान लागेको ना ८ ख ५८३७ नम्बरको यात्रु बसको डिक्कीबाट प्रहरीले नाइट्रेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्याबलेट, एसपिएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाइलेक्स डिसी १०० एमएल ३ सय ९९ थान सिसी लागुऔषध बरामद गर्‍यो।

पारिबाट लागुऔष ल्याएर बसमार्फत काठमाडौं पुर्‍याउने गतिविधिमा संलग्न सप्तरी कञ्चनरूप नगरपालिका–८ का ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाइन नगरपालिका–५ जाँजरका २१ वर्षीय अब्दुललाई प्रहरीले पक्राउ गरेको छ।

पुस १३ गते पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ बाट पैदल हिँडिरहेका सोही महानगरपालिका–१३ मुर्लीका १९ वर्षीय विक्रम सर्राफले बोकेको कालो झोलाबाट लागुऔषध नुर्फिन ३५० एम्पुल, डायजापाम ३५० एम्पुल र फेनार्गन ३५० एम्पुल गरी १०५० एम्पुल बरामद गरेको छ। प्रहरीले सर्राफलाई पक्राउ गरी लागुऔषधसम्बन्धी कसूरमा कारबाही चलाएको छ।

मंसिर ३ गते सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित प्रहरी कार्यालय अगाडिबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो। पूर्व–पश्चिम राजमार्गमा प्रदेश नम्बर २–०२३ प ९३९ नम्बरको मोटरसाइकल चढेर पूर्वबाट पश्चिम जाँदै गरेका सप्तरी खडक नगरपालिका– ७ का २५ वर्षीय नागेश्वर भगत र सोही मोटरसाइकलमा सवार धनुषाको औरही गाउँपालिका ५ का २९ वर्षीय रमण कुमार कर्णलाई प्रहीले पक्राउ गरेका हुन।

उनीहरूको साथबाट प्रहरीले नोफ्रिन १९४ एम्पुल, प्रोमिथोजाइन ३४२ एम्पुल, डाइजापाम ३८२ एम्पुल, लेबल नभएको १८२ एम्पुल गरी ११०० एम्पुल लागुऔषध सुइ बरामद गरेको थियो। प्रहरीले मंसिर ४ गते सिरहाको नरहा गाउँपालिका–३ डण्डाटोल जाने बाटोबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्ने सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव र २० वर्षीय कपिल महराको साथबाट ४ ग्राम ५ सय ५० मिलिग्राम ब्राउन सुगर बराम भएको थियो।

मंसिर १३ गते महोत्तरीको सम्सीबाट लागुऔषधसहित सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १३ वर्षीय बालक शनी नेपाली पक्राउ परे जिल्लाको भारतीय सीमानाका सम्सीबाट आइरहेका उनको साथमा रहेको कालो प्लास्टिकबाट प्रहरीले ४ पत्ता नाइट्रोभेट (६० पिस) र २ पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्यालेट बरामद गरेको थियो।

मंसिर ४ गते पर्साको छिपरमाई गाउँपालिका–४ बन्जारी पुल नजिकबाट ना ४५ प ११६४ नम्बरको मोटरसाइकलमा सवार पर्सा धोविनी गाउँपालिका–२ आसबारी टोलका २६ वर्षीय दिवाकर कुुमार साहलाई प्रहरीले आगुऔषधसहित पक्राउ गर्‍यो। साहले बोकेको सोता नाइलनको झालाबाट प्रहरीले सुफ्रिन ४५० एम्पुल, डाइजापाम, ४५० एम्पुल र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ४५० एम्पुल गरी १३५० एम्पुुल लागूऔषध सुई बरामद गरेको थियो।

मंसिरको पहिलो साता वीरगन्ज महानगरपालिका –१९ बर्वाबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेमध्ये दुई जना जनप्रतिनिधि नै थिए। ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको थियो। यी उदाहरणले प्रदेश २ मा लागुऔषको फैलदो सञ्जाललाई प्रष्ट्याउँछ। प्रदेश २ का आठ वटै जिल्लाको सीमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारि पुगेर लागुऔषध बोकेर फर्किनेको संख्या बढी छ।

लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर प्रदेश २ अन्तर्गतका सीमावर्ती जिल्लाबाट निस्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधिपसलबाट भित्र्याइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्‍याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले प्रदेश २ लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रदेश २ प्रदेशसभा सदस्य जगतप्रसाद यादवले लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएको बताउँछन्। प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ, कारोबारी पनि बढ्दै गएको छ, उनले भने। यस प्रदेशका गाउँ सहर लागुऔषधको ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन।

ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट प्रदेश–२ का सीमावर्ती सहरहरू हुने गरेका छन्।

प्रहरीले केही समयको फरकमा लागुुऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। सिरहाका एसिपी हिराबहादुर पाण्डेका अनुसार खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा लागुऔषधअन्तर्गत ५८२ वटा मुद्दा दर्ता भएको थियो। जसमा ८ सय ८९ जना मानिस पक्राउ परेका थिए। आर्थिक वर्ष ०७७/७८ मा ७ सय १४ वटा मुद्दा दर्ता भयो। जसमा ९ सय ९९ जना मानिस पक्राउ परेका थिए। आर्थिक वर्ष ०७८/८९ को हालसम्म २८५ वटा मुद्दा दर्ता भएको छ। जसमा २९० जना मानिस पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। यो तथ्यांकले पनि लागूऔषधको कारोबारी बढ्दै गएको देखाउँछ।

पक्राउ पर्नेमा १३ देखि २५ वर्ष उमेर समूहकाको संख्या बढी छ। पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्। यस प्रदेशमा बढ्दो लागुऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको डिआइजी उमेश रञ्जीतकारको भनाइ छ। प्रहरीको सक्रियताकै कारण पक्राउ पर्नेको संख्यामा वृद्धि भएको उनी बताउँछन्।

सिरहाका एसपी हिराबहादुर पाण्डे दैनिक जसो लागूऔषसहित मानिस पक्राउ परिरहेको बताउँछन्। लागुऔषध विरुद्ध सुन्य सहनशीलता अपनाएर खोजी तथा पक्राउ अभियान चलाएको उनको दाबी छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागू औषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्।

लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्‍याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पुर्‍याउन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

कुलतले निम्त्याएको हत्या

गत्त चैत ३० गते साँझ ७ः३० बजे सप्तरीको कंकालिनी मन्दिरभन्दा करिब १ किलोमिटर दक्षिण पोखरीको डिलमा सुरज, कष्ण, चन्द्रशेखर र सुजित मिलेर गाँजा खादै थिए। गाँजा खाने क्रममा उनीहरू चोरी गर्ने योजना बनाए। चोरी गर्न आवश्यक कट्टर, खुकुरी र बोराको बन्दोबस्त मिलाउन तीनैजनाले सुरजलाई जिम्मा दिए। घरबाट खाना खाएर एक घण्टापछि चारै जना गाउँ छेवैको आँप बगैचामा भेला भए। सुरजले साथमा ल्याएको सोनपिच (सुलेसन) नामक लागू औषध चारै जनाले पालैपालो सेवन गरे।

लागूऔषध सेवनपछि सबैजना लठ्ठ परे। उनीहरू राती करिब १०ः३० बजे कंकालिनी मन्दिर अगाडिको चोकमा जम्मा भए। सुजितले सुरजसँग रहेको ताल्चा काट्ने कट्टर मागेर जिस्किँदै सुरजको टाउकोमा प्रहार गरे। नसामा लठ्ठीएका सुरज त्यहीँ ढलेर बेहोस भए।

सुरज ढलेपछि तीनै जना साथी मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको डोरी घाँटीमा बाँधेर घिसार्दै लात्ती र कट्टर समेत प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘यो त मरिसक्यो यसलाई साइड लगाउनुपर्छ’ भन्दै तीनैजनाले सोही प्लास्टिकको बोरामा हालेका थिए।

बोरामा हालेर कोसी बाँधको छेउमा लगेर खुकुरीले सुरजको टाउकोमा प्रहार गरी बाटो छेउकै झाडीमा फालेर तीनैजना फरार भएको प्रहरी अनुसन्धानले खुलाएको छ। हत्यामा संलग्न तीनैजनालाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ।

चारै जना मिल्ने साथी थिए। उनीहरू सँगै लागूऔषध सेवन गर्दै आएका थिए। त्यो रात लागूऔषध सेवन गरेपछि नसाको झोकमा जिस्किँदाको परिणाम हत्या हुन गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रदेश २ मा लागुऔषध सेवन गरेर आफ्नै साथीको हत्या गरिएको यो प्रतिनिधि घटना हो। यस घटनाले प्रदेशका कतिपय युवा लागूऔषधको कुलतमा परी अपराधउन्नमुख बन्दै गएको देखाएको प्रहरीको भनाइ छ। प्रहरी अधिकारीहरूका अनुसार यहाँ घट्ने ८० प्रतिशत अपराधिक घटना लागुऔषधकै कारण भइरहेको बताउँछन्। लागुऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भएपनि पछि ती मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागुऔषधकै कारण हत्या र करणी भएको तथ्यांक प्रहरीमा छुट्टै रहँदैन।

गाँजादेखि हेरोइन र चरेससम्मको कारोबार

प्रदेश–२ का आठ जिल्ला भारतीय सीमासँग जोडिएका छन्। जसका कारण लागुऔषध ल्याउन सजिलो छ। लागुऔषधसहित पक्राउ पर्नेहरू भारतबाटै ल्याइरहेको अवस्थामा पक्राउ पर्ने गरेका छन्। विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ। यी लागुऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरीले आफ्नोस्तरबाट प्रयास गरिरहेको बताउँछ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ हजार २ सय ३२ किलो, ६ हजार १११ ग्राम गाँजा प्रदेशका आठै जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। यसबाहेक १३४ ग्राम, ३६ मिलीग्राम ब्राउन सुगर, ३३ किलो, ७४० ग्राम चरेस, २७ ग्राम हेरोइन नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ पुस २०७८ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App